Prakash Adhikari July 5, 2023

काठमाडौं, २० आषाढ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो । परिवार कल्याण महाशाखा ,बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोपले महिलालाई पाठेघरको मुखको क्यान्सर हुनेबाट बचाउने बताउनुभयो । उहाँले १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट जोगाउन लागि खोप दिइने जानकारी दिनुभयो ।

उहाँले खोप कुन कुन जिल्लाका दिने भनेर निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने र सोही अनुसार किशोरीलाई खोप लगाइने बताउनुभयो । उहाँका अनुसार खोप छ महिनाको फरकमा दुई मात्रा दिइने गरिन्छ । सरकारले चीनबाट पहिलो पटक सो खोप खरिद गरेर ल्याएको हो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सररोग विशेषज्ञ डा अरुण शाहीले दुर्गम क्षेत्रका महिलालाई खोपले क्यान्सर हुनबाट बचाउने बताउनुभयो । उहाँले नेपालमा सबैभन्दा बढी महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको उल्लेख गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार दिनमा ६ महिलाको मृत्यु हुने गरेको बताउनुभयो ।

“अस्पतालमा आउनेमा दैनिक ६ जनाको यसै क्यान्सरको कारणले मृत्यु हुने गरेको छ” उहाँले भन्नुभयो,“अझ गाउँघरमा यस क्यान्सरको रोगका कारणले कतिको मृत्यु हुन्छन् भन्ने तथ्याङ्क छैन ।”क्यान्सर रोग विशेषज्ञ डा शाहीका अनुसार वर्षमा करिब दुई हजार ५०० महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने गरेको छ ।

उहाँले असुरक्षित यौन सम्पर्क, सानै उमेरमा विवाह गर्ने, धेरै चुरोट खाने महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने जोखिम हुने गरेको बताउनुभयो ।

Share Now

Leave a comment.