काठमाडौ, ६ कार्तिक । दुई चरणमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा दुवै निर्वाचन सकिएपछि मात्र एकसाथ मतगणना गर्ने जनाएको निर्वाचन आयोगले दोस्रो चरणको मतदान नसकुञ्जेल पहिलो चरणको मतपेटिका विशेष सुरक्षामा राख्ने बताएको छ।
पहिलो चरणको मतगणना तुरुन्तै गरिए त्यसको परिणामले दोस्रो चरणलाई असर पर्नसक्ने भन्दै निर्वाचन आयोगले एकसाथ मत गन्ने तयारी गरेपनि मतपत्रको सुरक्षाको विषयमा भने चिन्ता गरिएको थियो।
३२ जिल्लामा सम्पन्न हुने पहिलो चरणमा मतदान भइसकेका मतपत्रसहितका मतपेटिका सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको रेखदेखमा राखिने बताइएको छ।
जसको विशेष सुरक्षा व्यवस्था गृह मन्त्रालयले गर्नेछ।
सुरक्षा चासो
गृह मन्त्रालयले मंसिर १० र २१ मा गरि दुई चरणमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि ९८ हजार म्यादी प्रहरीको भर्ना पनि धमाधम गरिरहेको छ।
सुरक्षा अवस्था हेरेर पर्याप्त सुरक्षा व्यवस्था गृह मन्त्रालयले गर्नेछ
रामकृष्ण सुवेदी, प्रवक्ता, गृहमन्त्रालय
मतपेटिका सुरक्षा भने नियमित प्रकृया अनुरुप नै तीन तहमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको सुरक्षा घेरामा रहने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए।
उनले भने, ‘सुरक्षा अवस्था हेरेर पर्याप्त सुरक्षा व्यवस्था गृह मन्त्रालयले गर्नेछ। तीनवटै सुरक्षा निकाय संलग्न हुने हुनाले सुरक्षामा समस्या छैन। त्यसमाथि म्यादी प्रहरी पनि थपिनेछ।’
पहिलो चरणको निर्वाचनको मतपरिणाम तत्काल सार्वजनिक गरिए त्यसले दोस्रो चरणमा हुने निर्वाचनमा असर पर्न सक्ने भन्दै एकै समयमा मतगणना गर्ने निर्णय निर्वाचन आयोगले गरेको हो।
कार्यतालिका
यसअघि तीन चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा चाहिँ मतदान भए लगत्तै मत गणना थालिएको थियो।
तर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भने त्यसो नगरिने आयोगका प्रवक्ता नवराज ढकाल बताउँछन् ।
दुई भिन्न दिनमा निर्वाचन हुने भए पनि मंसिर २१ गते साँझ ५ बजेबाट मात्र मतगणना गर्ने कार्यतालिका बनाइएको छ
नवराज ढकाल, प्रवक्ता, निर्वाचन आयोग
उनको भनाई छ, ‘स्थानीय तहमा स्थानीय एजेन्डा र स्थानीय उम्मेदवार थियो। यो राष्ट्रिय निर्वाचन भएकोले आयोगले दुई भिन्न दिनमा निर्वाचन हुने भएता पनि मंसिर २१ गते साँझ ५ बजेबाट मात्र मतगणना गर्ने कार्यतालिका बनाएको छ।’
निर्वाचन दुई फरक समयमा हुने भएकोले पनि सुरक्षा व्यवस्था मिलाउन कुनै अप्ठेरो नपर्ने गृहमन्त्रालयको भनाई छ।
मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा तथा मंसिर २१ गते बाँकी ४५ जिल्लामा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका निम्ति करिब पौने दुई करोड मतदाता रहेको आयोगले जनाएको छ।