काठमाडौं, ५ मंसिर । नेपाल आयल निगमले विवादास्पद बनेको अमलेखगञ्जमा पेट्रोल भण्डारणको ट्यांकी बनाउने जिम्मा रेलिगेयर कन्स्ट्रक्सन प्रा.लि.कुपण्डोललाई दिएको छ ।
अमलेखगञ्जस्थित परियोजना प्रमुख एवम् निगमको मधेश प्रदेश प्रमुख प्रदीपकुमार यादवले ठेक्का सम्झौता भएको बताउनुभएको छ ।
‘एक वर्षमा काम सम्पन्न गर्ने गरी रेलिगेयर निर्माण कम्पनीसँग ठेक्का सम्झौता भयो,’ यादवले भन्नुभयो, ‘छिट्टै शिलान्यासको तयारी गरिरहेका छौं ।’
८० करोड रुपैयाँ लागत अनुमानको ५० । ५० लाख लिटर क्षमताको भण्डारण ट्यांकी निर्माणका लागि निगमले ५ असोजमा बोलपत्र आहृवान गरेको थियो ।
यो ठेक्कामा विगतमा यस्तै काम गरिहेका समानान्तर र रेलिगेयर मात्रै सहभागी भएका थिए ।
असोजमा ५ मा आहृवान गरिएको ठेक्कामा समानान्तर निर्माण सेवाले ८८ करोड र रेलिगेयरले ७८ करोड रुपैयाँमा परियोजना निर्माण गर्नेगरी प्रस्ताव पेश गरेका थिए ।
यसमा कम प्रस्ताव गर्ने रेलिगेयर कम्पनी परियोजना निर्माणमा छनोट भएको थियो ।
पोखराको जिम्मा समानान्तरलाई
६८ करोड रुपैयाँको पोखरा विमानस्थलको इन्धन डिपो निर्माणको जिम्मा समानान्तरलाई दिइएको छ ।
५ असोजमा गरिएको बोलपत्रले राखेका शर्त पुरा गर्न समानान्तर निर्माण सेवा र रेलिगेयर कन्स्ट्रक्सन मात्रै सक्षम थिए । त्यसैअनुसार ठेक्कामा तीनै दुई वटा मात्रै निर्माण कम्पनी सहभागी भएका थिए ।
निगमले इन्धन भण्डारण गर्ने ट्यांकी निर्माणको लागि नेसनल कम्पिटेटिभ बिडिङ’ (एनसीबी) गराएको थियो ।
त्यसमाथि निगमले बोलपत्रमा ‘इन्जिनियरिङ, प्रक्योर्मेन्ट एन्ड कन्ट्रयाक्ट’ (ईपीसी) मोडलमै अनुभव हासिल गरेको र डिजाइनसहित इन्जिनियरिङको काम गरेको हुनुपर्ने शर्त राखेको थियो ।
रेलिगेयर र समानान्तरले ४५ । ४५ लाख लिटर क्षमताको पोखराको भण्डारण डिपो भारतीय कम्पनी भारत ट्यांकसँग संयुक्त उपक्रममा बनाईरहेका छन् । जसको निर्माण लागत करिब ८७ करोड ८० लाख छ ।
झण्डै एक अर्ब लागतको निगमको केन्द्रीय कार्यालय बबरमहल भवनको ठेक्का समानान्तर निर्माण सेवाले पाएको छ भने गण्डकी प्रादेशिक कार्यालय पोखरामा एक करोड लिटर इन्धन भण्डारणको ठेक्कामा समानान्तर रेलिगेयर र भारत ट्यांकले काम गरिरहेका छन् ।
निगमले समानान्तरले काम गर्ने गरी ६८ करोड रुपैयाँ लागतको पोखरा क्षेत्रीय विमानस्थल हवाई इन्धन डिपोको ठेक्का सम्झौता गरेको थियो ।



















