इस्लामाबाद(पाकिस्तान), २७ वैशाख(बीबीसी) । भ्रष्टाचारको आरोपमा पक्राउ परेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका समर्थकहरूले देशव्यापी प्रदर्शनको आह्वान गरेका छन्।
खानको दल तहरिक(ए(इन्साफले मानिसहरूलाई बुधवार इस्लामावादस्थित ज्युडिसिअल कम्प्लेक्स बाहिर जम्मा हुन अपिल गरेको छ।
कतिपय समर्थकहरूले लाहोरको सैनिक शिविर बाहिर शिविर बनाएर रात बिताएका थिए।
खानको पक्राउको खबर फैलिएपछि भीड सैनिक कमान्डरको घरभित्र प्रवेश गरेको थियो। खानका समर्थक र सुरक्षा फौजबीच भिडन्त चलिरहँदा देशभर मोबाइल सेवा अवरुद्ध छ।
हिंसामा एक जनाको ज्यान गएको छ।
खानको गिरफ्तारी
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामाबादस्थित अदालत परिसरबाट अर्धसैनिक बलका अधिकारीहरूले गिरफ्तार गरेका छन्।
भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उहाँ अदालतमा उपस्थित हुन लाग्नुभएको थियो। बीबीसी संवाददाता शुमाइला जाफरीका अनुसार इस्लामावाद प्रहरीले, खानलाई अदालत परिसरबाटै अल कादिर ट्रस्टबारे मुद्दामा पक्राउ गरिएको बताएको छ।
पाकिस्तानी सञ्चारमाध्यमहरूमा प्रकाशित विवरणहरूका अनुसार पूर्व प्रधानमन्त्री इमरान खानलाई हिरासतमा लिएर भ्रष्टाचारका मुद्दाहरूबारे अनुसन्धान गर्ने न्याशनल एकाउन्टिबिलिटी ब्यूरो एनएबीमा पठाइएको छ। विवरणहरूका अनुसार खान अर्को मुद्दाको धरौटी बुझाउन अदालत पुग्नुअघि नै एनएबी टोली त्यहाँ पुगेको थियो।
खानविरुद्ध अन्य थुप्रै मुद्दा चलिरहेका छन्। यद्यपि, आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपले अभिप्रेरित भएको भन्दै पूर्वप्रधानमन्त्री खानले तिनलाई अस्वीकार गर्दै आउनुभएको छ।
अदालत परिसर प्रवेश गरेपछि सुरक्षाकर्मीले खानलाई गाडीमा राखेर लगेका थिए।
के हो अलकादिर ट्रस्ट मुद्दा ?
गत वर्ष जुनमा पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सत्तामा आएपछि पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीले एक घर जग्गा व्यवसायीको ५० अर्ब रुपैयाँलाई कानुनी मान्यता दिएको बदलामा अर्बौँ रुपैयाँ बराबरको जग्गा अधिग्रहण गरेको बताइन्छ।
यस सम्बन्धमा आन्तरिक मामिला मन्त्री राना सनाउल्लाहले पत्रकार सम्मेलनमा पीटीआई सरकारमा छँदा ब्रिटिश न्याशनल क्राइम एजेन्सीले त्यो पैसा व्यवसायी मलिक रियाजमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान पछि फिर्ता गरेको र लगत्तै खानले उनीबाट अधिग्रहण गरेको जग्गा फर्काएको आरोप लगाउनुभएको थियो।
इमरान खानलाई पक्राउ गरिँदै
यसै सम्बन्धमा व्यवसायी रियाजले आफ्नो अन्य अवैध ूमुद्दालाई ढाक्नूको लागि अल कादिर विश्वविद्यालयका लागि जग्गा उपलब्ध गराएको सरकारको आरोप छ।
खानले अल कादिर विश्वविद्यालय परियोजनाका लागि सन् २०१९ को डिसेम्बर २६ मा अल कादिर ट्रस्ट दर्ता गर्नुभएको थियो। यस ट्रस्टमा खान र उहाँकी पत्नी बुशरा बीबीमात्र ट्रस्टी हुनुहुन्छ।
मन्त्रिपरिषद्ले रियाजको स्वामित्व रहेको बहरिया टाउनको बारेमा निर्णय गरेको केही दिनपछि इमरान खानले उक्त ट्रस्ट दर्ता गर्नुभएको थियो।
इमरान खानको गिरफ्तारीको विरोधमा प्रदर्शन गरिरहेका पीटीआईका कार्यकर्ताहरूले रावलपिँडीस्थित सेनाको मुख्यालय बाहिर पुगेर तोडफोड गरेका छन्।
इस्लामावादमा प्रदर्शनले उग्र रूप लिएको छ। घम्साघम्सीमा परी ३ जना प्रहरी अधिकारी घाइते भएका छन् भने ४३ प्रदर्शनकारी पक्राउ परेका छन्।
खानलाई पक्राउ गरेपछि लाहोरको सडकमा पनि प्रदर्शनकारीहरू जम्मा भएका छन्। उनीहरूलाई हटाउन प्रहरी पुगेको छ।
बीबीसी संवाददाता फुरकानका अनुसार खानको घर अवस्थित जमान पार्कमा प्रहरी र प्रदर्शनकारी आमनेसामने भएका छन्।
खानका समर्थकको प्रदर्शन
प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरिरहेको छ। सोही क्रममा आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरिरहेका छन्। यस सम्बन्धमा बीबीसीलाई प्राप्त भिडिओमा आक्रोशित प्रदर्शनकारीले त्यहाँको गेट बाहिर तोडफोड गरी जबरजस्ती भित्र पसेको देख्न सकिन्छ।
प्रधानमन्त्रीको भनाइ
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इमरान खानले सत्ता गुमाएपछि पाकिस्तानी सेनालाई बदनाम गर्ने नीति अपनाएको आरोप लगाउनुभएको छ।
उहाँले भन्नुभएको छ, “सत्ता गुमाएपछि पाकिस्तानी सेनालाई संस्थाको रूपमा बारम्बार बदनाम गर्ने तपाईँको नीति रहेको छ। के तपाईँले वजीराबाद घटना हुनुअघि नै सेना, गुप्तचर निकाय र तीनको नेतृत्वलाई बदनाम गरिरहनुभएको थिएन र?”
वजीराबादमा एक बन्दुकधारीले इमरान खानमाथि गोली प्रहार गरेका थिए र खान घाइते भएका थिए।
दर्जनौँ मुद्दा
गत वर्ष खान सत्ताच्युत हुनुभएको थियो। त्यसयता खानले समयअगावै निर्वाचन गरिनुपर्ने भन्दै अभियान चलाउँदै आउनुभएको छ।
गत नोभेम्बर महिनामा एउटा र्यालीको क्रममा इमरान खानमाथि गोली प्रहार गरिएको थियो। घटनामा उहाँ बाँच्न सफल हुनुभयो।
पाकिस्तानमा यसै वर्षको अन्त्यतिर आमनिर्वाचन हुने तय भएको छ। सत्ताबाट बाहिरिएयता इमरान खानविरुद्ध दर्जनौँ मुद्दा चलाइएका छन्।
सोमवार मात्रै पाकिस्तानी सेनाले आधारहीन आरोपहरू नलगाउन चेतावनी दिएको थियो।
फाइल तस्बिर ( इमरान खान गत वर्ष प्रधानमन्त्री पदबाट हट्नुभएको थियो
ूआफ्नो हत्या गर्ने षड्यन्त्रू भइरहेको भन्दै खानले एक वरिष्ठ सैनिक अधिकारीमाथि ूआधारहीन आरोपू लगाएको भन्दै सेनाले उहाँलाई चेतावनी दिएको थियो।
सरकारमाथि आरोप
इमरान खानले विगतका असफल प्रयासपछि पनि सरकार आफूलाई जेलमा राख्न दृढ रहेको र पाकिस्तानमा जङ्गली राज सुरु भएको आरोप लगाउँदै आउनुभएको थियो ।
ूम आफ्नो रात हिरासतमा बिताउन गइरहेको कुराका लागि मानसिक रूपमा तयार छु,ू गत मार्च महिनामा उहाँले भन्नुभएको थियो। ूकति रात भन्ने थाहा छैन तर म त्यसका लागि तयार छु।ू
खानले अधिकारीहरूले आफूलाई पक्राउ गरेर आफ्नो दललाई आउँदो निर्वाचनमा सहभागी हुन रोक्न चाहिरहेको दाबी गर्नुभएको छ।
“म जेलमा भए वा नभए पनि उनीहरूले मेरो दललाई जित्न रोक्न सक्ने छैनन्।”
मार्चमा पाकिस्तानका एक वरिष्ठ अधिकारीले खानलाई पक्राउ गर्ने प्रयास सुरक्षा फौजले स्थगित गरेको बताउनुभएको थियो। लाहोरमा क्रिकेट प्रतियोगितामा बाधा नपुगोस् भनेर त्यसो गरिएको उहाँको भनाइ थियो।
अदालतले खानलाई पक्राउ गर्न आदेश दिएपछि सुरक्षा फौजले उहाँलाई गिरफ्तार गर्न खोजिरहेको थियो। खानका समर्थक र सुरक्षा फौजबीच उहाँको निवासनजिकै झडपहरू पनि भएका थिए।
पदमा रहँदा राज्यका उपहारहरू बेचेको आरोप पनि खानमाथि छ। तर उहाँले त्यस्तो आरोप र मुद्दा राजनीतिक मनसायले प्रेरित रहेको दाबी गर्दै आउनुभएको छ ।