
धनगढी(कैलाली),१७ चैत्र । शनिबारदेखि शुरु चर्चित रुस्लान दोस्रो धनगढी प्रिमियर लिग (डीपीएल–२) मा डिफेन्डिङ्ग च्याम्पियन टिम चौराह धनगढी काठमाडौं गोल्डेन्ससँग ७ विकेटले पराजित हुन पुग्यो ।
टस जित्दै पहिले फिल्डिङ्ग रोजेको गोल्डेन्सले टिम चौराहलाई निर्धारित २० ओभरमा १४५ रन मात्र बनाउन दियो । टिम चौराहका लागि सुनिल धमलाले सर्वाधिक ६८ रन बनाए भने शंकर रानाले ३८ रनको योगदान दिए । बलिङ्गतर्फ गोल्डेन्सका साहब आलमले प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्दै ३ विकेट लिए । त्यस्तै रशिद खान, किशोर महतो र सन्नी पटेलले समान १–१ विकेट लिए ।
उता जवाफी लक्ष्य पछयाएको गोल्डेन्सले १८.४ ओभर खेल्दै आफ्नो ३ विकेट गुमाएर १४६ रन बनाउँदै जित हासिल गरेको थियो । गोल्डेन्सका लागि ओपनर अमित श्रेष्ठले शानदार ८१ रनको नटआउट पारी खेले । श्रेष्ठ खेलको म्याच अफ द म्याच समेत घोषित भए । त्यस्तै नरेश बुढाएरले पनि अविजित २४ रनको योगदान दिए ।
प्रतियोगिता अन्तरगत आइतबार रुपन्देही च्यालेन्जर्सले सिवाइसी अत्तरियाको सामना गर्नेछ भने महेन्द्रनगर युनाइटेडले बिराटनगर किंग्ससँग भिड्नेछ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा शुरु प्रतियोगिताको बिजेताले उपाधिसहित २५ लाख पाप्त गर्नेछ भने उपविजेताले १० लाख हात पार्नेछ । त्यस्तै तेस्रो र चौथो स्थान हासिल गर्नेले क्रमश ३ लाख र २ लाख पाप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । कुल ६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल आउँदो चैत्र ३० गते हुनेछ ।