काठमाडौं, ६ जेठ । बुद्ध एअरले आफ्नो नाइन एन एजेएल संकेत भएको उडान नं ५०२ को जहाजको प्राविधिक जाँच भैरहेको जानकारी दिएको छ ।
आज विहान जनकपुरबाट काठमाडौं आउन तयार रहेको सो जहाजमा यात्रुले मुसा देखेको रिर्पोटिङपछि तत्कालै जहाजका उड्डयन टिमलाई खबर गरेका थिए । यात्रुहरुको सुरक्षालाई ध्यानमा राखी सो जहाजको उडान स्थगित गरेर त्यसको बदलामा यात्रुलाई लिनका लागि काठमाडौंबाट जनकपुरमा अर्को जहाज पठाइएको थियो।
आज विहान जनकपुरबाट काठमाडौं उडान संख्या 502, जहाज 9N-AJL मा यात्रुले मुसा देखेको रिर्पोटिङपछि तत्कालै यात्रुलाई लिनका लागि अर्को जहाज काठमाडौंबाट पठाइएको छ । त्यस जहाज 9N-AJL लाई हाम्रा टेक्निकल टिमले चेकजाँच गरिरहेका छन् ।
— Buddha Air (@AirBuddha) May 20, 2023
बिहान ९ः१५ बजे जनकपुरबाट काठमाडौँ उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखिपछि उडान रोकेर जहाजको प्राविधिक चेकजाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभएको छ ।
उक्त जहाज काठमाडौँबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो । जहाजमा ४९ यात्रु रहेका थिए । प्रवक्ता निरौलाले पनि पुष्टि गर्नुभयो । उहाँका अनुसार जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौँबाट इन्जिनियरको टोलीले जनकपुर पुगेको छ र जहाजको सबै प्राविधिक परीक्षण गरेपछि मात्रै उडान गरिने छ ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार उक्त जहाज अहिले इन्जिनियरले चेकजाँच गरिरहेका छन् । प्राविधिक परीक्षणपछि जहाज सञ्चालनमा आउनेछ ।
उहाँले सो जहाजका यात्रुलाई अर्को जहाजमार्फत काठमाडौँ ल्याइसकिएको बताउनुभयो ।


















