काठमाडौं, १५ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारलाई पूर्णता दिन उहाँलाई विश्वासको मतमा साथ दिने दलहरुको बैठक आज पनि बस्ने भएको छ।
हिजो (मंगलबार) बैठक बसे पनि बिनाष्किर्ष टुंगिएपछि सत्ता गठबन्धनका दलबीच पुनः आज पनि छलफल हुने भएको हो।
एक नेताका अनुसार बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास (बालुवटार) मै बस्नेछ।
सत्तारुढ १० दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।
हिजोको छलफलका क्रममा कांग्रेसले ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३ । ३ तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले २ मन्त्रालयमा दाबी गरेको बताइएको छ।
यस्तै हिजोको बैठकमा गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा समेत वितरण भएको बताइएको छ । बैठकमा वितरित साझा न्यूनतम् कार्यक्रमको मस्यौदामा दलहरूले आन्तरिक छलफल गर्ने र आजको बैठकमा सामूहिक छलफल गरी अन्तिम रुप दिने सहमति भएको छ।


















