काठमाडौँ, २६ चैत्र । यो वसन्तमा हिमाल आरोहणका लागि अहिलेसम्म ४५ समूहले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार आरोहण अनुमति लिने ४५ मध्ये २३ वटा समूहले सर्वोच्च शिखर सगरमाथाका लागि लिएका छन् ।
सगरमाथा चढ्न मात्रै २३ समूहका २ सय २६ आरोहीले आरोहणको अनुमति लिएको विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिएका छन् ।
उनका अनुसार सगरमाथा, अन्नपूर्ण, आमादब्लमलगायत हिमालको आरोहणमा स्वदेशी तथा विदेशी आरोही गएका छन् ।
विभागले आरोहणका लागि अहिलेसम्म ३८ जना सम्पर्क अधिकृत खटाइसकेको छ ।
छ हजार ५०० मिटर माथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ ।
महानिर्देशक भट्टराईले आरोही धमाधम गन्तव्यतर्फ जान थालेको बताए ।
यो याममा अझै थुप्रै आरोही हिमाल चढ्न आउने अनुमान गरिएको छ ।रासस