
काठमाडौं, ३१ चैत्र । एरो फर्मास्युटिकल्सले प्राथमिक शेयर(आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रति शेयर अङ्कित मूल्य रु १०० दरका १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो।
सर्वसाधारणमा शेयर निष्कासन गर्नको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो सम्बन्धमा कम्पनी र क्यापिटलबिच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ। यही चैत्र २८ गतेका दिन ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा एरो फर्मास्युटिकल्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष उद्धवप्रसाद मैनाली र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो।
अधिकृत पुँजी रु १ अर्ब र जारी पुँजी रु ७५ करोड रहेको यस फर्मास्यूटिकल्सको कर्पोरेट अफिस काठमाडौं महानगरपालिका वडा नं. ३ वसुन्धरामा रहेको छ भने भक्तपुरको सुडालमा औषधि उत्पादन गर्ने कारखाना रहेको छ ।
यस कम्पनीको संस्थापकमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी तथा खातीप्राप्त व्यक्तित्वहरू रहनुभएको छ । विभिन्न क्षेत्रका लब्धप्रतिष्ठसित व्यक्तिहरूद्वारा प्रवर्द्धित यस फर्मास्यूटिकल्स कम्पनी आर्थिक वर्ष २०७१ । ०७२ मा प्रालिको रुपमा स्थापना भई आर्थिक वर्ष २०८० । ०८१ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भएको हो ।
विगत ५ वर्षदेखि विभिन्न प्रकारका ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, एक्स्टर्नल लिक्विड, ड्राइ सस्पेन्सन र पाउडर औषधीहरू उत्पादन तथा बिक्रीवितरण गर्दै आएको यस कम्पनीका हाल १०७ किसिमका औषधीहरू बजारमा छन् ।
कम्पनीले विशेष रुपमा उच्च रक्तचाप(मधुमेहमा प्रयोग हुने, यान्टिबायोटिक लगायतका गुणस्तरीय औषधीहरूको उत्पादन गर्दछ । कम्पनीले आफ्नो बजार विस्तारको क्रममा यसै आर्थिक वर्षदेखि जनावरमा प्रयोग हुने भेटेरिनरी औषधीहरूको पनि उत्पादन सुरु गरेको छ ।
कम्पनीबाट उत्पादित औषधीले नेपालको बजारमा उल्लेख्य हिस्सा ओगट्न सफल भएको छ भने निकट भविष्यमा अन्य मुलुकमा पनि निर्यात गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार प्रमाणपत्र हासिल गरेको छ । फर्मास्यूटिकल्स कम्पनीहरूमध्ये प्रतिष्ठित कम्पनीको रुपमा स्थापित यस कम्पनीले शेयरको सार्वजनिक निष्कासन पश्चात् उद्योगको क्षमता अभिवृद्धि गरी बजारको माग बमोजिम थप औषधीहरू उत्पादन गर्ने लक्ष्य लिएको छ।