विराटनगर(मोरंग), २४ चैत्र । त्रिभुवन आर्मी क्लब प्रतिष्ठित बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार बिराटनगरस्थित शहिद मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा आर्मीले रमपम झापा–११ लाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेले तापनि दोस्रो हाफमा आर्मीले निर्णायक अग्रता लिन सफल भएको थियो ।
आर्मीका लागि खेलको ६८ औं मिनटमा बिमल पाण्डेले एक मात्र निर्णायक गोल गरे ।
खेलमा आर्मीका कप्तान भरत खवास म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत शनिबारको दोस्रो सेमिफाइनल खेल रुस्लान थ्रीस्टार क्लब र सिएमजी संकटा क्लबबीच हुने हुने आयोजकले जनाएको छ ।
नेपाल, भारत र भुटानका गरी कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको बिजेताले उपाधिसहत १२ लाख ७१ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख ५१ हजार प्राँप्त गर्नेछ ।
प्रतियोगिताको सबै खेलहरु बेलुकाको समयमा भैरहेका छन् ।
प्रतियोगिताको फाइनल खेल यहि चैत्र २६ गते हुनेछ ।