Prakash Adhikari August 31, 2022

काठमाडौं, १५ भाद्र । संसद सचिवालयमा महाभियोग दर्ता भएको सूचना प्राप्त भएपछि स्वतः निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरूद्ध लगाइएको महाभियोग निष्क्रिय भएको दावी गर्नुभएको छ ।

उहाँले आज महाभियोग सिफारिस समितिको बैठकमा बयान दिने क्रममा सो दावी गर्नुभएको हो । उहाँले संसदको नियमावली अनुसार महाभियोगको प्रस्ताव निस्क्रिय भैसकेकोले आफूलाई न्याय दिन समिति समक्ष अनुरोध गर्नुभएको थियो ।

समितिमा बयान दिन पुग्नुभएका निलम्वित प्रधानन्यायाधीश जबराले विधि–पद्धतिबाट काम गरिरहेको आफूलाई मिडिया र राजनीति दलले पूर्वाग्रह राखेर विवादित बनाएको उल्लेख गर्नुभएको थियो ।

उहाँले संसदको नियमावलीले तोकिएको समयभित्र महाभियोगको प्रक्रिया अगाडि नबढाएकोले यो विषय निष्क्रिय भएको बताउँदै संसदको सम्मानको लागिमात्रै बैठकमा उपस्थित भएको बताउनुभयो ।

महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिएको थियो।

समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको थियो ।

यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस चलेको थियो ।

समितिका सदस्यसमेत रहेका नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले बयानलाई खुला राख्नुपर्ने धारणा राख्नुभएको थियो भने नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मा, नेकपा (माओवादी) का रेखा शर्मा र नेकपा (एकीकृत समाजवादी)का कल्याणी खड्काले बन्द कक्षमा बयान लिनुपर्ने अडान लिनुभएको थियो।

महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश जबरालाई ४३ वटा प्रश्न सोध्ने भएको छ । जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ । गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाअभियोग दर्ता गराएपछि उहाँ निलम्बनमा हुनुहुन्छ ।

Share Now

Leave a comment.