Prakash Adhikari June 7, 2023

खेर्सन, युक्रेन, २४ जेठ (रासस /एएफपी/ बीबीसी) । रूसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किँदा आसपासका दर्जनौं गाउँ र शहरका वरपरका केही भाग डुबानमा परेपछि बुधबार हजारौं मानिस आफ्नो घर छोडेर भागेका छन् ।

काखोभका बाँध भत्किएपछि युक्रेनी प्रहरी र दक्षिणी शहर खेर्सनमा रहेका सैनिकहरूले जलमग्न क्षेत्रबाट मानिसहरूलाई डुङ्गामा राखेर बाहिर निकालिरहेका थिए।

उद्धारका बाबजुद पनि रुसी सेनाले आवासीय क्षेत्रमा गोलाबारी जारी राखेको अधिकारीले बताएका छन् ।

बाँध विष्फोटपछि कैयौँ नगरहरू डुबानमा परिसकेका छन् भने तल्लो तटीय क्षेत्रका मानिसहरू बस र रेल चढेर सुरक्षित ठाउँमा जान बाध्य छन्।

Ukraine Dam Destroyed in the Dead of Night Upstages Offensive in War With Russia - Bloomberg

झन्डै ४० हजार मानिसलाई उद्धार गर्नुपर्ने अवस्था रहेको एक सरकारी अधिकारीले युक्रेनी टेलिभिजनलाई बताउनुभएको छ।

त्यसमा ड्नीप्रोको पश्चिममा अवस्थित युक्रेनी भूभागबाट १७ हजार र पूर्वमा अवस्थित रुसी नियन्त्रणका क्षेत्रबाट २५ हजार मानिसको उद्धार गर्नुपर्ने अवस्था छ।

युक्रेनी आन्तरिक मामिला मन्त्रीले झन्डै एक हजार मानिसलाई उद्धार गरिएको र विभिन्न २४ वटा बस्तीमा बाढी पसेको बताउनुभएको छ।

युक्रेन र रसियाले मङ्गलबार बिहानै बाँध फुट्नुमा दोषारोपण गरेका छन्, जसका कारण टर्कीका राष्ट्रपतिले दुवै देशका नेतालाई उक्त बाँधको अन्तर्राष्ट्रिय छानबिनको प्रस्ताव गरेका छन् ।

यस विनाशले वातावरणीय विपत्ति र आणविक सुरक्षा जोखिमको डर पनि बढाएको छ किनकि यसले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टको लागि चिसो पानी प्रदान गर्दछ ।

कखोभ्का बाँधको महत्व

युक्रेन

कखोभ्का बाँध ड्नीप्रो नदीमा छ जहाँ जलविद्युत् ऊर्जा प्लान्ट (एचपीपी) पर्छ।

युद्धको सुरुमा खेअर्सन आसपासको क्षेत्र कब्जा गर्दा रुसी फौजले त्यसलाई समेत नियन्त्रण गरेका थिए।

तस्बिरहरूमा देखिएका प्रमाणका आधारमा बाँधको भित्तामा ठूलो अवरोध देखिन्छ।

बाँध रहेकोभन्दा ५० किलोमिटरभन्दा कम दूरीमा तल्लो तटीय क्षेत्रमा खेअर्सन सहर पर्छ।

अधिकारीहरूका अनुसार बाँध भत्किएको ठाउँबाट निस्कने पानीको भेलले कम्तीमा १६ हजार मानिसलाई जोखिममा पारेको छ।

धेरै मानिसलाई अन्यत्र सारिएको छ।

रुस नियन्त्रित युक्रेनी सहर नोभा कखोभ्कामा अहिले पानीको भेल पसेको रुसको सरकार नियन्त्रित समाचार संस्था तासले जनाएको छ।

बाँधको माथिल्लो भागमा कखाभ्का जलाशय छ जसले जापोरिज्या परमाणु ऊर्जा केन्द्र (जुन अहिले रुसी नियन्त्रणमा छ) लाई चिसो पार्न पानी पठाउँछ।

अहिले चिन्ता भनेको जीर्ण बाँधमार्फत् जलाशयबाट धेरै पानी निस्कँदा उक्त केन्द्र चिसो पार्न चाहिने पानी नबच्ने भन्ने हो।

तर अन्तर्राष्ट्रिय आणविक ऊर्जा केन्द्रले त्यहाँको अवस्था नियन्त्रणमा नै रहेको र तत्कालै ‘परमाणु सुरक्षा जोखिम’ नरहेको जनाएको छ।

जापोरिज्या परमाणु ऊर्जा केन्द्रलाई रुसी फौजले कब्जा गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको परमाणु निगरानीकर्ता निकाय आईएईएले अवस्थाको निगरानी गरिरहेको जनाउँदै त्यहाँ तत्काल परमाणु सुरक्षाको जोखिम नरहेको जनाएको छ।

कखोभ्का जलाशयले नदीमार्फत् क्राइमियामा मानव उपयोगितामा प्रयोग हुने पानी समेत उपलब्ध गराउँछ जुन समेत अब सुक्न सक्छ।

युक्रेनको सरकारले रुसी फौजलाई बाँध ध्वस्त पारेको आरोप लगाएको छ।

यद्यपि रुसले नियुक्त गरेका एक स्थानीय अधिकारीले बाँधमा ऊर्जा केन्द्रको माथिल्लो आधा भाग मात्र क्षति पुगेको जनाएका छन्। उनले त्यो बमबारीका कारण भएको बताएका छन्।

युक्रेनसँग कतिवटा बाँध छन् ?

युक्रेन

सोभियत सङ्घको समयमा इन्जिनियरहरूले ड्निप्रो नदीको युक्रेनतर्फ एकपछि अर्को गर्दै छ वटा बाँधहरू निर्माण गरेका थिए।

जुन उसको बेलारुसदेखिको उसको सीमादेखि दक्षिणतर्फ समुद्रसम्ममा १ हजार ९५ किलोमिटरमा फैलिएको छ।

जुन लहरमा कखोभ्का अन्तिम बाँध हो।

बाँधहरूका बिचमा उनीहरूले नदिलाई कैयौँ जलाशयको स्वरूप दिँदै त्यहाँबाट घर तथा उद्योग र खेतहरूमा सिँचाइका लागि पानी पुर्‍याउने व्यवस्था गरेका छन्।

ड्निप्रोका प्रत्येक जसो बाँधमा जलविद्युत् केन्द्रहरू छन् जसले बाँधका भित्तामा माथिल्लो भूभागबाट टर्बाइनहरू हुँदै जलप्रवाह गरिँदा ऊर्जा उत्पादन गर्छन्।

देशभरि अन्य नदीहरूमा समेत जलविद्युत् उत्पादन गर्ने साना बाँध तथा जलाशयहरू छन्।

 

यसअघि किन युक्रेनका बाँधमा हमलाहरू गरिए ?

सन् २०२२ को सेप्टेम्बरमा एउटा क्षेप्यास्त्र हमलाले दक्षिणी युक्रेनमा क्रिभइ री सहर नजिकै पर्ने कराचुनिभ्स्के जलाशयको बाँध ध्वस्त पारेको थियो।

त्यसले व्यापक रूपमा बाढी निम्त्याएको थियो र कैयौँ मानिसलाई अन्यत्र जान भनिएको थियो।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले हमलाको दोष रुसलाई लगाउँदै त्यो युक्रेनी फौजहरूले सञ्चालन गरेको प्रत्याक्रमणको मस्कोले बदला लिएको बताएका छन्।

राष्ट्रपति जेलेन्स्कीले नागरिक निशानामा हमला गरेको भन्दै रुसलाई आतङ्कवादी राज्य भन्नुभयो।

सन् २०२२ को अक्टोबरमा जापोरिज्याका जलविद्युत् बाँधमा क्षेप्यास्त्र हमला भएका थिए र ती सबैप्रति रुस जिम्मेवार भएको युक्रेनले आरोप लगाएको थियो।

सन् २०२२ को डिसेम्बरमा र सन् २०२३ को फेब्रुअरीमा जापोरिज्या नजिकैको ड्निप्रो जलविद्युत् केन्द्रमा क्षेप्यास्त्र हमलाहरू भएका थिए। जसका लागि समेत युक्रेनले रुसलाई आरोप लगायो।

“यो युक्रेनको ऊर्जा क्षमतालाई नष्ट गर्ने रुसी रणनीति अन्तर्गतको पाटो हो” , किङ्ग्स कलेज लन्डनमा डिफेन्स स्टडिजका अध्ययनकर्ता डा. मार्टिन मिरोनले भन्नुभयो।

यो ६,००० मेगावाटभन्दा धेरै ऊर्जा उत्पादन गर्ने जलविद्युत् केन्द्र हो। यी हमलासँगै झन्डै २,५०० मेगावाट क्षमता गुमेको छ।

सन् २०२३ को मे महिनामा रुसी क्षेप्यास्त्र हमलाले पूर्वी युक्रेनमा डोनेत्स्क नजिकैको कार्लिभ्सकी जलाशय ध्वस्त भएको युक्रेनको सरकारले जनाएको छ।

त्यसले भोच्च नदी आसपासमा पर्ने गाउँहरूमा बाढी निम्तिनुका साथै मानिसहरूलाई घरहरू छाड्न भनिएको थियो।

सोभियत सेनाले सन् १९४१ मा एक बाँध ध्वस्त बनाउँदा हजारौँ नागरिकको मृत्यु भएको थियो ।

विगतमा युक्रेनका बाँधमा भएका क्षतिले दुर्भाग्यपूर्ण अवस्था सिर्जना भएका छन्।

सन् १९४१ को अगस्टमा जर्मनीको सेना अगाडी बढिरहँदा युक्रेनभरि सोभियत सेना पछाडि हटिरहेका थिए।

सोभियत सेनाका कमान्डरहरूले आफ्ना शत्रुहरूलाई ड्निप्रो नदी पार गर्न रोक्नका लागि जापोरिज्याका पुलहरू र बाँध ध्वस्त पार्दै निर्णय गरेका थिए।

जसको चेतावनी नागरिकहरूलाई दिइएको थिएन र इतिहासकारहरूका अनुमानमा त्यसबाट कम्तीमा ३,००० मानिसहरूको मृत्यु भएको थियो।

आफ्नो रक्षाका लागि कसरी युक्रेनले आफ्नो एउटा बाँध नष्ट गर्‍यो ?

सन् २०२२ को फेब्रुअरीमा रुसी फौजहरू अगाडि बढिरहँदा युक्रेनी फौजले इर्पिन बाँध ध्वस्त पारेका थिए।

युक्रेनीहरूले सुरुमा उक्त बाँध ध्वस्त पारेको भन्दै रुसीहरूलाई आरोप लगाए तर अहिले थाहा भएको जानकारी भनेको त्यसलाई युक्रेनीहरूले ध्वस्त पारे भन्ने हो, डा मिरोनले भन्नुभयो।

त्यसले आसपासका क्षेत्रमा बाढी निम्त्यायो र किएभतर्फ बढ्दै गरेका रुसी पैदल फौज बख्तरबन्द गाडीहरूलाई अगाडि जान नमिल्ने बनायो।

के बाँधमा हमला गर्नु युद्ध अपराध हो ?

Key Ukrainian dam blown up, Kyiv blames Russia – POLITICO

बाँधहरू नागरिक पूर्वाधार हुन् र सामान्यतः ती वैध सैन्य निशानामा नपर्ने किङ्ग्स कलेज लन्डनकी डिफेन्स स्टडिज विभागकी प्राध्यापक ट्रासी जर्मन बताउनुहुन्छ ।

“ल मान्नूस् कि कुनै बाँध वरपर युक्रेनी सैन्य इकाई छ”, ट्रासी जर्मन भन्नुहुन्छ, “त्यस्तो अवस्थामा रुसी फौजहरूले त्यसलाई सैन्य निशानाको रूपमा व्यवहार गर्न सक्छन्। तर जहाँसम्म मलाई थाहा छ अवस्था त्यस्तो होइन।”

“बाँधजस्ता नागरिक निशानामा हुने हमला सैन्य आवश्यकताका आधारमा हुनुपर्छ”, इन्टरन्याश्नल बार एशोसिएसनका कार्यकारी निर्देशक डा. मार्क इलिस भन्नुहुन्छ,”तर यदि सैन्य फाइदा कम र नागरिक क्षति दुर्भाग्यपूर्ण हुन्छ भने त्यो अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुन्छ।”

डा. इलिसका अनुसार यस मापदण्डबाट रुसले हमला गरेका कुनै पनि बाँधका घटनाको औचित्य पुष्टि हुँदैन।

तर उहाँले इर्पिनमा युक्रेनी फौजले गराएको क्षतिको औचित्य साबित हुने बताउनुभयो।

“उनीहरूले नागरिकहरूलाई क्षति नपुग्ने सुनिश्चित नगरीकन त्यो गरेनन्”, उहाँ भन्नुहुन्छ, “र उनीहरूले सैन्य आवश्यकताले त्यसो गरे।”

Share Now

Leave a comment.