काठमाडौं, १६ वैशाख । नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा आज कुवेतसँग खेल्दैछ ।
खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु टोली नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।
नेपालले आजको टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ।
कतारविरुद्ध विश्राम दिएका तीव्र गतिका बलर करण केसी टोलीमा फर्किदा गुलशन झा बेन्चमा बस्ने उच्च सम्भावना देखिन्छ । गुलशनको बलिङ त्यति धेरै प्रभावकारी नहुँदा करणलाई नै पहिलो रोजाईमानै निरन्तरता दिनेछ ।
ज्ञानेन्द्र मल्ल र प्रतिश जि।सी आज पनि बेन्चमा बस्ने सम्भावना छ । नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेल यस प्रतियोगितामा चलेका छैनन् । उनीमाथि नेपालले थप विश्वास गर्ने हुँदा ज्ञानेन्द्र बेन्चमा नै बस्ने सम्भावना छ । अन्य खेलाडी परिवर्तन गर्ने सम्भावना भने छैन ।
नेपालको ब्याटिङ १० नम्बर सम्म छ । त्यसैले सबै ब्याटरले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । भीम सार्की, रोहित पौडेल र कुशल मल्लको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन बिना नेपाललाई जित निकाल्न कठिन पर्नसक्छ ।
कतारलाई हराउन सन्दीपले ४२ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । उनलाई ललितनारायण राजवंशीले अर्को एण्डबाट साथ दिनेछन् । करण र सोमपाल कामीबाट नेपाल पावर प्लेमा पनि उत्कृष्ट सुरुवात चाहन्छ ।
नेपाल कप्तान रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रने छ । नेपाली टोलमा नेपालको टोली कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी र ललित राजवंशी रहेका छन् ।
कुवेत बलिङ र फिल्डिङ कमजोर रहेपनि ब्याटिङमा भने सानदार प्रदर्शन गर्दै आएको छ । ब्याटिङ नै कुवेतको प्रमुख हतियार हो । कुवेती ब्याटर विष्फोटक ब्याटिङमा प्रभाव जमाउँदै आएका छन् । मुलपानी मैदानमै कुवेतले हङकङविरुद्ध २ सय ७२ रन बनाउँदै जितको आधार तय गरेको थियो ।
मोहम्मद अस्लामको कप्तानीमा रहने कुवेतको टोलीमा आदनान इद्रिस, सैयद मोनिब, उस्मान पटेल, बिलाल ताहिर, मोहम्मद अमिन, रजिवा संदरुवान, मित भावसार, शिराज खान, परविन्दर कुमार, यसिन इशक पटेल, क्लिन्टो एन्टो, शाहरुख कुद्दुस र इलियास अहमद रहेका छन् ।
एसीसी प्रिमियर कपको फाइनल सोमबार हुनेछ । यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । त्यस्तै आज सेमिफाइनलमा पराजित भएका दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
फाइनलमा पुग्ने दुई र तेस्रो स्थानमा रहने तीन टोली गरि ३ टोलीले आगमी
जुनमा एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।
आज काठमाडौंमा हल्का वर्षा हुने सम्भावना छ । यदि वर्षाको कारण नतिजा नभएमा खेल सुपर ओभरको हुनेछ । सुपर ओभर पनि हुन नसकेमा नेपाल र युएई समूह विजेताको रुपमा फाइनलमा स्थान बनाउनेछन् ।


















