
काठमाडौँ, २४ चैतः नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ । आज शिक्षकहरु बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै शिक्षकहरु यही चैत २० गतेदेखि आन्दोलित छन् । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले गुणस्तरीय विद्यालय शिक्षाका लागि विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने बताउनभुयो ।
महाङ्सघले आज विज्ञप्ति जारी गरी यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम-गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा संलग्न नहुन सबै शिक्षकहरुलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्केपछि शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा सरकारमाथि विश्वास गरेर शिक्षकहरु शान्तिपूर्ण प्रदर्शनमा आउनुभएको बताउनुभएको थियो ।
“सरकारले आवाज सुन्छ भन्ने उहाँहरुलाई विश्वास छ, हामी कुराकानी पनि गर्छौं, सरकारले उहाँहरुका कुरा सुन्छ, उहाँहरु न सरकार विरोधी न हामी उहाँहरु विरोधी हो”, प्रधानमन्त्री ओलीले भन्नुभन्नुभएको थियो, “सबै हामी एउटै हो, के–कति गर्न सकिन्छ, के–कस्तो गर्नुपर्ने हो भन्ने कुरा परस्परमा बसेर सरसल्लाह र छलफल गरेर टुङ्ग्याउनुपर्छ, सरकारले कुनै पनि नकारात्मक राख्दैन, किन राख्नुपरेको छ ? समस्या टुङ्ग्याएर फर्किनुहुन्छ ।”
आम हडतालको घोषणा
काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गर्नुभएको छ ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गदेखि निरन्तर आन्दोलनमा छन् ।
यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।
नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको विज्ञप्तिमा लेखिएको छ, ‘यो आन्दोलनलाई सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक–कर्मचारी साथीहरुलाई आग्रह गर्दछौं ।’
महासंघले आन्दोलनको अवधिमार उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि आग्रह गरेको छ ।
शिक्षकहरूले माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि एसईई नतिजा प्रकाशन तयारीमा ढिलाइ हुने भएको छ ।