Prakash Adhikari April 15, 2023

कीर्तिपुर (काठमाडौं), २ वैशाख । एसीसी प्रिमियर कपको संघारमा नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमानसंग एकदिवसीय क्रिकेटको अभ्यास खेलमा भिड्दै छ ।

खेल नेपाली समय अनुसार बिहान ९ ः३० मा त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ । खेल ५०–५० ओभरको हुनेछ ।

नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्नेछन् । नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन ।

अभ्यास खेलपछि नेपालले अन्तिम टोली घोषणा गर्नेछ । उता ओमान १४ सदस्य टोलीका साथ नेपाल आइपुगेको छ ।

आइसीसी विश्वकप लिग २ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए । नेपालले पछिल्ला १२ मध्ये ११ खेल लिग २ मा जितेको थियो । घरेलु मैदानमा लिग २ मा नेपालले पछिल्ला ८ खेल नै जितेको छ ।

एसीसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म (अप्रिल १८ देखि १ मे) सम्म त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ ।

नेपालले मुलपानीमा साउदी अरेवियासँग वैशाख ११ (अप्रिल २४मा) खेल्नेछ । नेपालले पहिलो खेल वैशाख ५ (अप्रिल १८ मा) मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दै सुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेल वैशाख ८ गते (अप्रिल २१ मा) ओमानसँग टियुमा खेल्नेछ । नेपाल र ओमानबीचको ओडिआई मान्यता हुनेछ । उक्त खेल नेपालको ५० औं ओडिआई खेल हो ।

नेपालले वैशाख ११ मा (२४ अप्रिल मा) साउदी अरेवियासँग मुलपानीमा खेल्नेछ । नेपालले वैशाख १४ मा (अप्रिल २७ मा) कतारसँग टियुमा खेल्नेछ ।

सेमिफाइनल वैशाख १६ गते (अप्रिल २९ मा)हुनेछ । फाइनल वैशाख १८ गते (मे१ मा) टियुमा हुनेछ । यदि फाइनलमा पानी परेको खण्डमा एक दिन रिजरर्भ डे राखिएको छ ।

तेस्रो स्थानको लागि अप्रिल ३० मा प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

ओमानले पहिलो खेल १९ अप्रिलमा मुलपानी मैदानमा कतारसँग खेल्दै सुरुवात गर्नेछ । नेपालसँग टियुमा खेलेपछि ओमानले अप्रिल २३ मा मुलपानीमा मलेसियासँग खेल्नेछ । २६ अप्रिलमा ओमानले टियु मैदानमा साउदी अरेवियासँग खेल्नेछ ।

नेपालको टोली

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी., ललित राजवंशी, सन्दीप जोरा, मौसम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल ।

ओमानको टोली

जिशान मकसुद (कप्तान), अकिब इलियास (उपकप्तान), जय ओडेडेरा, कलिमुल्लाह, शोएब खान, कश्याप प्रजापति, अदिल शफिक (विकेटकिपर), जतिन्दर सिंह, मोहम्मद नदिम, सन्दीप गौड, बिलाल खान, आयन खान, नसिम खुसी (विकेटकिपर) र फैज बुट ।

Share Now

Leave a comment.