काठमाडौं, ८ चैत्र । आगामी वैशाख १० गतेका लागि तोकिएको उपनिर्वाचनको लागि आजबाट दल दर्ता सुरु भएको छ।
निर्वाचन आयोगले उपनिर्वाचनमा सहभागी हुन इच्छुक राजनीतिक दललाई यसअघि नै दल दर्ताका लागि आह्वान गरिसकेको छ।
आजबाट सुरु हुने दल दर्ता कार्यक्रम चैत १२ गतेसम्म जारी रहने छ।
२०८० को वैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।
चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित हुनुभएको थियो। उहाँको उम्मेद्वार रहेको बखत नेपालको वैध नागरिक नभएकोले उहाँको निर्वाचन प्रक्रिया रद्द भएर सांसद पद खारेज भएको थियो।
त्यस्तै, बारा २ उपराष्ट्रपति रामसहायप्रसाद यादवले जितेको क्षेत्र हो। उपराष्ट्रपति निर्वाचित भएपछि यादवले सांसद पदबाट पनि राजीनामा दिनुभएको छ । त्यसैले उक्त पद रिक्त हुन गएको छ ।
तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको थियो। गत फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै उहाँले सांसद पदबाट राजीनामा दिनुभएको थियो।
रिक्त तीनवटै क्षेत्रमा निर्वाचन आयोगले एकै मितिमा निर्वाचन गर्ने तयारी गरेको छ।


















