Prakash Adhikari May 17, 2023

बैंकक(थाइलैण्ड), ३ जेठ । “आज नयाँ दिन हो, अनि यो उज्यालो र आशाले भरिपूर्ण छ”, ४२ वर्षीय पिटा लिम्जार्‍याटले आफू थाईल्यान्डको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको केही घण्टापछि संवाददाताहरूसँग भन्नुभएको थियो।

पिटाको मूभ फर्वर्ड पार्टीले थाईल्यान्डमा भर्खरै सम्पन्न निर्वाचनमा आश्चर्यजनक रूपमा भव्य जित हात पारेको छ। झन्डै एक दशक सेनाबाट समर्थनप्राप्त शासनलाई मतदाताहरूले अस्वीकार गरेका छन् र अन्य कुनै दललाई भन्दा मूभ फर्वर्ड पार्टीलाई धेरै मत र सीट दिएका छन्।

कम्तीमा एक दर्जन पटक कू भएको देशमा यो सानोतिनो उपलब्धि होइन।

“एउटा युगको भावना परिवर्तन भएको छ। अनि यो उपयुक्त समय थियो”, ब्याङ्ककस्थित पार्टीको मुख्यालयमा बोल्दै पिटाले भन्नुभयो। थाई राजधानीमा उहाँको पार्टीले ३३ मध्ये ३२ सीट जितेको छ।

सरकार बनाउन अझै निकै समय लाग्छ। देशको शासनसत्तामा सेनाको हालीमुहाली भएकाले उक्त प्रक्रियामा बाधा आउन पनि सक्छ।

तर निर्वाचन परिणामाले पिटा र उहाँको पार्टीमा सबैको ध्यानाकृ्ष्ट भएको छ। परिवर्तनको भोक भएका र वर्षौँको सैन्य शासनबाट भ्रममुक्त भएका युवा मतदाताहरूले उक्त पार्टीलाई रुचाएका छन्।

सन् २०१९ मा फ्यूचर फर्वर्ड पार्टीको सदस्यका रूपमा संसद्‌मा निर्वाचित भएसँगै पिटाले आफ्नो राजनीतिक जीवनयात्रा सुरु गर्नुभएको थियो।

उक्त पार्टीको स्थापना थाई सेनाको कट्टर आलोचक मानिने अर्बपति ट्यानाटोर्न जुङ्‌रुङ्‌किटले गर्नुभएको थियो। सन् २०१९ को चुनावमै राम्रो परिणाम हात पारेको उक्त पार्टीले थाईल्यान्डको राजनीतिमा उथलपुथल गरिदिएको थियो।

तर एक वर्षमै विभिन्न विवादका कारण फ्यूचर फर्वर्ड पार्टी भङ्ग भयो र ट्यानाटोर्न जुङ्‌रुङ्‌किटलाई सांसद बन्न अयोग्य घोषणा गरियो। त्यसलगत्तै उक्त दलको उत्तराधिकारीका रूपमा मूभ फर्वर्ड पार्टी स्थापना भयो र पिटाले त्यसको नेतृत्व गर्नुभयो।

प्रतिबन्ध लागेपछि त्यो वर्ष संविधान संशोधन हुनुपर्ने, नयाँ निर्वाचन हुनुपर्ने र अधिकारकर्मी र राज्यका आलोचकहरूमाथिको दुर्व्यवहार अन्त्य हुनुपर्ने मागसहित थाईल्यान्डका सडकहरूमा हजारौँ युवाहरू ओर्लिए।

परिवर्तनको आकाङ्क्षा र त्यस्ता थुप्रै मुद्दा अघि सारेर मूभ फर्वर्ड पार्टी चुनावमा गयो र प्रदर्शन गर्ने अगुवाहरूले सन् २०२० मा उम्मेदवारी दिए।

पिटाको राजनीतिक उदय

विपक्षी सांसदका रूपमा आलोचनात्मक भाषण गर्ने भएकाले एकताका पिटालाई थाई संसद्‌का ूउदीयमान ताराू भनिन्थ्यो। उहाँको पार्टीले राजनीतिमा सेनाको प्रभाव भङ्ग गर्ने र राजतन्त्रसँग सम्बन्धित कानुनहरू सुधार गर्ने वाचा गरेकाले पिटा लोकप्रिय बन्न थाल्नुभयो।

सोमवार पत्रकार सम्मेलनमा बोल्दै पिटाले राजद्रोहसम्बन्धी कानुनमा सुधार गर्नुपर्ने आफ्नो धारणा दोहोर्‍याउनुभयो।

“हामी त्यसलाई यो संसद्‌बाट पारित गर्छौँ। राजतन्त्र र सर्वसाधारण जनताबीच कस्तो सम्बन्ध हुनुपर्छ भन्नेबारे यसलाई परिपक्व, पारदर्शी ढङ्गबाट संसद्‌मा बृहत् छलफल गर्छौँ “, उहाँले भन्नुभयो।

पिटाले ट्वीट आफू देशको ३०औँ प्रधानमन्त्री बन्न ूतयारू रहेको बताउनुभएको छ।

“हाम्रा सपना र आशा समान छन्। अनि सँगै मिलेर हाम्रो प्यारो थाईल्यान्ड राम्रो बन्न सक्छ र आजैदेखि काम गरे परिवर्तन सम्भव हुने हामी विश्वास गर्छौँ” , पिटाले लेख्नुभएको छ।

पिटाको जन्म राजनीतिक सम्पर्क भएको एउटा धनी परिवारमा भएको हो। उहाँका बुवा कृषि मन्त्रालयमा सल्लाहकार हुनुहुन्थ्यो। उहाँका काका अपदस्थ पूर्वप्रधानमन्त्री टाक्सिन सिनावात्राका सहयोगी हुनुहुन्थ्यो।

न्यूजील्यान्डको विद्यालयमा पढ्दै गर्दा राजनीतिमा आफ्नो रुचि जागेको उहाँले बताउनुभएको छ।

छोरी पिपिमसँग पिटा

छोरी पिपिमसँग पिटा

“मलाई न्यूजील्यान्डमा कहाँ हो कहाँ लगियो अनि त्यति बेला त्यहाँ तीनवटा टीभी च्यानल थिए”, गत फेब्रुअरी महिनामा उहाँले थाई यूट्यूब कार्यक्रम ‘एअम आवर’ लाई बताउनुभयो, “कि त तपाईँले अस्ट्रेलियाली टेलिशृङ्खला हेर्नुपर्थ्यो कि त संसद्‌मा भएका बहसहरू।”

पिटाले ब्याङ्ककस्थित ट्यामसाट विश्वविद्यालयबाट स्नातक गर्नुभयो । स्नातकोत्तर तहको पढाइ हार्वर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा गर्नुभयो। त्यसबाहेक उनले एमआईटीबाट एबीए पनि गर्नुभयो।

ुआफ्नो व्यावसायिक जीवनको सुरुमा उहाँले व्यापार गर्नुभयो। पिटाले आफ्ना दिवङ्गत बुवाले सञ्चालन गरेको धानको चोकरबाट तेल निकाल्ने कम्पनी सम्हाल्नुभयो। त्यसपछि उनले ग्र्याब भन्ने यातायात सेवा प्रदान गर्ने कम्पनीको कार्यकारी निर्देशकका रूपमा पनि काम गर्नुभयो।

पिटाले थाईल्यान्डकै अभिनेत्री तथा मोडल चुटिमा टिप्नाटसँग बिहे गर्नुभययो। तर सन् २०१९ मा सम्बन्धविच्छेद भयो।

अहिले पिटा सातवर्षे छोरी पिपिमलाई हुर्काउँदै हुनुहुन्छ। मूभ फर्वर्ड पार्टीको र्‍यालीमा उहाँ छोरीलाई पनि लिएर जाने गर्नुहुन्छ।

Share Now

Leave a comment.