काठमाडौँ, ३१ वैशाख (रासस) । नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । नेकपा (एमाले)का नेता रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरी खोजीको सूचीमा राखेको थियो ।
उपरीक्षक कार्कीले भन्नुभयो, “हाम्रो टोलीले उहाँलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ ।”
रायमाझीलाई काठमाडौं प्रहरी परिसर ल्याइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोले रायमाझीलाई काठमाडौंको बुढानिलकण्ठबाट नियन्त्रणमा लिएपछि अहिले प्रहरी परिसर ल्याएको हो ।
उहाँविरुद्ध जिल्ला अदालत काठमाडौँले यही वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएदेखि नै रायमाझी फरार रहेको प्रहरीले जनाएको छ । सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो ।
यस प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जनामाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ