Prakash Adhikari March 7, 2023

काठमाडौं, २३ फागुन । पल्सर स्पोर्ट्स अवार्ड २०७८ को विजेताको घोषणा र पुरस्कार वितरण तथा सम्मान आज दिउँसो एक भव्य कार्यक्रमबीच हुँदैछ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्डको तयारी पुरा भएको मञ्चले जनाएको छ। स्पोर्टस् अवार्ड आज दिउँसो काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दिउँसो २ः१५ बजेपछि हुनेछ।

१९ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेल क्षेत्रबाट योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्दैछ।

मञ्चले पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा आजै गर्नेछ।

अन्य पाँच विधाको समान ५ खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ। पिपल्स च्वाइस विधामा क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी छन्।

वर्ष पुरुष खेलाडीमा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेका छन्।

वर्ष महिला खेलाडीमा भलिबलकी अरुणा शाही, क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल मनोनयनमा परेका छन्।

वर्ष युवा खेलाडीको मनोनयनमा फुटबलका मनीष डाँगी, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी छन्।

वर्ष प्रशिक्षकमा फुटबलका अब्दुल्लाह अलमुताइरी, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका छन्।

विगतमा जस्तै वर्ष पुरुष, महिला, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पाउने छन्। यो वर्षदेखि वर्ष युवा खेलाडीको विजेतालाई पनि पल्सर मोटरसाइकल दिइनेछ।

अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पाउने मञ्चले जनाएको छ।

Share Now

Leave a comment.