टोकियो (जापान), २ वैशाख(बीबीसी) । जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रमबाट सुरक्षित रूपमा उद्धार गरिएको छ।
उहाँमाथि ‘स्मोक बम’ भनिने धुवाँको मुस्लो छाड्ने एक प्रकारको वस्तु प्रहार गरिएको जस्तो देखिन्छ।
घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रहरीले सन्दिग्ध ठानिएका व्यक्तिलाई नियन्त्रणमा लिएका तस्बिरहरू सार्वजनिक भएका छन्।
जापानको सार्वजनिक प्रसारक एनएचकेले घटनास्थलबाट मानिसहरू भागिरहेको दृश्य देखाएको थियो।
किशिदाले भाषण गर्न थाल्ने वित्तिकै उहाँलाई लक्षित गरेर एउटा वस्तु फ्यालिएको थियो।
अघिल्लो वर्ष जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई चुनावी अभियानका क्रममा गोली हानी हत्या गरिएको थियो।
त्यसअघि जापानका सञ्चारमाध्यमहरूले किशिदाले भाषण गरिरहेको समयमा विस्फोटनको आवाज सुनिएको जनाएका थिए।
पूर्ण विवरण आउन बाँकी

उक्त स्थानबाट उहाँलाई अन्यत्र लगिएको खबरहरूमा उल्लेख गरिएको थियो।
देशको पश्चिमी शहर वाकायाममा शनिवार बिहान उक्त घटना भएको हो। अहिलेसम्म यसको पूर्ण विवरण आइसकेको छैन।
टेलिभिजन फूटेजमा अधिकारीहरूले इलाकालाई खाली गरिरहेको र त्यहाँबाट एक जना मानिसलाई हटाइरहेको देखिन्छ।
एउटा रिपोर्टमा प्रधानमन्त्री किशिदाको नजिकै पाइप जस्तो वस्तु प्रहार गरिएको जनाइएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार विस्फोटनको आवाज सुनिएपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा राखिएको थियो।
जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले प्रहरीले एक जना व्यक्तिलाई घटनास्थलबाट नियन्त्रणमा लिएको देखिएको जनाएको छ।
भयको वातावरण
स्थानीय सञ्चारमाध्यमले शनिवारका लागि पूर्वनिर्धारित आफ्ना कार्यक्रमहरूलाई किशिदाले निरन्तरता दिने जनाएका छन्।
घटनास्थलमा रहेकी एक जना महिलाले एनएचकेसँग भन्नुभयो, “म स्तब्ध भए। मेरो मुटु अझै पनि एकदमै चाँडो धड्किरहेको छ।”
अर्का व्यक्तिले एउटा वस्तु हावामा उडिरहेको देखेको बताउँदै त्यसले आफूलाई ‘डर लागेको र आफू एकदमै चाँडै दौडिएको’ बताउनुभयो।
“त्यसपछि हामीले एकदमै ठूलो आवाज सुन्यौँ। त्यसले गर्दा मेरी छोरी रोइन्।”
अर्का प्रत्यक्षदर्शीले विस्फोटक सामाग्री फ्यालिएको भनेर कसैले भनेपछि त्यो पड्किनुअघि नै मानिसहरू डरले तितरबितर भएको जनाए।
किशिदाको दल लिबरल डेमोक्र्याटिक पार्टीका नेता हिरोसी मोरियामाले चुनावी अभियानको बीचमा यस्तो हुनु खेदजनक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो माफी दिन नसकिने जघन्य अपराध हो।”
जापानमा हिंसात्मक हमलाहरूलाई दुर्लभ मानिन्छ। अघिल्लो वर्ष चुनावी अभियानका क्रममा पूर्व प्रधानमन्त्री आबेको हत्या गरिएपछि राजनीतिज्ञहरूको सुरक्षालाई लिएर त्यहाँ चिन्ताहरू देखिएको छ।


















