काठमाडौं, ३० वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिवलाई निलम्बन गरेको नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस बारे प्रतिनिधिसभामा विस्तृत धारणा राख्ने तयारी गर्नुभएको छ।
एमाले नेताहरूका अनुसार ओलीले आगामी जेठ ४ गतेको संसद् बैठकमा नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर गरिएको ठगी प्रकरणबारे आफ्नो धारणा राख्ने तयारी गरिरहनुभएको छ।
अहिलेसम्म उक्त प्रकरणमा भूतपूर्व गृहमन्त्री बालकृष्ण खाणसहित बहालवाला उच्च अधिकारीहरू, विभिन्न राजनीतक नेताका नातागोता र सल्लाहकारहरू तथा पैसा उठाउने गिरोहका सदस्यहरू पक्राउ परेको प्रहरीले जनाएको छ।
भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनसहित आफूहरूबाट दशौँ लाख रुपैयाँ लिइएको तर पछि बिचल्लीमा पारिएको भन्दै प्रहरी समक्ष उजुरी दिने मानिसको सङ्ख्या १०० भन्दा बढी छ।
पार्टी बैठकमा आक्रामक ढङ्गले प्रस्तुत भएका ओली
बिहीवार सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकमा नक्कली शरणार्थी प्रकरणबारे कैयौँ नयाँ धारणाहरू राखेका ओलीले निर्दोषलाई फसाउन र दोषीलाई उम्काउन खोजिए कडा विरोध गरिने बताउनुभएको थियो।
उक्त प्रकरणलाई लिएर प्रहरीले पक्राउपुर्जी जारी गरेपछि एमालेका सचिव टोपबहादुर रायमाझी फरार हुनुहुन्छ।
रायमाझीलाई पार्टीगत जिम्मेवारीबाट निलम्बन गरेको एमालेले प्रहरीसमक्ष उपस्थित भएर अनुसन्धानमा सघाउन निर्देशन दिएको छ।
पार्टी बैठकमा अध्यक्ष ओलीले राखेको धारणा भन्दै एमालेद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छः “नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई पनि पूर्वाग्रहपूर्ण ढङ्गले फसाउने काम नहोस्। भ्रष्टाचारको विषयलाई राजनीतिक प्रतिशोधको अस्त्र बनाउने काम नहोस्।”
नेकपा एमालेका नेताहरूका अनुसार ओलीले झन्डै ४०० जना नक्कली भुटानी शरणार्थी बनेर अमेरिका छिरिसकेको सूचना आफूले पाएको दाबी गर्नुभएको थियो।
त्यसबाहेक गएको जेठमा पीडितका उजुरीउपर कारबाही गरी पैसा फिर्ता गराएर मुद्दा मिलाउने प्रयास गरिएको भन्दै उहाँले बैठकमा भन्नुभएको थियो, “त्यो बेला प्रधानमन्त्री को थियो ? गृहमन्त्री को थियो ? यो दुनियाँलाई थाहा छ।”
ओलीले भनेको उक्त समयमा उहाँलाई विस्थापित गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको थियो।
उक्त प्रकरणमा देउवा निकट मानिने पूर्वगृहमन्त्री खाण पक्राउ पर्नुभएको छ। सांसद रहेकी देउवाकी पत्नी आरजु राणा देउवा र खाणकी पत्नी मञ्जु खाणको नाम पनि संलग्न भएको दाबी गरिएको विवरण विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका छन्।
तर दुवै जनाले आफूहरू निर्दोष रहेको बताइरहनुभएको छ।
संसद्मा ओलीको के भन्न सक्नुहुन्छ ?

ओलीले सयौँ मानिस नक्कली शरणार्थी बनेर अमेरिका गएको अभिव्यक्ति दिएपछि त्यसले एउटा तरङ्ग ल्याइदिएको छ।
एमाले प्रमुख सचेतक पदम गिरी यस विषयमा अध्यक्ष ओलीले संसद्मा थप कुरा राख्न सक्ने ठान्नुहुन्छ।
गिरीका अनुसार जेठ ४ गतेको संसद् बैठकमा आफूले बोल्ने ओलीले जानकारी दिनुभएको छ।
उहाँले भन्नुभयो, “यो अपराध सामान्य विषय होइन। यसले अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको छवि नराम्रोसँग धमिलिएको छ र नेपालप्रति नै विश्वास गर्न नसकिने एक खालको परिस्थिति निर्माण हुँदैछ। त्यही भएर यसको गम्भिरतालाई ध्यानमा राखेर अध्यक्ष ृओलीेले हिजो यसको सत्यतथ्य के हो, कहाँसम्म यसको जरो पुगेको छ सबै खोजी हुनुपर्छ र दोषीउपर कारबाही हुनुपर्छ भन्ने मान्यताका आधारमा आफ्ना कुरा राख्ने भन्नुभएको हो।”
गिरीले भन्नुभये, “अध्यक्ष ओलीले पछि म यो सदनमा नै बताउँछु भनिरहनुभएको छ। तर अहिले हामीले विभिन्न ढङ्गले सूचनाहरू पाउँदै जाँदा निक्कै लामो समयदेखि सङ्गठित रूपमा यो काम भएको रहेछ। विभिन्न ढङ्गले सूचनाहरू पाइएको छ। हामी अध्ययन गरिरहेका छौँ भनेर उहाँले भन्नुभयो।”
“नेतादेखि कर्मचारीसँग सेटिङ मिलाउने केही दलाल र बिचौलियाहरूले देशभरिबाट मानिसहरू खोज्ने गरेको देखिन्छ। यसमा संलग्न जोकोहीलाई कारबाही हुनुपर्छ त्यसमा कुनै सम्झौता गर्नुहुँदैन भनेर उहाँले भन्नुभएको छ।”
संसद्मा ओलीले नयाँ कुरा ल्याउनेभन्दा पनि निष्पक्ष अनुसन्धानमा जोड दिने विषय उठाउने संभावना छ।
“उहाँले यसको आदि र अन्त्य के हो सबै पत्ता लाग्नुपर्यो। संलग्न सबैलाई खोजी गर्नुपर्यो र कारबाहीको दायरामा ल्याउनुपर्यो अनि अन्तर्राष्ट्रिय स्तरमा धमिलिएको छविलाई पुनर्स्थापित गर्ने हिसाबमा काम गर्नुपर्यो भन्ने आशयका साथ उहाँले आफ्नो अभिव्यक्ति राख्नुहुन्छ भन्ने मलाई लाग्छ।” प्रमुख सचेतक गिरीले भन्नुभयो ।

भुटानी शरणार्थी शिविर: बिचौलियाहरूलाई रकम बुझाउनेमा विद्यार्थीदेखि गृहिणीसम्म रहेको प्रहरीले जनाएको छ
भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधान पहिल्याउन गृह मन्त्रालयका भूतपूर्व सहसंयोजक बालकृष्ण पन्थी नेतृत्वको कार्यदल ओली नेतृत्वको सरकार सत्तामा भएका बेला गठन गरिएको थियो।
तात्कालिक गृहमन्त्री रामबहादुर थापाको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको उक्त कार्यदलको प्रतिवेदनमा नियुक्त विज्ञ नै सन्दिग्ध पृष्ठभूमिको रहेको विवरणहरू आइरहेका छन्।
उक्त प्रतिवेदनले सन् २०१९ सम्म १ लाख १३ हजार जनाभन्दा बढी शरणार्थी तेस्रो देशमा पुनर्वासपछि दर्तावाल ६ हजार ५ सय ५७ भुटानी शरणार्थी नेपालमा रहेको र केही शिविरबाहिर र दर्ता हुन छुट भएको जनाएको छ।
हाल अनुसन्धानलाई उद्धृत गर्दै सार्वजनिक भइरहेका विवरणमा उच्च सरकारी अधिकारीसँगको मिलेमतोका आधारमा उक्त प्रतिवेदनमा किर्ते गरी नक्कली शरणार्थीको नाम थपिएको जनाइएको छ।
एमालेका प्रमुख सचेतक गिरीले यो प्रकरणको जरोसम्म पुगेर गरिने स्वतन्त्र अनुसन्धानमा आफ्नो दलको समर्थन हुने बताउनुभयो।
गृहजिल्ला झापा भएका ओली भुटानी शरणार्थी मामिलाबारे परिचित नेतामध्येमा पर्नुहुन्छ। एमालेको पहिलो सरकारका गृहमन्त्री रहनुभएका ओलीले कांग्रेस सभापति स्व.गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको संयुक्त सरकारमा परराष्ट्रमन्त्रीको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो ।
ओलीले २०६२/२०६३ को जनआन्दोलनपछि बनेको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहँदा भुटानी शरणार्थीको मामिलाबारे थिम्पुसँग अवरुद्ध रहेको वार्ता पुनः सञ्चालन गराउने प्रयास समेत गर्नुभएको थियो।
के भन्छ नेपाली कांग्रेस ?

पूर्वगृहमन्त्री खाण अहिलेसम्म यो प्रकरणमा पक्राउ पर्ने सबैभन्दा वरिष्ठ व्यक्ति हुनुहुन्छ ।
प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी प्रहरी अनुसन्धानमा कुनै हस्तक्षेप नहुने बताइरहँदा नेपाली कांग्रेसका नेताहरूले स्वतन्त्र र निष्पक्ष छानबिनमा जोड दिइरहनुभएको छ।
पार्टीका दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले प्रहरीले गिरफ्तार गरेका नेता खाणलाई पार्टीले निलम्बन गर्नुपर्ने माग उक्त दलको पदाधिकारी बैठकमा राखेको बताइन्छ।
तर त्यसबारे कांग्रेस कुनै पनि निष्कर्षमा पुग्न सकेको छैन।
पार्टीका सहमहामन्त्री जीवन परियार भन्नुहुन्छ, “नेपाली कांग्रेसको नेता बालकृष्ण खाण छानबिनको लागि तयार भएर जानुभएको छ। हाम्रो पार्टीको नेताले अनुसन्धानका लागि सहयोग पुर्याउनुभएको छ। तर नेकपा एमालेको पदाधिकारी आज पनि फरार भएर बस्नुभएको छ। कांग्रेस पार्टी कहिल्यै पनि दोषीलाई उम्काउने पक्षमा छैन।”
उहाँले कसैले पनि अनुसन्धानलाई प्रभावित पार्न नहुने भन्दै अदालतले जे ठहर गर्छ त्यसलाई स्वीकार गर्ने बताउनुभयो।
अनुसन्धान अधिकृतले चाहँदा जुनसुकै व्यक्तिमाथि छानबिन हुन सक्ने भन्दै उहाँले त्यसमा आफ्नो दलले सहयोग नै गर्ने बताउनुभयो।
एमालेले सचिव रायमाझी पार्टीको सम्पर्कमा नरहेको बताउँदै आएको छ।
बिहीवार एमाले अध्यक्ष ओलीले आफूले रायमाझी निकट व्यक्तिहरूलाई प्रहरीसमक्ष प्रस्तुत गर्नु राम्रो हुने सुझाव दिएको बताउनुभयो।
“सरकारी स्रोतबाटै मैले हाजिर हुँदै हुनुहुन्छ भन्ने बुझेको हो। तर पछि किन हाजिर हुनुभएन मलाई थाहा भएन। अहिले पनि म भन्न चाहन्छुः कसैमाथि आरोप लाग्छ भने आरोप लाग्दैमा दोषी प्रमाणित हुने होइन। तर आरोपबाट तर्किन खोज्यो वा भाग्न खोज्यो भने सन्देह पैदा हुन्छ। त्यस कारण सच्चाइको सामना गर्नुपर्छ।”
नक्कली शरणार्थी प्रकरणमा संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआर पनिगहिरो चासो व्यक्त गरेको छ।
यूएनएचसीआरले प्रहरीले थालेको अनुसन्धानको स्वागत गरेको छ।
नेपाल प्रहरीले सङ्गठित अपराधका रूपमा छानबिन गरिरहेको यो प्रकरण र जारी अनुसन्धानमा १ लाख भुटानी शरणार्थीलाई पुनर्वास दिने संयुक्त राज्य अमेरिकाको पनि विशेष ध्यान भएको कतिपयले बताएका छन्।(बीबीसीबाट)








