Prakash Adhikari March 28, 2018

 

म्याड्रिड(स्पेन), १५ चैत्र (एजेन्सी)। रसियामा हुने फुटबलको विश्वकपको तयारी स्वरुप मंगलबार भएको खेलमा पूर्व विश्वविजेता स्पेनले र अघिल्लोपटकको फाइनलिस्ट अर्जेन्टिनालाई ६–१ ले पराजित गरेको छ ।

मेड्रिडमा सम्पन्न खेलमा स्पेनका लागि इस्कोले २७, ५२ र ७४ औं मिनटमा गोल गर्दै ह्याट्रिक गरे ।

यद्यपि खेलमा शुरुवाती गोल भने स्पेनका लागि खेलको १२ औं मिनटमा डिएगो कोस्टाले गरेका थिए । थप दुई गोल भने थियागो अल्कनताराले ५५ औं मिनटमा तथा लागो आसपासले ७३ औं मिनटमा गरेका थिए । उता चोटका कारण आफ्नो दुई स्टार फरवार्डद्वय लियोनल मेसी र सर्जियो एग्वेरोबिना उत्रिएको अर्जेन्टिनाका लागि ३९ औं मिनटमा निकोलास ओटामेन्डीले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।

यो नतिजासँगै सन् २०१० को विश्वकप विजेता स्पेन पछिल्ला १८ खेलहरुमा अपराजित छ । स्पेनले विश्वकपअघि थप दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच स्वीजरल्याण्ड र ट्युनिशयासँग खेल्न बाँकी छ ।

अर्जेन्टिनाले सन् २००९ पछि पहिलोपटक ६ गोल खाएको छ । यसअघि सन् २००९ को विश्वकप छनौट अन्तरगत अर्जेन्टिनाले बोलिभियासँग ६–१ को हार बेहोरेको थियो । उता मांशपेशीको चोटका कारण मैदान बाहिर रहेका मेसी विश्वकप अघि नै छनौट हुने विश्वास व्यक्त गरिएको छ ।

Share Now

Leave a comment.