Prakash Adhikari October 24, 2022

लण्डन (संयुक्त अधिराज्य), ७ कार्तिक (बीबीसी) । यो वर्षको पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि ऋषि सुनक यसपालि विजयी हुनुभएको छ ।

ऋषि पहिलो ब्रिटिश एशियाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ र यूकेले ठूला आर्थिक चुनौतीहरूको सामना गरिरहेको समयमा कार्यभार सम्हाल्ने हुनुभएको छ।

पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

चुनौती
नयाँ बन्ने ब्रिटिश प्रधानमन्त्रीले यूकेमा दशकौँमा देखापरेका सबैभन्दा गम्भीर आर्थिक समस्याहरू र उनीहरूकै वैधताका प्रश्नहरू सामना गर्नुपर्नेछ ।

ब्रिटेन अहिले दशकौँमा सिर्जना भएको सबैभन्दा उच्च महँगी र बढ्न नसकिरहेको आर्थिक वृद्धिसँग जुझिरहेको छ।

उसको अर्थतन्त्र युक्रेन युद्ध, ब्रेक्जिट र कोभिड महामारीका कारण कमजोर बनेको छ, तर ती समस्यालाई सरकारको अस्थिरताले थप कमजोर बनाएको छ।

विपक्षी दलहरूले नयाँ नेतासँग कार्यादेश नहुने भन्दै आमनिर्वाचनको माग गरेका छन्।

अर्थमन्त्रीको कार्यकाल

फेब्रुअरी २०२० मा सुनक यूकेको चान्सलर अफ एक्सचेकर (अर्थमन्त्री) बन्नुभयो।

त्यसको केही सातामै उहाँले सामना गर्नुपरेका महामारी र लकडाउनका चुनौतीहरू दोस्रो विश्वयुद्धपछि कुनै चान्सलरले झेलेकोमध्ये सबभन्दा ठूला थिए।

ऋषि सुनक

२१औँ शताब्दीसँगै युवावस्थामा प्रवेश गरेका, कहिल्यै मदिरापान नगर्ने उनी धेरैका लागि अर्थतन्त्रको गाडी हाँक्न विश्वसनीय व्यक्ति बन्न पुग्नुभयो।

सन् २०२० को बसन्तयाममा उहाँले महामारीमा मानिसहरूलाई सघाउन ूजेसुकै गर्नेू वाचा गर्दै ३ सय ५० अर्ब स्टर्लिङ पाउन्ड बराबरको सहायता कार्यक्रम सार्वजनिक गर्नुभयो।

त्यसले उहाँको व्यक्तिगत लोकप्रियतालाई झन् उचाइमा पुर्‍यायो।

तर यूकेमा आर्थिक रूपमा अस्तव्यस्त माहोल जारी रहिरहँदा सुनक स्वयम्‌ले प्रहरीलाई जरिबाना तिर्नुपर्ने अवस्था पनि आयो।

जून २०२० मा डाउनिङ्ग स्ट्रीटमा लकडाउनका नियम तोडेको भन्दै बोरिस जोनसनसँगै उहाँ कारबाहीमा पर्नुभयो।

गत वर्ष एप्रिलमा सुनक र उहाँको परिवारको पैसाबारे मिहिन छानबिनहरू गरिए जसको केन्द्रमा उहाँकी श्रीमती अक्षता मूर्तिसँग जोडिएका करका विषयहरू थिए।

आफ्ना श्रीमान्‌माथि राजनीतिक दबाव बढेपछि मूर्तिले देशबाहिर आफूले कमाएको पैसाको यूकेमा कर तिर्ने घोषणा गर्नुभयो।

सुनकको पारिवारिक पृष्ठभूमि
सुनकका बाबु आमा दुवै पूर्वी अफ्रिकाबाट बेलायतमा आउनुभएको हो र दुवै भारतीय मूलका हुनुहुन्छ।

जनरल फिजिसिअन बुवा र औषधि पसल सञ्चालन गर्ने आमाका सन्तानका रूपमा सुनक सन् १९८० मा साउथह्याम्पटनमा जन्मिनुभयो।

ऋषि सुनक

उहाँले एउटा विशेष निजी विद्यालय विन्चेस्टर कलेजमा पढ्नुभयो र गर्मी बिदाका बेला साउथह्याम्पटनका रेष्टुराँमा वेटरका रूपमा काम गर्नुभयो।

उहाँले अक्सफर्ड विश्वविद्यालयमा दर्शन, राजनीति र अर्थशास्त्र पढे।

स्ट्यान्डफर्ड यूनिभर्सिटीमा एमबीए पढ्दा उहाँले भावी श्रीमती अक्षता मूर्तिलाई भेटे जो भारतीय अर्बपति, विशाल प्रविधि कम्पनी इन्फोशिसका सहसंस्थापक नारायण मूर्तिकी छोरी हुनुहुन्छ। यी दम्पतीका दुई छोरीहरू छन्।

सन् २००१ देखि २००४ सम्म सुनकले गोल्डम्यान स्याक्स ब्याङ्कमा विश्लेषकका रूपमा काम गर्नुभयो।

पछि उहाँ दुईवटा आर्थिक लगानी सम्बन्धी विशेष कोष हेज फन्डमा साझेदार बन्नुभयो। उहाँ ब्रिटेनका निकै धनी सांसदमध्ये एक भएको ठानिन्छ।

द टाइम्स पत्रिकाका अनुसार उहाँ २५ वर्षे उमेरको आसपासमा दशौँ करोडका धनी बन्नुभयो तापनि आफूसँग भएको सम्पत्तिबारे उहाँले कहिल्यै सार्वजनिक रूपमा बोल्नुभएको छैन।

उहाँ सन् २०१५ यता रिचमन्डको नर्थ योर्कशरको निर्वाचन क्षेत्रबाट सांसद बनिरहनुभएको छ।

मोर्डन्टले किन हात झिकिन् ?

पूर्वचान्सलर सुनकसँग प्रतिस्पर्धामा रहनुभएकी हाउस अफ कमन्सकी नेता पेनी मोर्डन्टले यसअघि आफ्नो पक्षमा ९० टोरी सांसदहरू रहेको दाबी गर्नुभएको थियो ।

यद्यपि ३० भन्दा कम समर्थकहरूले सार्वजनिक रूपमा उहाँको पक्षमा समर्थन पुष्टि गरेका थिए।

कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट बाहिरिनुबारे पेनी मोर्डन्टले भन्नुभएको छ ,”हाम्रो पार्टी हाम्रो सदस्यता हो। चाहे हामी निर्वाचित प्रतिनिधि, कार्यकर्ता, स्रोत सङ्कलनकर्ता वा समर्थक जे सुकै हौँ। हाम्रो नेता को बन्छ भन्ने कुरामा हामी सबैको चासो रहन्छ।”

“यो अभूतपूर्व समय हो। नेतृत्व प्रतिस्पर्धाका लागि सीमित समयसीमाबीच स्पष्टसँग हामी सबैले निश्चितताको आवश्यकता महसुस गरेका छौँ जस्तो लाग्छ। उनीहरूले देशको भलोका लागि विश्वासका साथ यो निर्णय लिएका छन्।”

 

Share Now

Leave a comment.