Prakash Adhikari May 26, 2023

नयाँदिल्ली (भारत), १२ जेठ । टाउकाको मूल्य भारु ३० लाख तोकिएका भारतको नक्सलवादी संगठनका नेता दिनेश गोप पक्राउ परेका छन् ।

भारतीय सञ्चारमाध्यमहरले भारतको झारखण्डमा सक्रिय प्रतिबन्धित नक्सलवादी संगठन पिपुल्स लिबरेसन फ्रन्ट अफ इन्डिया (पीएलएफआई) का प्रमुख दिनेश गोपलाई पक्राउ गरी नेपालले गोप्य रुपमा भारत समक्ष सुपुर्दगी गरेको जानकारी दिएका छन्।

समाचारमा जनाइए अनुसार नेपाल प्रहरीको विशेष ब्युरोले विराटनगर आसपासबाट पक्राउ गरी गोपलाई गत जेठ ७ गते गोप्य रुपमा दिल्ली प्रहरीलाई बुझाएको थियो।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल जेठ १७ गतेबाट चार दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ।

विगत डेढ दशकदेखि भूमिगत गोप खुन्ती जिल्ला झारखण्ड निवासी वरिष्ठ नक्सालवादी नेता हुनुहुन्छ।

गोप १३ महिनादेखि विराटनगरमा पञ्जाबीको रुपमा ढाबा चलाएर बसेको पाइएको नेपाल प्रहरीको उच्च स्रोतले बताएको छ।

उहाँलाई भारत सरकारले ‘मोस्ट वान्टेड’ सूचीमा राखेको थियो। सरकारले उनको टाउकाको मूल्य ३० लाख भारु तोकेको थियो।

भारत सरकारले उनीविरुद्ध आपराधिक कार्यमा संलग्न भएको आरोपमा एक सय भन्दाबढी मुद्दा दर्ता गरिसकेको टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाएको छ।

भारतीय सुरक्षाकर्मीले गोपलाई विगत १५ वर्षदेखि खोजिरहेको थियो। गोपलाई पक्राउपछि दिल्लीको ‘स्पेसल ब्युरो’लाई हस्तान्तरण गरिएको नेपाल प्रहरीको उच्च स्रोत बताएको छ।

Share Now

Leave a comment.