काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले त्रिभुवन विमानस्थललाई २४ सै घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।
काठमाडौंमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सो घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले एयर ट्राफिक जाम कम गर्नका लागि विमानस्थलको क्षमता बढाएर सञ्चालन अवधि थपिने समेत बताए । “सिङ्गल रनवे भए पनि २४ घण्टा संचालन गर्न सकिन्छ । संसारमा प्रयोग भएका सबैखाले प्रविधिको प्रयोग गरेर व्यवस्थापन गर्न सकिन्छ । विगतमा समय थप्न सकिदैन भन्नेहरुले पनि अहिल तीन घण्टा थप्न सकिन्छ भनिसके । प्रयास गरियो भने २४ घण्टा पनि सकिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुन्छ । भारतको बम्बईमा एउटा रनवे भएको विमानस्थल २४ घण्टा चल्छ भने यहाँ किन चल्दैन रु” अधिकारीले भने ।
मन्त्री अधिकारीले सञ्चालन अवधि बढाएपछि अहिले भइरहेको एयर ट्राफिकको समस्या कम हुने दाबी गरे ।
विमानस्थल सञ्चालन अवधि बढेसँगै सहरको चहलपहल पनि बढ्ने र त्यसले पर्यटन व्यवसायमा थप टेवा पुग्ने उनको भनाई छ । “काठमाण्डौलाई पनि १८ घण्टा जागा बनाउँछु । भविष्यमा २४ सै घण्टा काठमाण्डौ खुला हुन्छ ।” उनले भने ।
नेपालको अवाई यातायात व्यवस्थित बनाउनका लागि भइरहेका प्रयासबारे जानकारी दिदै मन्त्री अधिकारीले गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल सन् २०१९ भित्रमा संचालनमा ल्याउने बताए । विमानस्थल निर्माणसँग सम्बन्धित सबै पक्षसँग सहमति भइसकेको जानकारी दिदै मन्त्री अधिकारीले द्रुत गतिमा काम सुरु भइसकेकाले सन् २०१९ भित्र संचालनमा आउने उनले बताए ।
उनल भने, “रेकर्ड गरेर राख्नुस्, सन् २०१९ भित्र गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ । त्यसपछि एयर ट्राफिक कन्ट्रोल हुन्छ । पर्यटक आगमन बढ्छ ।” आन्तरिक उडान व्यवस्थित गर्नका लागि पोखरा, भैरहवा, नेपालगञ्ज जस्ता ठाउँबाट आन्तरिक विमानस्थल सचालन गर्ने योजना आफूसँग रहेको उनले बताए ।
हवाई दुर्घटनाबारे बताउँदै मन्त्री अधिकारीले दुर्घटनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने समेत दाबी गरे । त्यसका साथै दुर्घटनाबारे छुट्टै अध्ययन गरेर कमी कमजोरी हटाइने उनको भनाई छ ।
“आधुनिक प्रविधिको प्रयोग गरेर विमानस्थल सुरक्षित बनाउँछौँ । अहिले सि टु क्याटागोरीमा रहेछ । अब सि थ्री क्याटागोरीमा पुग्ने गरी काम गर्छौँ ।” अधिकारीले भने । सन् २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउने गरी काम गरिने उनले बताए । “अध्ययन र तथ्याङ्कलाई आधार मानेर भनेको हुँ । कम्तिमा पनि २० लाख पर्यटक आउँछन् ।”उनले भने ।