पेरिस(फ्रान्स), ९ चेत्र(बीबीसी) । फ्रान्समा सुरक्षाकर्मीहरूले देशको दक्षिणपश्चिमी ट्रेब नगरमा एउटा सुपरमार्केटमा छिरेर अरूलाई बन्धक बनाउने एक जना सन्दिग्ध बन्दुकधारीलाई गोली हानी मारिदिएका छन्।
आफू मारिनुअघि सो व्यक्तिले अरू तीन जनाको हत्या गरेको विवरणहरू प्राप्त भएका छन्।
सुपरमार्केटमा छिर्नुअघि उसले एउटा कार आफ्नो नियन्त्रणमा लिने क्रममा सो कारमा सवार एक जनाको हत्या गरेका र चालकलाई घाइते बनाएका थिए।
सो सन्दिग्ध बन्दुकधारीले आफू लडाकु समूह इस्लामिक स्टेटसँग सम्बन्धित भएको दाबी गरेका थिए। उनी मोरक्कोको नागरिक भएको भन्ठानिएको छ।
घटनास्थलमा पुगेका आन्तरिक मामिला मन्त्रीले ती आक्रमणकारी पहिला लागुपदार्थ र सानातिना अपराधमा संलग्न हुने गरेको भए पनि उग्रधारमा लागेको भन्ने सङ्केत प्राप्त नभएको बताएका छन्।
उनले एक जना प्रहरीसमेत कम्तीमा दुई जना अरूलाई घाइते बनाएको बताइएको छ।
प्यारिस स्थित बीबीसी संवाददाता ह्यु स्कोफिल्ड् भन्छन्, “प्रत्यक्षदर्शीहरूका अनुसार सो बन्दुकधारी गोली चलाउँदै सुपरमार्केटभित्र प्रवेश गरेका थिए। उनले आफू डायस् अर्थात् फ्रान्सेली भाषामा इस्लामिक स्टेट समूहको सदस्य भएको बताएका थिए।”
खार्खोसान्बाट लुटेको कार चढेर ऊ ट्रेब नगर आएको थियो।
“आतङ्कवादी कृत्य”
फ्रान्सका प्रधानमन्त्री इद्वार् फिलिप्ले ट्रेब नगरमा भएको घटनालाई आतङ्कवादी कृत्य भएको टिप्पणी गरेका छन्।
सुरक्षानिकायमा रहेका एक स्रोतले समाचार संस्था एएफपीलाई अधिकांश कर्मचारी र ग्राहकहरू सुपरमार्केटबाट सुरक्षित भागेको बताए।
सयौँ प्रहरीहरू परिचालित भएर सो स्थललाई घेरा हालेका थिए।
किन?
धेरै हतियार बोकेको सो व्यक्तिले प्यारिस आक्रमणमा बाँच्न सफल एक जना सन्दिग्ध सलाह आब्देस्लमको रिहाइको माग गरेका थिए।
सन् २०१५ देखि फ्रान्समा भयानक जिहादी आक्रमणहरू भएका छन्।
प्यारिसमा २०१५ को नोभेम्बरमा भएको आक्रमणमा १३० जना व्यक्ति मारिएका थिए।
सो घटना भएपछि फ्रान्समा एक महिनाका लागि सङ्कटकाल घोषणा गरिएको थियो।