Prakash Adhikari June 27, 2023

बंगलुरु(भारत), १२ आषाढ । आशिष चौधरीको निर्णायक गोलमा पाकिस्तानविरुद्ध जित निकाल्दै नेपालले साफ च्याम्पियनसिपमा सुखद अन्त्य गरेको छ। भारतको बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो।

साफमा नेपालले पाकिस्तानलाई सन् २००८ मा हराएको थियो। नेपालले पाकिस्तानलाई १५ वर्षपछि पराजित गरेको हो। यो जितसँगै नेपालले अंकतालिकामा ३ अंक जोड्दै तेस्रो स्थानमा रहेर साफको यात्राको सुखदः अन्त्य गरेको छ। पाकिस्तानले भने जीत विहीन बन्दै यात्रा टुंग्याएको छ ।

नेपालको जितमा खेलको ८० औं मिनेटमा आशिष चौधरीले गरेको गोल नै निर्णायक बन्यो। आशिषले डि बक्स बाहिरबाट गरेको शसक्त प्रहारलाई पाकिस्तानका गोलरक्षकले रोक्नै कुनै मौका पाएनन्। राष्ट्रिय टोलीमा आशिषको यो डेब्यू गोल हो।

एक खेल अगावै समूह चरणबाट बाहिरिसकेका नेपाल र पाकिस्तान आजको खेलमा प्रतिष्ठाका लागि लडेका थिए।

पहिलो हाफमा पाकिस्तानलाई केही दबाबमा राखेको नेपालले गोल गर्ने सुन्दर मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन।

पाकिस्तानका खेलाडीले विमल घर्तिमगरलाई पेनाल्टी डिबक्स एरिया नजिक फाउल गरेपछि रेफ्रिले नेपाललाई फ्रिकीकको अवसर दिएको थियो।

खेलको १३ औं मिनेटमा विमलको फ्री किक पोष्टको माथिबाट बाहिरिँदा नेपालले अग्रता बनाउने मौका गुमायो।
यसअघि शनिबार भारतसँग भएको खेलमा भने नेपाल २-० ले पराजित भएको थियो। समूह चरणको पहिलो खेलमा कुवेतसँग ३-१ को हार ब्यहोरेको थियो।

 

Share Now

Leave a comment.