काठमाडौं, ९ माघ । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबूब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ ।
पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले जनकपुर रोयल्सबाट नेपाल टी–२० लिग खेलेका थिए ।
उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ ।
सीआईबीका अधिकृतहरुका अनुसार आलमले जतिनलाई अन्य खेलाडीहरुसँग पनि सम्पर्क गर्न सहयोग गरेका थिए । त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पौषसम्म नेपाल टी–२० लिग भएको थियो ।
त्यसमा ‘म्याच फिक्सिङ’ गर्ने प्रयास भए पनि अनुसन्धान सुरु भएपछि त्यो सम्भव नभएको सीआईबीका निर्देशक उत्तम सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो ‘सट्टेबाजी (बेटिङ) बाट असूली गर्ने उद्देश्यले यो प्रयास भएको थियो, तर हल्लाखल्ला भएपछि स्पट फिक्सिङ मात्रै सम्भव भयो ।’
पहिला नै निर्धारण गरिएका गतिविधिका बलमा खेलको नतिजा हेरफेर गर्ने गरी निश्चित खेलाडीसँग लेनदेन गर्नु ‘स्पट फिक्सिङ’ हो ।
खेल चलिरहेका बेला फिक्सिङका लागि आफ्ना खेलाडीहरुलाई अफर आएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले मुख खोलेका थिए । त्यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराइएको उनले बताएका थिए ।
पछि प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए ।
त्यसपछि उपप्रधान एवं गृहमन्त्रालयले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।
लगत्तै सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको थियो । खेलमा सबै टिमबाट गरेर ५६ नेपाली र ३४ जना विदेशी खेलाडी सहभागी थिए ।


















