काठमाडौं, ४ मंसिर । आज हुने निर्वाचनमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्ने हुनुभएको छ।
यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा हुनुहुन्छ । प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्ने उहाँको सचिवालयले जनाएको छ।
विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ। प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका–१० प्रकाशपुरस्थित मतदान केन्द्रमा मतदान गर्ने उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिनुभयो।
नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा. प्रकाश शरण महतले नुवाकोटको पञ्चकन्या गाउँपालिका २ स्थित राष्ट्रिय प्राथमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ।
गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गर्नुहुनेछ। उहाँ रुपन्देही क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुुहुन्छ।
प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत आइतबार हुन गइरहेको निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दै हुनुहुन्छ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा पुगी मतदान गर्दै हुनुहुन्छ।
अध्यक्ष दाहाल आफ्नो मताधिकार प्रयोग गर्न शनिवार नै अपराह्न चितवन पुगिसकेको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो। उहाँले भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्नुहुनेछ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्नुहुने भएको छ।
सोही पार्टीका नेता झलनाथ खनालले आफैं उम्मेदवार रहेको इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गर्दैहुनुहुन्छ।
यस्तै लोकतान्तिक समाजवादी पार्टी (लोसपा( का अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका–१ मा मतदान गर्नुहुनेछ।अध्यक्ष ठाकुर महोत्तरी–३ का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ।
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ। उहाँ सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ।
त्यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास–२, सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रबाट मतदान गर्नुहुनेछ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौं–३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गर्नुहुनेछ भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्दैहुनुहुन्छ।
कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं–१६ पकनाजोलस्थित नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले विराटनगर–७ को आर्दश विद्यालयमा मतदान गर्दै हुनुहुन्छ।
जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईले सुनसरीबाट मतदान गर्नुहुन्छ। उहाँ सुनसरी क्षेत्र नं(१ बाट उम्मेदवार हुनुहुन्छ।
जसपाका नेता राजेन्द्र श्रेष्ठले क्षेत्रपाटी ढल्कुस्थित मतदान केन्द्रमा मतदान गर्दैहुनुहुन्छ। श्रेष्ठ काठमाडौं क्षेत्र नं ७ का उम्मेदवार हुनुहुन्छ।
जसपाका प्रवक्ता मनिस सुमनले राजविराज–३ स्थित केएएमबी माविबाट मतदान गर्नुहुन्छ।
सर्लाही चन्द्रनगर–२ दुर्गा खोभारी जनता उमावि केन्द्रमा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मतदान गर्ने तालिका छ। उहाँ सर्लाही क्षेत्र नं २का उम्मेदवार हुनुहुन्छ।
यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रमा मतदान गर्नुहुन्छ।
आयुक्त ईश्वरीप्रसाद पौड्यालले ललितपुरको सानेपास्थित टीका विद्याश्रम माविमा मतदान केन्द्र र अर्का आयुक्त रामप्रसाद भण्डारीले अनामनगरस्थित मिलन विद्यामन्दिर केन्द्रमा मतदान गर्ने कार्यक्रम छ।
आयुक्त जानकीकुमारी तुलाधरले सुन्दरबजार नगरपालिका–२ महेन्द्र मन्दिर मावि परेवाडाँडा लमजुङमा र आयुक्त सगुन शमशेर जबराले टोखा नगरपालिका–४ धापासीस्थित फैमालचुली मतदान केन्द्रमा मतदान गर्नुहुनेछ।
यी नेताले आफैंलाई मतदान गर्न नपाउने
केही शीर्ष नेताले आफैं उम्मेदवार रहेको क्षेत्रमा आफैंलाई मतदान गर्दै छन् भने कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैंलाई मतदान गर्न पाउने छैनन्।
एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेसका नेता शशांक कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैंलाई मतदान गर्न पाउनु हुने छैन।
मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक स्थानमा रहेकाले पाँच वर्षमा हुने आवधिक निर्वाचनमा समेत केही नेताले आफूले आफैंलाई मतदान गर्न वञ्चित हुनुपरेको हाँे।


















