Prakash Adhikari March 20, 2023

काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाउनुभएको छ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँलाई नेपाली कांग्रेससहित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ११ राजनीतिक दलले विश्वासको मत दिएका हुन्।

प्रधानमन्त्री दाहालमाथि विश्वास छ भन्ने प्रस्तावको पक्षमा १ सय ७२ मत परेको छ भने विपक्षमा ८९ मत परेको छ। मत दिन्न भन्ने पक्षमा १ मत परेको छ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएनन् भने नेपाल मजदुर किसान पार्टी तटस्थ बस्यो।

प्रधानमन्त्री दाहलले एक सय दिनको हनिमून अवधि समाप्त नहुँदै प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत लिनुभएको हो।

राष्ट्रपति र उपराष्ट्रपति चयनका क्रममा नेकपा एमालेसहितको सात दलीय गठबन्धनबीच मतभेद सिर्जना भएपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएका थिए । सरकारलाई समर्थन गर्ने ठूला दलहरु बाहिरिएकोले हनिमून पिरियडमा नै प्रधानमन्त्री दाहाललाई दोस्रो पटक विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको थियो।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। त्यही व्यवस्थाअनुरुप प्रधानमन्त्रीले यही चैत १२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने थियो।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल गत पौष १० प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो भने उहाँले पहिलोपटक गत पौष २६ गते सदनबाट ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गर्नुभएको थियो।

माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायतको समर्थन उहाँलाई मिलेको छ।

प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १ सय ३८ सांसदको मत आवश्यक पर्थ्यो। प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२, कांग्रेसको ८८, रास्वपाको १९, जसपा ११, एकीकृत समाजवादी १०, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्तिको ४ र जनमोर्चा १ सांसद छन्।

उहाँलाई प्रतिनिधिसभाको ६० प्रतिशत बढी सांसदको मत मिलेको छ।

प्रतिनिधिसभामा एमालेको ७९, राप्रपाको १४, स्वतन्त्र २, नेमकिपा र आमजनता पार्टीका १ सांसद विश्वासको मतको विपक्षमा उभिएका थिए।

मतविभाजन प्रक्रिया

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न पेस गर्नुभएको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु भएको छ ।

उहाँले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रस्ताव पेस गर्नुभएको हो ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले तीन महिना पुग्दा नपुग्दै दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

यसअघि नेकपा (एमाले) सहितका राजनीतिक दलको प्रस्ताव र समर्थनमा उहाँले ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गर्नुभएको थियो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेर एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन अवस्था आएको हो ।

यसअघि प्रतिनिधिसभाको आजको बैठकमा दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा छलफल भई प्रधामन्त्रीले उठेका प्रश्नको जवाफ दिइसक्नुभएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले पेस गर्नुभएको प्रस्तावमाथि सदस्यको हस्ताक्षरसहितको मत विभाजनको आधारमा छिनोफानो हुने र त्यसका लागि आवश्यक प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।

Share Now

Leave a comment.