नयाँदिल्ली(भारत), १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अत्यन्त उपलब्धिमूलक रहेको नेपाल र भारतका प्रधानमन्त्रीहरुले बताउनुभएको छ ।
आज भारतीय प्रधानमन्त्रीसंगको वार्ता तथा नेपाल र भारतका प्रधानमन्त्रीले नेतृत्व गर्नुभएको उच्चस्तरीय प्रतिनिधि मण्डलको वार्तापछि भएका द्धिपक्षीय सहमति लगत्तै आयोजित पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै दुवै प्रधानमन्त्रीहरुले भ्रमण अत्यन्त सफल रहेको दावी गर्नुभएको हो ।
यद्यपि द्धिपक्षीय वार्तामा भारतीय सेनाको अग्निपथ भर्ना योजना र नेपाल भारतका प्रबुद्ध समूहले तयार गरेको प्रतिवेदनका विषयमा कुनै कुरा नभएको भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले बताउनुभएको थियो ।
भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार:प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताउनुभएको छ ।
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीका रूपमा आफ्नो यो चौथो भारत भ्रमण रहेको स्मरण गर्दै उहाँले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि सामाजिक, सांस्कृतिकको बलियो जगमा बहुआयामिक रहँदै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको बीचको सम्बन्ध र सहयोगलाई अझ बलियो बनाउनका लागि लिइएको छिमेकी पहिलो नीतिको म प्रशंसा गर्न चाहन्छु ।”
प्रधानमन्त्री दाहालले भेटवार्तामा दुई देशबीच व्यापार, पारवाहन, सम्पर्क सञ्जाल, लगानी, जलविद्युत्, विद्युत् व्यापार, सिँचाइ, कृषि, रेल्वे, पुल, प्रसारण लाइन, पेट्रोलियम पाइपलाइन विस्तार, एकीकृत भन्सार जाँचचौकीका साथै अतिरिक्त हवाई प्रवेश विन्दुलगायत बहुआयामिक क्षेत्रलाई अझ बलियो बनाउने विषयमा छलफल भएको बताउनुभयो ।
उहाँले भेटवार्तामा नेपालमा निर्माण भइरहेका जलविद्युत् परियोजना तथा अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा पनि छलफल भएको जानकारी दिनुभयो । “नेपालको जलविद्युत् क्षेत्र नेपालको आर्थिक उन्नति र ऊर्जा सुरक्षाको आधार मात्रै नभई यो वातावरण संक्षणका लागि पनि महत्त्वपूर्ण छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।
भारतले हाल नेपालबाट चार सय ५० मेगावाट विद्युत् आयात गरिरहेकामा प्रशंसा गर्दै उहाँले आगामी दिनमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित चार सय ५६ मेगावाट विद्युत्सहित थप एक हजार दुई सय मेगावाट विद्युत् आयात गर्ने प्रधानमन्त्री मोदीको सकारात्मक प्रतिक्रियाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रधानमन्त्री दाहालले दीर्घकालीन विद्युत् व्यापार सम्झौताअन्तर्गत आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालबाट आयात गर्ने सहमति भएको बताउनुभयो । यो सन् २०२२ अप्रिलमा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिका आधारमा सम्भव भएको उहाँको भनाइ छ ।
उहाँले नेपालबाट भारत हुँदै बङ्गलादेशसम्म दैनिक ५० मेगावाट विद्यत् पु¥याउनका लागि गरेको सहयोगको प्रशंसासमेत गर्नुभयो । उहाँले विद्युत् व्यापारका सन्दर्भमा नेपाल–भारत–बङ्गलादेशबीच छिट्टै त्रिपक्षीय सम्झौता हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना र चार सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणको सम्झौताले विद्युत् विकास र अन्तरदेशीय प्रसारण लाइनको विकासमा नयाँ सुरुआत भएको बताउनुभयो । उहाँले दुई प्रधानमन्त्रीबीच तीन महिनाभित्र बहुउद्देश्यीय पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने र डिपिआर स्वीकृत भएको एक वर्षभित्र कार्यान्वयनको ढाँचा तयार गर्ने सहमति भएको जानकारी दिनुभयो ।
उहाँले टनकपुर नहरबाट नेपालतर्फको सिँचाइ, मनसुन सुरु हुनुअघि नै नेपालको तराई क्षेत्रमा हुनसक्ने बाढीको जोखिम न्यूनीकरणका लागि द्विपक्षीय संयन्त्रले काम गर्ने विषयमा छलफल भएको जानकारी गराउनुभयो । उहाँले भारतसँगको व्यापार घाटा न्यूनीकरणका लागि निर्यातमा सहजीकरण गर्न आग्रह गरेको बताउनुभयो । उहाँले नेपालको जुटजन्य वस्तुको सामग्रीमा एन्टिडम्पिङ हटाउन आग्रह गरेको बताउनुभयो ।
व्यापार सहजीकरणका लागि एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसमा सहजीकरणका लागि भारतसँग आग्रह गर्नुभयो । उहाँले व्यापार र पारवाहनसम्बन्धी सम्झौता पुनरावलोकन गरिएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौताले दुवै देशका विद्यार्थी, व्यापारी, पर्यटक र तीर्थालुका लागि ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मोतिहारी–अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने, भारतको सिलुगुडीदेखि झापाको चारआलीसम्म नयाँ पेट्रोलियम पाइपलाइन निर्माण तथा भण्डारण गृह निर्माण गर्ने विषयमा सम्झौता भएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री दाहालले अतिरिक्त हवाई प्रवेश विन्दुका लागि आफूले छलफल गरेको र सोसम्बन्धमा भारत सकारात्मक पाएको बताउनुभयो । “भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु । यसबाट सुरक्षित र पूर्णक्षमतामा हवाई उडान हुनेछ”, उहाँले भन्नुभयो । उहाँले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडानको अपेक्षा गरेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले दुई देशबीचको सीमाका विषयमा आफूहरूबीच द्विपक्षीय कूटनीतिक संयन्त्रका माध्यमबाट समाधानका लागि पहल गर्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले नेपालमा संयुक्त साझेदारीमा रासायनिक मलको कारखाना स्थापना गर्ने विषयमा पनि छलफल भएको बताउनुभयो ।
भारत नेपालको नजिकको विकास र समृद्धिको साझेदार भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकाले भारतको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।
सो अवसर प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको सौहार्दपूर्ण भ्रमणका लागि निम्तो दिँदै आफू स्वागत गर्न आतुर रहेको बताउनुभयो ।
यसअघि नेपाल र भारतबीच विभिन्न परियोजना निर्माण गर्ने सम्झौता भएको छ । प्रधानमन्त्री दाहालले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।
भारत–नेपाल सम्बन्ध हिमाल जतिकै उचा : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताउनुभएको छ ।
भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तापछि आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले भारत–नेपाल सम्बन्धलाई हिमाल जतिकै उचाइ प्रदान गर्नका लागि काम गरिरहने उल्लेख गर्नुभयो
“यही भावनाअनुसार सबै मुद्दा, चाहे सीमाका हुन्, या अन्य कुनै विषय सबै समाधान गर्छौं”, उहाँले भन्नुभयो, “यो सुन्दर सम्बन्धलाई थप प्रगाढ बनाउन प्रधानमन्त्री दाहाल र मैले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्र गतिमा अगाडि बढाउन चाहेका छौँ ।”
नौ वर्षअघि सन् २०१४ मा आफूले भारतीय प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको तीन महिनाभित्र नेपालको पहिलो भ्रमण गरेको स्मरण गर्दै उहाँले नौ वर्षमा दुवै देशबीच अनेकौँ क्षेत्रमा कयाँै उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो ।
“वीरगञ्जमा नेपालको पहिलो एकीकृत जाँचचौकी (आइसिपी) बनेको छ, भारत–नेपालका बीचमा पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण भएको छ । ‘ब्रोडगेज’ रेललाइन स्थापित भएको छ, सीमा क्षेत्रमा नयाँ प्रसारण लाइन निर्माण भएको छ । नेपालबाट चार सय ५० मेगावाट बिजुली आयात गरिरहेका छौँ”, भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो ।
उहाँले भारत–नेपाल ‘पार्टनरसीप’ लाई ‘सुपरहिट’ बनाउन दुवै देशका प्रधानमन्त्रीले महत्त्वपूर्ण निर्णय लिएको उल्लेख गर्नुभयो । “आज पारवहन सम्झौता सम्पन्न भएको छ । यसमा नेपालीका लागि नयाँ रेलमार्गका साथ भारतको जलमार्गको सुविधा प्राप्त हुनेछ । नयाँ रेल लिङ्क स्थापना गरेर भौतिकरूपमा सम्पर्क सञ्जाल जोडिएको छ”, प्रधानमन्त्री मोदीले भन्नुभयो ।
भारतीय रेल संस्थानमा नेपालका रेलकर्मीलाई प्रशिक्षण प्रदान गर्ने निर्णय लिएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले अन्तरदेशीय डिजिटल भुक्तानीसम्बन्धी सम्झौतासँगै हजारौँ विद्यार्थी, लाखाँै पर्यटक अथवा तीर्थयात्रीका साथ स्वास्थ्योपचारका लागि भारत आउने नेपालीले लाभ लिने उल्लेख गर्नुभयो । उहाँले थप तीनवटा एकीकृत जाँचचौकी निर्माणबाट आर्थिक कनेक्टिभिटी सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
“पछिल्लो वर्ष हामीले ऊर्जा क्षेत्रमा सहयोगका लागि एक ‘ल्याण्डमार्क भिजन’ दस्तावेज बनाएका छौँ । यसलाई अगाडि बढाएर नेपाल र भारतबीच दीर्घकालीन ऊर्जा व्यापार सम्झौता (लङट्रम पावर ट्रेड एग्रिमेन्ट) सम्पन्न भएको छ”, उहाँले भन्नुभयो । यसअन्तर्गत आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखेको प्रधानमन्त्री मोदीले घोषणा गर्नुभयो । फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको सम्झौताबाट विद्युत् क्षेत्रमा सहयोगका लागि बल मिलेको उहाँको भनाइ थियो ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाले सकारात्मक प्रभाव परेको जनाउँदै उहाँले उक्त पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म लैजान निर्णय गरिएको बताउनुभयो । “यसका अलावा सिलीगुडीबाट पूर्वी झापासम्म एक अर्को पेट्रोलियम पाइपलाइन बनाउन लागेका छौँ”, उहाँले भन्नुभयो, “यसका साथै चितवन र झापामा नयाँ भण्डारण ट्याङ्की निर्माण गर्न लागेका छौँ ।” नेपालमा एक रासायनिक मल कारखाना स्थापना गर्न दुई देशबीच आपसी सहयोगका लागि सहमति भएको उहाँले जानकारी दिनुभयो ।


















