Prakash Adhikari October 20, 2022

 

लण्डन(संयुक्त अधिराज्य), ३ कार्तिक(बीबीसी) । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा घोषणा गर्नुभएको छ।

प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै ट्रसले राजीनामा घोषणा गर्नुभएको हो।

बिहीवार एउटा सम्बोधन गर्दै उहाँले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताउनुभयो।

उहाँले नयाँ उत्तराधिकारी चयन नभएसम्म आफू पदमा रहने पनि उल्लेख गर्नुभयो।

ट्रसले नयाँ नेतृत्व चयनको प्रक्रिया आगामी साताबाटै सुरु हुने बताउनुभएको छ।

सबैभन्दा थोरै समय प्रधानमन्त्री

लिज

बिहीवार राजीनामा घोषणा गर्ने क्रममा ब्रिटिश प्रधानमन्त्री लिज ट्रस

४५ दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री बन्न पुग्नुभयो।

उहाँभन्दा पहिले छोटो समय प्रधानमन्त्री कायम रहेका व्यक्ति जोर्ज क्यानिङ हुनुहुन्थ्यो जस्को सन् १८२७ मा निधन हुँदा उहाँ प्रधानमन्त्री भएको १ सय १९ दिन भएको थियो।

तत्कालीन अर्थमन्त्री कवासी क्वारटेङले गत २३ सेप्टेम्बरमा मिनी बजेट भनेर ल्याएको सरकारको योजनाले वित्तिय बजारमा उथलपुथल ल्याइदिएपछि नै लिज ट्रसको राजनीतिक समस्याहरू सुरु भएका थिए।

त्यसबेला यता उहाँको कन्जरभेटिभ पार्टी भित्र उत्पन्न असन्तोषले पार्टीभरि नै आक्रोशको रूप लिएको थियो।

राजीनामा
बुधवार राति संसद्को तल्लो सदन हाउस अफ कमन्समा फ्र्याकिङ भनिने तेल उत्खनन प्रक्रियासम्बन्धी मतदानको क्रममा देखिएका नाटकीय दृश्यहरू पछि नै उनको राजीनामाको चर्चा उठेको थियो। त्यसपछि त्यस्तो माग झन् चर्को हुँदै गएको थियो।

प्रमुख विपक्षी दल लेबरका नेता कीअर स्टारमरले अब लिज ट्रसले राजीनामा दिएपछि देशमा नयाँ आम निर्वाचन हुनुपर्ने माग गर्नुभएको छ।

बीबीसीका प्रमुख राजनीतिक सम्वाददाता निक इयरड्ली भन्नुहुन्छ, “हिजो मात्र उनले आफू एक लडाकु भएको बताएकी थिइन्। तर सरकार, संसद् र कन्जरभेटिभ पार्टीमा यस्तो भद्रगोल खडा भयो कि उनले अब योभन्दा अघि बढ्न नसक्ने अवस्थामा आफूलाई पाएको हुनुपर्छ। अब जे हुन्छ त्यो आधुनिक समयमा ब्रिटेनमा देखिएको सबैभन्दा तीव्र गतिको सत्ता फेरबदलको घटना हुनेछ। यो अभूतपूर्व परिस्थिति हो र ब्रिटिश राजनीतिको एउटा अभूतपूर्व सङ्कट।”

तेस्रो महिला प्रधानमन्त्री
उहाँ यूकेको प्रधानमन्त्री बन्ने तेस्री महिला हुनुहुन्छ। लिज ट्रसअघि दुई महिला मार्गरेट थ्याचर र टरिजा मे यूकेको प्रधानमन्त्री बनिसक्नुभएको छ।

कन्जर्भेटिभ पार्टीमा उनीसँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनकलाई पछि पार्दै डेढ महिना अघि लिज ट्रस प्रधानमन्त्री बन्नुभएको थियो।

ट्रसले ५७ प्रतिशत मत पाउँदा सुनकले ४३ प्रतिशत मात्र मत पाउनुभएको थियो।

लिज ट्रस
लिज ट्रसको सामान्य परिचय

उमेरः ४७ वर्ष

जन्मस्थानः अक्सफर्ड

घरः लन्डन र नोर्फक

शिक्षाः राउन्डहे स्कूल लीड्स, अक्सफर्ड यूनिभर्सिटी

परिवारः पति ह्यू ओुलेरी, दुई छोरी

संसदीय निर्वाचन क्षेत्र ः दक्षिण(पश्चिम नोर्फक

Share Now

Leave a comment.