काठमाडौं, १२ आषाढ । चिनियाँ खर्बपति ज्याक मा अचानक नेपाल आइपुग्नुभएको छ । बंगलादेश हुँदै नेपालमा आउनु भएका खर्बपति ज्याक माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाश शरण महत र परराष्ट्र मन्त्री नारायणप्रकाश साउदलाई भेट्ने तयारी गरिरहनुभएको छ ।
बंगलादेशको ढाका हुँदै विशेष विमानबाट काठमाडौं अवतरण गर्नुभएका ज्याकमानले प्रधानमन्त्री दाहालसँग भेट्न समय माग्नुभएको छ।
ज्याक माले भेटका लागि समय मागेपछि प्रधानमन्त्रीले अहिले सचिवालयका सदस्यहरुसँग छलफल गरिरहनुभएको छ।
‘प्रधानमन्त्रीसँग भेट हुन सक्छ। ज्याक माको टीमले समय माग्नु भएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘यसबारे हामी सल्लाह गर्दैछौँ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपालमा आएका ज्याक माले यहाँको कानुनअनुसार लगानी गर्छु भनेमा सरकारले स्वागत गर्ने बताउनुभयो।


















