Prakash Adhikari March 22, 2023

मस्को किएभ(रुस र युक्रेन), ८ चैत्र(बीबीसी) । युक्रेन युद्ध कसरी एशियाली प्रतिस्पर्धी देशबीच पनि प्रतिध्वनित भइरहेको छ भन्ने देखाउनेगरी जापान र चीनका शीर्ष नेताहरूले उक्त युद्धका प्रतिद्वन्द्वी देशहरूको भ्रमण गर्नुभएको छ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङ रुसको मस्को पुगेको भोलिपल्ट जापानी प्रधानमन्त्री फुमिओ किशिदा युक्रेनको किएभ पुग्नुभएको छ।

एशियाका प्रतिस्पर्धी दुई देशका नेताहरूको यो समानान्तर भ्रमणले विश्व राजनीतिमा गहिरो अर्थ राख्ने कतिपयको विश्लेषण छ।

युक्रेन युद्ध सुरुभएयता पहिलो पटक मस्को पुगेका चिनियाँ राष्ट्रपति सी जिन्पिङले सोमवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चार घण्टाभन्दा लामो वार्ता गर्नुभएको थियो।

सी मस्कोमा उच्चस्तरीय भेटघाट र छलफलमा व्यस्त रहेकै बेला मङ्गलवार जापानी प्रधानमन्त्री फुमियो किशिदा किएभ पुग्नुभयो।

सी र किशिदाका वाचा
किशिदाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पुनर्निर्माण र मानवीय सहायताका लागि अटल सहयोग गर्ने वाचा गर्नुभएको छ।

चिनियाँ राष्ट्रपति सीले चाहिँ पुटिनलाई असल मित्र र साझेदारको रूपमा वर्णन गर्नुभएको छ।

चीनले युक्रेन युद्धमा आफूलाई तटस्थ रहेको बताइरहेको छ तर उसको झुकाव मस्कोतर्फ देखिन्छ।

जापानी प्रधानमन्त्रीले चाहिँ युक्रेनको अघोषित रूपमा भ्रमण गरेको बताइएको छ।

दोस्रो विश्वयुद्धपछि कुनै पनि जापानी प्रधानमन्त्रीको युद्धग्रस्त देशमा भएको यो पहिलो भ्रमण हो।

विकसित राष्ट्रहरूको समूह जी सेभेनमा आबद्ध देशका नेतामध्ये रुसी आक्रमणपछि युक्रेन भ्रमण नगर्ने नेतामा किशिदा मात्र बाँकी हुनुहुन्थ्यो।

सी र किशिदाको द्वन्द्वका दुई फरक पक्ष देशका राजधानीमा भएको यो समानान्तर भ्रमणलाई रणनीतिक र कूटनीतिक हिसाबले निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

पुटिन र सी

पुटिन र सी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भव्य स्वागत गर्दै चिनियाँ राष्ट्रपति सी जिन्पिङ्सँग उहाँको मस्को भ्रमणको दोस्रो दिन मङ्गलवार थप वार्ता गर्नुभएको छ।

टेलिभिजनमा देखाइएका दृश्यमा दुई नेताहरूले क्रेमलिनमा निकै बेर हिँडेको, हात मिलाएको अनि सैन्य ब्यान्डले एक अर्काको देशको राष्ट्रिय गान बजाउँदा सँगसँगै उभिएको देखिन्छ।

क्रेमलिनका प्रवक्ताले युक्रेन युद्ध अन्त्यसम्बन्धी चीनको योजनाबारे थप विस्तृत विमर्श हुने बताउनुभएको छ ।

यसअघि राष्ट्रपति सीले अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा पक्राउ पूर्जी जारी गरिएका राष्ट्रपति पुटिनलाई बेइजिङ् भ्रमणको निम्तो दिनुभएको छ।

चीनले उक्त अदालतलाई मान्यता दिएको छैन।

मस्कोस्थित बीबीसी संवाददाता स्टिभ रोजेनबर्ग भन्नुहुन्छ, “धेरै समाचार शीर्षकहरूमा दोहोरिएको शब्द छ प्रिय मित्र। किनभने दुवै नेताले एकअर्कालाई-प्रिय मित्र भनेर सम्बोधन गरे। तर सी जिन्पिङ खासमा यहाँ किन आएका छन् भने उनलाई लाग्छ-यो नै चीनको हितमा छ।”

Share Now

Leave a comment.