Prakash Adhikari April 10, 2018

काठमाडौं,२७ चैत्र । उपराष्ट्रपति नन्दकिशोर पुनले पानीको सुरक्षालाई ध्यान दिन आग्रह गर्नुभएको छ ।

राजधानीमा आज “ पानी, वातावरण र जलवायु परिवर्तन :ज्ञानको आदानप्रदान र साझेदारी” विषयक तीन दिवसीय अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन भाषणमा उहाँले सो कुरा बताउनुभएको हो ।

सम्बोधनका क्रममा उपराष्ट्रपति पुनले बढ्दो जनसंख्या र शहरीकरणको चापले पानीको स्रोत, वनजंगल र जमीनमा मानवीय चाप पर्दै गएको उल्लेख गर्दै जीवनको आधारको रुपमा रहेका पानीको आपूर्ति अत्यन्त संवेदनशील भएको बताउनुभयो ।

उहाँले घरायसी उपयोग, कृषि र औद्योगिक प्रयोजनमा पानीको माग बढ्दै गएको बताउदै भन्नुभयो,“ पानी अमूल्य छ, यसको सुरक्षामा ध्यानदिन जरुरी छ ।”

सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले संयुक्त राष्ट्र संघले दिगो विकासका लागि निर्धारण गरेका लक्ष्यहरुलाई राष्ट्रिय योजनामा ढालेर कार्यान्वयनमा ल्याउन पर्नेमा पनि जोड दिनुभयो ।

उपराष्ट्रपति पुनले जलवायु परिवर्तनसम्बन्धी पेरिस संझौता,दिगो विकासका लक्ष्य र विपत् जोखिम सम्बन्धी सेडाई फ्रेम वर्कका प्रावधानहरु वातावरण विनासको असरबाट जोगाउनका साथै मुलुकको आर्थिक सामाजिक विकसाकालागि अत्यन्त महत्वपूर्ण भएको पनि उल्लेख गर्नुभयो ।
उपराष्ट्रपति पुनले जल,वायु र विषाक्त फोहरबाट भैरहेको प्रदूषणलाई रोक्न आवश्यक भएको पनि बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनको असरबाट नेपाल अत्यन्त प्रभावित हुने मुलुकमा परेको उल्लेख गर्दै नेपालमा सम्पन्न अन्तराष्ट्रिय सम्मेलनले विश्वलाई नै नयाँ सन्देश दिन सक्ने विश्वास पनि गर्नुभयो ।

उहाँले जलवायु परिवर्तनको विषय विश्व मानव समुदायको सरोकारको विषय भएकोले विकसित मुलकले पनि जिम्मेवारी पूरा गर्नुपर्ने र हामीले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनु भयो ।

उपराष्ट्रपति पुनले विश्वव्यापी सोच राखी स्थानीय स्तरमा गर्न सकिने काम गर्दा समस्याको समाधानमा सहयोग पुग्ने पनि बताउनुभयो ।
कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले पढाउनुभएको शुभकामना सन्देश वाचन गरिएको थियो ।

सम्मेलनको उद्घाटन समारोहलाई विशेष वक्ताको रुपमा संबोधन गर्दै दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डा. हान सुड. सूले जीवनको प्रमुख आधारको रुपमा रहेको पानीको व्यवस्थापन अत्यन्तै चुनौतिपूर्ण रहेको बताउनुभयो ।

उहाँले मानव सभ्यताको शुरुआत नदी किनाराहरुबाट भएको उल्लेख गर्दै खाद्यान्न, सिंचाई र यातायातमा पानीको बहुआयामीक उपयोगको बारेमा पनि प्रकाश पार्नुभयो ।

उहाँले बढ्दो जनसंख्या, तीव्र शहरीकरण, बढ्दो औद्योगिकरणका कारण पानीको अभाव बढ्दै जानुको साथै पानीको प्रदूषण बढेको र व्यवस्थापनमा उचित ध्यान नपुगेकोले विश्वभर प्राकृतिक विपत्तिहरुको निरन्तर सामना गर्नुपरेको पनि उल्लेख गर्नुभयो ।

संयुक्त राष्ट्र संघको हाई लेभल एक्सपर्ट एण्ड लिडर इन वाटर एण्ड डिजआस्टरका चेयरमेन रहनुभएका डा.सूले पानीको समुचित व्यवस्थापन गर्न नजान्दा कतै अभाव,कतै बाढी पहिरो,सुनामी र आँधीका समस्या उत्पन्न हुने गरेको बताउनु भयो ।

उहाँले जलवायु परिवर्तनका असरहरु कम गर्न वातावरण संरक्षणमा ध्यान दिनुका साथै अनुकूलनका कार्यक्रमहरु पनि साथै सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव कृष्णराज बीसीले खानेपानी र सरसफाईको महत्वमाथि प्रकाश पार्नुभएको थियो भने वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले वातावरण विनास र प्रदूषण ल्याएको जलवायु परिवर्तनका नकारात्मक असरहरुबाट बच्नका लागि गर्नुपर्ने कामहरुका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा सम्मेलन आयोजक समितिका अध्यक्ष तथा पब्लिक हेल्थ इञ्जिनियर्स एशोसियसनका अध्यक्ष ई. रामदीप साहले बढ्दो जनसंख्या र शहरीकरणको चापले पानी,वनजंगल र भूमिमाथि चाप पर्दै गएको उल्लेख गर्नुभयो । उहाँले सीमित स्रोतको किफायती उपयोग गरी विश्वलाई सुरक्षित गर्दै सबैलाई स्वच्छ पानी उपलब्ध गराउन पानीको समुचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले पानीको पुनर्प्रयोगमा विशेष ध्यान दिन पनि आग्रह गर्नुभयो ।

उद्घाटन समारोहमा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो भने नेपाल इञ्जिनियर्स एशोसिएसनका अध्यक्ष ई. हरेराम श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

आयोजक समिति तथा सोफेनका अध्यक्ष रामदीप शाहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सम्मेलनको प्राविधिक समितिका प्रमुख डा.चन्द्रिका भट्टले प्राविधिक पक्षमा प्रकाश पार्नुभएको थियो ।

तीन दिवसीय सो अन्तराष्ट्रिय सम्मेलनमा १८ वटा कि नोट पेपर प्रस्तुत हुनेछन भने १ सय १६ वटा कार्यपत्र प्रस्तुत गरी छलफल गरेर परिमार्जन गरिनेछ ।

कार्यक्रममा १५० जना जति विदेशी र ३५० जना जति नेपाली सहभागी रहेका छन् ।

कार्यक्रमको अन्तिम दिन काठमाडौं घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

Share Now

Leave a comment.