Prakash Adhikari December 11, 2022

 

दोहा(कतार), २५ मंसिर । फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगलमाथि १–० गोल अन्तरको जित हात पार्दै मोरक्को सेमिफाइनलमा पुगेको छ।

यससँगै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ। मोरक्कोलाई जित दिलाउने क्रममा खेलको ४२ औं मिनेटमा यौसुफ एन नेसिरीले गोल गरेका थिए ।
पोर्चुगलको तर्फबाट भने खेलमा कुनै गोल हुन सकेन। यससँगै मोरक्कोले नयाँ इतिहास रचेको छ।

यसअघि मोरक्कोले अन्तिम १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। समूह चरणको खेलमा पनि मोरक्कोले बलियो मानिएको बेल्जियमलाई पराजित गरेको थियो।

खेलको इन्ज्युरी समयमा मोरक्कोका वालिड चेडिरा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए पनि पोर्चुगलले यसको फाइदा भने उठाउन सकेन।

पोर्चुगलले प्रख्यात खेलाडी क्रिश्चियानो रोनाल्डोलाई सुरुबाट मैदानमा नउतारी दोस्रो आधा समयमा मात्र मैदानमा प्रवेश दियो । उनले पनि खेलमा कुनै लय र ताल भेट्टाउन सकेनन् । पहिलो हाफमा एक गोल गरेको मोरक्कोको रक्षा पड्ति झन सुदृढ भयो र गोल किपरले पोर्चुगलका हरेक प्रहार रोके । फाइनल पुग्ने सपना त्यागेर गोलबिहिन भै पोर्चुगल घर फर्कन बाध्य भयो ।

 

Share Now

Leave a comment.