काठमाडौं, २७ वैशाख । बुद्ध एयरका कार्यकारी अध्यक्ष बीरेन्द्रबहादुर बस्नेतका भाइ शिवेन्द्रबहादुर बस्नेतले कम्पनीको हिसाबकिताव माग गर्नुभएको छ ।
आज बवरमहल रिभिजिटेडमा एक पत्रकार सम्मेलन गर्दै उहाँले ४० प्रतिशत शेयर धनीले आफूलाई प्रतिनिधिको रुपमा अख्तियारी दिएकोले कम्पनीले हालसम्मको अद्यावधिक हिसाब दिनुपर्ने माग गर्नु भएको हो ।
पिता सुरेन्द्रबहादुर बस्नेतको निधनपछि कम्पनीको १५ प्रतिशत शेयर आफ्ना तीन जना सन्तानहरु र २५ प्रतिशत शेयर आफ्नी श्रीमतीको नाममा आएको र चारै जनाले आफूलाई अख्तियारी दिएकोले आफूले कम्पनी ऐन अनुरुप नै हिसाव मागेको तर नदिइएको जिकिर गर्नुभयो ।
उहाँले आफूले कम्पनी ऐन २०६३ को धारा १४६ ले शेयर धनीलाई कम्पनीको हिसाब किताब निरीक्षण गर्ने अधिकार दिएको र यस अन्तरगत साधारण सभा, सञ्चालक समितिको निर्णय पुस्तिका,वार्षिक आर्थिक विवरण,शेयर दर्ता किताब र कम्पनीको लेखा हेर्न आफूले पाउनु पर्ने दावी पनि गर्नुभयो ।
बुद्ध एयर आफ्नो ब्रेन चाइल्ड भएको र आफ्नो परिवारको पनि स्वामित्व रहेकोले कम्पनीको छवि विगार्ने र यसमा थप लाभ लिनका लागि आफूले काम नगरेको बताउदै बस्नेतले कम्पनी सञ्चालन गर्दा ४० प्रतिशत शेयर धनीलाई उपेक्षा नगर्न पनि आग्रह गर्नुभयो । उहाँले कम्पनीको सञ्चालका समितिमा उचित प्रतिनिधित्व हुनुपर्ने, साधारण सभामा सबै अंशियारलाई खबर गरिनु पर्ने, कम्पनीका जहाज खरीद र बिक्री, बैंक तथा वित्तीय संस्थासंग कर्जा लिने लगायतका महत्वपूर्ण निर्णय गर्दा ४० प्रतिशत अंशियारको पनि सहभागिता र सहमति चाहिने माग गर्नुभयो ।
उहाँले आफूले अख्तियारी पाएको ४० प्रतिशतका अंशियारले पनि कम्पनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि अझ राम्रो बनाउन चाहेको, कम्पनीलाई अझ उचाईमा पुर्याउन चाहेको र गुणस्तरीय हवाई सेवा र रोजगारी दिने कम्पनीमा रुपान्तरित गर्न चाहेको बताउनुभयो ।
शिवानी एयर र शिवानी फ्लाइड. स्कूल सञ्चालनमा असफल भएर अमेरिका पलायन हुनुभएका शिवेन्द्रले आफ्नो सो कदम समयभन्दा पहिले भएकोले सोचे अनुरुप काम गर्न नपाएर पलायन हुनुपरेको पनि बताउनुभयो । मानिस सफल हुन भिजन, मिहेनत, निर्णय क्षमता र भाग्यको साथ चाहिने बताउदै बस्नेतले भन्नुभयो , “म यहाँ असफल भए अमेरिकाको क्यालिफोर्नियामा ममः व्यवसायमा चम्केको छु ।”
आफूले नेपाली नागरिकता सरेण्डर गरेर अमेरिकी नागरिकता लिएको खुलस्त बताउने शिवेन्द्रले आफ्नो अहिलेको हैसियत गैरआवासीय नेपाली रहेको र आफू पुनः अमेरिका नै फर्किने बताउनु भएको छ ।
उहाँले आफूले कम्पनीको बढी शेयरको दावी पनि नगरेको र आफूले नेतृत्व लिएर चलाउन पनि नखोजेको पटक पटक दोहोर्याउनु भएको थियो । “म कम्पनी तहसनहस गराउन पनि आएको हैन, म चलाउने पनि हैन”, बुद्ध एअरका सस्थापक शिवेन्द्र वस्नेतले भन्नुभयो, “दाजु बीरेन्द्रले नै चलाउनुहोस् । अझ राम्रोसंग चलाउनुहोस् । ४० प्रतिशत अंशियारको पनि कदर गरेर चलाउनुहोस् भन्नेमात्र हाम्रो माग हो ।”
शिवानी एयरको बाँकी बक्यौताको प्रश्नमा उहाँले सो कम्पनी अहिले अरुले खरिद गरिसकेको बताउनुभयो । माउण्टेन हेलिकोप्टरको कर्जाका कारण कालोसूचिमा परेको सम्बन्धमा बैंक र आफूहरुबीच हिसाब मिलानमा समस्या रहेको बताउनु हुने शिवेन्द्रले आफू कालो सूचिमा रहेको कारण बुद्ध एयरका ४० प्रतिशत अंशियार र समग्र बुद्ध एयरलाई असर नगर्ने बताउनुभयो ।
उहाँले पत्रकार सम्मेलनमा उपलब्ध गराउनुभएको कागजात अनुसार बुद्ध एयरमा प्रबन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतको १९ लाख ८४ हजार ५ सय,सुनिता बस्नेत सिंजापतिको ५ लाख ७ हजार ७ सय ५०, आरजु बस्नेतको २ लाख ५३ हजार ८ सय ७५,आस्था बस्नेतको २ लाख ५३ हजार ८ सय ७५, अर्चना बस्नेतको १२ लाख ५० हजार,शिवानी बस्नेतको २ लाख ५० हजार, दिव्यानी बस्नेतको २ लाख ५० हजार र आदर्श बहादुर बस्नेतको २ लाख ५० हजार कित्ता शेयर रहेको छ ।
उहाँले कम्पनीको हिसाब किताब नदिएकोले कतै गोलमाल भएको त छैन भन्ने आशंका पनि व्यक्त गर्नुभयो ।