काठमाडौं, ३ चैत्र । आज उपराष्ट्रपतिको निर्वाचनको लागि मतदान हुँदैछ । निर्वाचन आयोगले वानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संघीय संसद भवनमा निर्वाचन केन्द्र स्थापना गरेको छ । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका सांसदहरु र प्रदेश सभाका सांसदहरु मतदाता रहने व्यवस्था छ ।
यसपटकको उपराष्ट्रपति चुनावमा पनि चार जना उम्मेदवार मैदानमा खडा देखिनु भएको छ । निर्वाचन आयोगले शुक्रबार हुने उपराष्ट्रपति चुनावको लागि चारजना उम्मेदवार रहेको मतपत्र बिहीबार सार्वजनिक गरेको छ।
उपराष्ट्रपतिको उम्मेद्वारमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारीको नाम मतपत्रमा छ।
अघिल्लो चुनावमा एमाले–माओवादी गठबन्धन थियो तर, अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन छ।
त्यस आधारमा चुनावी परिणाम लगभग निश्चित रहेको जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले दाबी गर्नुभएको छ।
प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदले उपराष्ट्रपतिमा मत दिन पाउँछन्। अहिले प्रतिनिधि सभामा २ सय ७३ सदस्य छन्। राष्ट्रिय सभामा ५९ सदस्य छन्। यिनीहरुको कुल मतभार २६ हजार २ सय २८ हुन आउँछ।
यस्तै प्रदेश सभामा ५ सय ५० सदस्यको २६ हजार ४ सय मतभार छ। दुवैतिरको मतभार ५२ हजार ६ सय २८ हुन्छ।
उपराष्ट्रपति निर्वाचित हुन कुल मतभारको बहुमत ल्याउनुपर्छ। यसको बहुमत २६ हजार ३ सय १४ ल्याउने उम्मेदवार उपराष्ट्रपतिमा निर्वाचित हुन्छ।
राप्रपाले चुनावमा भाग नलिने निर्णय गरेको छ।
त्यसमध्ये नेपाली कांग्रेसका चन्द्र भण्डारी र नेकपा माओवादी केन्द्रका वर्षमान पुन बिरामी भएकोले उपचारका लागि मुलुकबाहिर हुनुहुन्छ। प्रतिनिधि सभाका टेकबहादुर गुरुङ निलम्बित छन्। रवि लामिछाने अवैध नागरिकताको कारण पदच्यूत हुनुभएको छ ।
जसपा चुनाव जित्नेमा ढुक्क छ।
‘उपराष्ट्रपतिमा हाम्रा उम्मेदवार रामसहायप्रसाद यादव जित्ने निश्चित छ,’ अधिकारीले भन्नुभयो, ‘ हामीले नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको मत पाउँछौँ।’
चार दलबीच यादवलाई जिताउने निर्णय भएको उहाँले दाबी गर्नुभयो।
चुनावमा कांग्रेसबाट एक जना निलम्बित र उपचारका लागि भारतमा रहेका चन्द्र भण्डारीको मत पर्ने देखिँदैन। त्यसो हुँदा सो पार्टीबाट १६ हजार ६३ मतभार खस्न सक्छ। यस्तै माओवादीबाट ७ हजार ५ सय ७०, एकीकृत समाजवादीबाट २ हजा ५ सय ७४ र जसपाको आफ्नै २ हजार १ सय ४५ र राष्ट्रिय जनमोर्चाको २ सय ६ मतभार रामसहायप्रसाद यादवले पाउने स्थिति छ।
‘हामीले पहिलो चरणमै रामसहायप्रसाद यादवको पक्षमा २८ हजार ५ सय ५८ मतभार पाएर जित निकाल्छौँ,’ अधिकारीले जिकिर भन्नुभयो।
जसपाबाटै अर्की महिला उम्मेदवार प्रमिला कुमारीको नाम पनि मत पत्रमा छ । उहाँले विज्ञप्ति निकालेर रामसहायप्रसाद यादवको पक्षमा समर्थन गर्दै उम्मेदवार नरहेको घोषणा गरिसक्नुभएको छ । तर फिर्ता लिने म्याद गुजारेपछि विज्ञप्ति आएकोले उहाँको उम्मेद्वारी कानुनी रुपमा कायमै छ।
‘उहाँ त हाम्रै पार्टीको हो नि, त्यसमाथि फिर्ता भइसकेको छ, सांसदहरुले त्यति कुरा नबुझ्ने कुरै भएन,’ अधिकारीले भन्नुभएको छ।
उपराष्ट्रपतिकी उम्मेदवार रहेकी एमालेकी अष्टलक्ष्मी शाक्यलाई माओवादी र एकीकृत समाजवादीबाट यसपटक क्रस मत पर्ने विश्वास एमालेको छ।
शाक्यले एमालेको १५ हजार २ सय ३३ मत भार पाउने निश्चित छ।
जनमत पार्टीबाट ममता झा उम्मेदवार हुनुहुन्छ। उहाँलाई लोकतान्त्रिक समाजवादी पार्टीको ९ सय १७ जनमत पार्टीको १ हजार २ सय ४२ र नागरिक उन्मुक्ति पार्टीको ८ सय १३ मत पर्ने निश्चित छ । तिनै दलको २ हजार ९ सय ७२ मतभार हुन आउछ ।
जनमतका नेता विपि साहले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि छलफल भइरहेको र सो पार्टीले रामसहायप्रसाद यादवलाई मत नदिने भएकोले त्यो मत आफ्ना उम्मेद्वारतिर आउने विश्वास व्यक्त गर्नुभएको छ ।
रास्वपाको १ हजर ५ सय १ मतभार छ।
बिहीबार दिनभर गठबन्धनबाट कांग्रेस, जसपाका नेताहरुले जनमतको उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल गरेका थिए।
१४ वर्षपछि फेरि उपेन्द्रकै पार्टीबाट उपराष्ट्रपति
यदि रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भए १४ वर्षपछि उपेन्द्र यादवको पार्टीबाटै अर्को उपराष्ट्रपति निर्वाचित भएको इतिहास कायम हुने छ ।
२०६५ साउन ६ गते राष्ट्रपति र उपराष्ट्रपतिको चुनावी कार्यतालिका थियो। त्यसबेलाको सबैभन्दा बलियो पार्टी माओवादीले राष्ट्रपतिमा एमालेका महासचिव माधवकुमार नेपाललाई सघाउने सहमति गरेको थियो।
तर, साउन २ गते माओवादीले एमालेलाई राष्ट्रपति दिन नसक्ने भन्दै रामराजाप्रसाद सिंहलाई उम्मेदवार बनायो। उता तत्कालीन मधेशी जनाधिकार फोरमले उपराष्ट्रपतिमा समर्थन गरे राष्ट्रपतिमा सहयोग गर्ने अडान राख्यो। फोरमको अडान पनि माओवादीले मानेन।
माओवादीको निर्णयले बिच्किएको एमाले र फोरम एकैठाउँमा उभिए। कांग्रेस पनि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएको भन्दै माओवादीसँग रुष्ट थियो। जसले गर्दा कांग्रेस, एमाले र फोरम एकै ठाउँमा उभिए र साउन ४ गते नयाँ गठबन्धन बन्यो।
कांग्रेसले राष्ट्रपति लियो र डा. रामवरण यादवलाई उम्मेदवार बनायो। फोरमले उपराष्ट्रपतिमा परमानन्द झालाई उम्मेदवार बनायो। संविधान सभा अध्यक्ष एमालेले पायो। सुवास नेम्वाङ अध्यक्ष बन्नुभयो।
यद्यपि उम्मेदवारी मनोनयन भइसकेकोले एमालेकी अष्टलक्ष्मी शाक्य र कांग्रेसका मानबहादुर विश्वकर्माको नाम कायमै भयो।
त्यसबेला फोरमका झाले ३ सय ५ मत ल्याएर उपराष्ट्रपतिमा विजयी हुनुभयो भने माओवादी उम्मेदवार शान्ता श्रेष्ठले २ सय ४३ मत पाउनुभयो। कांग्रेसका विश्वकर्माले २ र शाक्यलाई ४ मत खस्यो। त्यसबेला २४ मत बदर भयो।
१४ वर्षअघिकै जस्तो नतिजा दोहोर्याउने दाउमा अहिले उपेन्द्र यादव हुनुहुन्छ।
त्यतिबेला कांग्रेस, एमाले र फोरमको गठबन्धन सफल भएको थियो अहिले एमालेविरुद्ध मोर्चाबन्दी छ।
रामसहायप्रसाद यादवले उपराष्ट्रपति जितेको अवस्थामा उपेन्द्र उपचुना लडेर संसदमा आउने तयारीमा हुनुहुन्छ ।
नेपालमा अहिलेसम्म भएका उपराष्ट्रपति चुनावमा हरेक पटक चार जनाको उम्मेदवारी पर्ने गरेको छ। २०६५, २०७२ र २०७९ सम्मका तीन वटा चुनावमा चार जना उम्मेदवार छन्।
२०६५ साउन ६ मा भएको पहिलो चुनावमा र अघिल्लो पटकको उपराष्ट्रपति चुनाव ९२०७२ कात्तिक १४० मा केही उम्मेदवारले समय घर्किसकेपछि उम्मेदवारी फिर्ताको घोषणा गरेका थिए। जसका कारण मतपत्रमा उनीहरुको नाम कायम रह्यो।
२०७२ कात्तिक १४ मा भएको उपराष्ट्रपति चुनावमा माओवादीबाट नन्दबहादुर पुन, नेपाली कांग्रेसबाट अमियकुमार यादव, स्वतन्त्र सभासद् अतहर कमाल मुसलमान र नेपाल परिवार दलका दयाराम कँडेलले उम्मेदवारी दिएका थिए। मुसलमान र कँडेलले अन्तिममा नाम फिर्ता लिए।
कात्तिक १४ गतेको चुनावमा पुन र यादवबीच प्रतिस्पर्धा भयो। त्यसबेला ५ सय ९६ जना मतदाता थिए। तर, मधेशी दलका ४७ जनाले चुनाव बहिष्कार गरेका थिए। चुनावमा कुल ५ सय ४७ मत खसेको थियो। १० मत बदर भयो।
एमाले–माओवादी गठबन्धनका उम्मेदवार पुनले ३ सय २५ मत पाएर सजिलै जित निकाले। यादवले २ सय १२ मत ल्याए।


















