
काठमाडौं, ३ पौष। हिमालयन बैंक लिमिटेडले प्रदेश १ अन्तरगतका स्थानीय तहमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मादी नगरपालिकामा यही मंसिर २३ गते शुक्रबार र पाख्रिबास नगरपालिकामा यही मंसिर २४ गते शनिबार वित्तीय साक्षरता कार्यक्रम सफलताका साथ सम्पन्न गरेको हो ।
सो वित्तीय साक्षरता कार्यक्रम बैंकको विराटनगरस्थित प्रदेश १ कार्यालय, मादी शाखा तथा हिले शाखाले संयुक्तरूपमा आयोजना गरेका थिए ।
बैंकको यस कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालयहरूका शिक्षकहरू, शिक्षा शाखाप्रमुख, व्यावसायिक, विद्यार्थीहरू तथा महिलाहरू गरी करिब ७० जनाको उत्साहजनक उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा उपस्थित सहभागीहरूलाई बैंकका प्रशिक्षकहरुले , वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तर्जुमा, बचत गर्ने बानी , सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका, आदिजस्ता विषयहरूमा विस्तृत ज्ञान दिएका छन् ।
बैंकले मादी नगरपालिकामा आयोजना गरेको सो कार्यक्रममा मादी नगरपालिकाका मेयर जीवन कुमार लिंग्थेप प्रमुख अतिथि हुनुहुन्थ्यो भने पाख्रिबास नगरपालिकामा त्यहाँका मेयर ज्ञानबहादुर गुरुङ प्रमुख अतिथिका हुनुहुन्थ्यो ।
वित्तीय साक्षरता कार्यक्रममा बैंकका प्रदेश १ का प्रदेश प्रमुख अमृत मल्ललगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।