Prakash Adhikari December 6, 2022

काठमाडौं, २० मंसिर । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित रवि लामिछाने नेपालको वैध नागरिक नभएको भन्दै उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

नेपालका संवैधानिक र सरकारी निकायहरुलाई ढाँटछल गरी गुमराहमा राखेर गैरकानुनी ढंगबाट दल दर्ता गरी,निर्वाचनमा उम्मेदवार समेत बनेको भन्दै उहाँलाई उहाँको नाममा दर्ता भएको पार्टीको समेत खारेजीको माग गर्दै लामिछानेविरुद्ध युवराज पौडेलले आयोगमा उजुरी दिनुभएको हो।

‘नागरिकताकै विषयलाई लिएर उजुरी परेको छ। पुरानो नागरिकताबाट दल दर्ता गरेर सभापति बन्नु गैरकानुनी हो,’ आयोगमा परेको उजुरीमा भनिएको छ।

अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग नगरेको र उताको त्याग गरेपछि फेरि पुरानै नागरिकता प्रयोग गरेको आरोप उजुरीमा लगाइएको छ।

नागरिकताकै विषयमा आयोगले सोधेको स्ष्टीकरणमा लामिछानेले पुरानै नागरिकताबाट पासपोर्ट बनाएको यस विषयमा अरुले प्रश्न नउठाएकोले संघसंस्था गठन गर्ने,बैंकिड. कारोबार गर्ने,दल दर्ता गर्ने र उम्मेद्वार बन्ने सम्मको काम गरेको दावी गर्नुभएको छ।

रविको नागरिकताको विषयमा प्रश्न उठेपछि गृह मन्त्रालयले पनि अनुसन्धान गरिरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत गृह र परराष्ट्र मन्त्रालयलाई छानविन गर्न आदेश दिएको छ । लामिछानेको नागरिकता विवाद प्रकरणमा महानगरीय प्रहरी परिसर काठमाडौंले छानबिन अघि बढाएको छ।

परिसरले निर्वाचन आयोगमा पेस गरिएको रविको नागरिकताको प्रतिलिपि लगेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले प्रहरीले माग गरेअनुसार लामिछानेको नागरिकताको प्रतिलिपि दिइएको जानकारी दिनुभएको छ।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित लामिछानेको नागरिकता प्रकरणबारे विवादमा नपर्ने गरी आयोगले निर्णय लिएको छ।

उसले यसबारे आफूले कुनै निर्णय नलिइ अनुसन्धानको जिम्मा गृह र परराष्ट्र मन्त्रालयलाई दिएको छ।

छानबिनबाट लामिछानेको नागरिकता र राहदानी गैरकानुनी मानिए सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्यमाथि नै प्रश्न उठ्ने अवस्था छ।

Share Now

Leave a comment.