Prakash Adhikari October 10, 2022

काठमाडौँ, २४ असोज । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा भएको निर्वाचन आयोगले जनाएको छ।

मनोनयन दर्ताका लागि बिहान १० बजेबाट सुरु भएर अपराह्न ५ बजेसम्म तोकिएको थियो।

आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा प्रतिनिधि सभाअन्तर्गत देशभर १ हजार ९ सय ३७ पुरुष र १ सय ९१ महिला गरी कुल २ हजार १ सय २८ जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन्।

त्यस्तै प्रदेश सभातर्फ २ हजार ६ सय पुरुष, २ सय ४४ महिला र एक अन्य गरी २ हजार ८ सय ४५ जनाको उम्मेदवारी दर्ता भएको छ। यसमध्ये प्रदेश १ मा ४ सय ४५ पुरुष र ४९ महिला गरी ४ सय ९४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

आयोगका अनुसार मधेश प्रदेशमा ७ सय ११ पुरुष, ५५ महिला र एक अन्य गरी ७ सय ६७, बागमती प्रदेशमा ५ सय ६१ पुरुष र ७४ महिला गरी ६ सय ३५ जनाको उम्मेदवारी मनोनयन भएको छ।

गण्डकी प्रदेशमा १ सय ९९ पुरुष र २९ महिला गरी २ सय २८ तथा लुम्बिनी प्रदेशमा ४ सय १४ पुरुष र २३ महिला गरी ४ सय ३७ जनाले उम्मेदवारी मनोनयन गराएका छन्।

त्यस्तै कर्णाली प्रदेशमा ७९ पुरुष र दुई महिला गरी ८१ तथा सुदूरपश्चिम प्रदेशमा १ सय ९१ पुरुष र १२ महिला गरी २ सय ३ जना उम्मेदवारले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी नै रहेको बताउनुभयो। दर्ता भएका उम्मेदवारको सूची आइतबार नै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम थियो। असोज २४ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगले जनाएको छ।

हालैका दिनमा आएको अविरल वर्षा, बाढीपहिरोलगायतका विपत्जन्य घटनाका कारण कतिपय स्थानमा आवतजावतमा समेत कठिनाइ भएका कारण सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गर्न नसक्ने उम्मेदवारका हकमा सम्बन्धित दलले उम्मेदवार मनोनयन गरेको औपचारिकपत्र, प्रतिनिधि मुकरर गरिएको पत्रलगायत आवश्यक कागजात आयोग तथा आयोगअन्तर्गतका निर्वाचन कार्यालयले बुझी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाई सहजीकरण गरिएको विज्ञप्तिमा उल्लेख छ।

आयोगले प्रकाशन गरेको निर्वाचन तालिका अनुसार मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० देखि अपरान्ह ३ बजेसम्म, मनोनयपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपरान्ह ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म रहेको छ ।

यसैगरी उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्न २६ गते अपरान्ह ४ देखि साँझ ७ बजेसम्म र मतदान आगामी मङ्सिर ४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ ।

यस निर्वाचनका लागि मतदाता नामावलीमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता सङ्ख्या छ ।

यसमा पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार आठ सय ६, महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ छ । निर्वाचनका लागि देशभर १० हजार ८ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार २ सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचनका लागि आयोगले यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी एक सय ६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।

Share Now

Leave a comment.