Prakash Adhikari September 11, 2022

काठमाडौं, २६ भाद्र । सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरू आगामी निर्वाचनमा सीटमा तालमेल गर्ने सम्बन्धमा सहमति जुटाउन बालुवाटारमा बैठक बस्ने भएका छन्।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गरेर जाने सहमति गरे पनि सत्ता गठबन्धनमा कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्ने विषय टुंगिएको छैन।

११ सदस्यीय कार्यदल बनाएर दलहरूले एक महिना छलफल गरे पनि सिट बाँडफाँटको विषय टुंगिन नसकेपछि शीर्ष नेताहरूबाटै सिट बाँडफाँट टुंग्याउने तयारी छ।

शनिबार पनि बालुवाटारमा गठबन्धनका शीर्ष नेता जुटेर यसबारे छलफल गर्नुभएको थियो। जनकपुरमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादव शनिबार छलफलमा उपस्थित हुन सक्नुभएको थिएन।

आइतबार दिउँसो १ बजेदेखि प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलका शीर्ष नेता सिट बाँडफाँटका विषयमा छलफलमा जुट्ने बताइएको छ ।

शनिबार बेलुकी पत्रकारहरूसँग कुराकानी गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दलहरू सहमति नजिक पुगेको दाबी गर्नुभएको थियो।

दलहरू आफूले राखेको अडानबाट पछि नहट्दा सिट बाँडफाँटको विषय टुंग्याउन सकस भइरहेको छ। कांग्रेस र मा‌ओवादी केही सिट घट्न तयार भए पनि जसपा र एकीकृत समाजवादी सिट संख्या घट्न तयार भइरहेका छैनन् ।

कांग्रेसले सुरूमा १०० र माओवादीले ६० सिट दाबी गरेका थिए। एकीकृत समाजवादीले ४० र जसपाले ३२ सिट चाहिने बताइरहेका छन् ।

साना र थोरै मत भएका दलहरुको अब्यबहारिक अडानका कारण प्रनिनिधिसभाका प्रत्यक्षतर्फका १ सय ६५ सीटमा तालमेल मिलाउन शीर्ष नेताहरुलाई असजिलो पर्दै गएको छ ।

नेपालमा पश्चिमा चलखेल बढी हुने देखेर भरसक बामपन्थी शक्तिहरुलाई जुटाउने प्रयासमा रहेको मित्र राष्ट्र चीनका सभामुख लि चान्सु सोमबार झण्डे १०० जनाको दलबलसहित काठमाडौं आउनु हुने भएकोले गठबन्धनमा रहेका बामपन्थी दलहरु पनि उताको इशारा पछि मात्र निर्णायक बैठकमा बस्ने बताइएको छ । त्यसबेलासम्म बैठक बस्ने र समय कटाउने प्रक्रिया चलिरहने बताइन्छ ।

Share Now

Leave a comment.