Prakash Adhikari July 5, 2023

काठमाडौं,२१ आषाढ (बीबीसी) । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले सोधेको स्पष्टीकरणको जबाफ नदिएका नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्ध चाल्ने सम्भावित कदमबारे चासो चुलिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्पष्टीकरण सोधिएको पत्र सामाजिक सञ्जालमै सार्वजनिक गरिदिनुभएको थियो। त्यसप्रति असन्तुष्टि जनाउँदै महानिर्देशक अधिकारीले जबाफ नदिने अडान सार्वजनिक गर्नुभयो।

मन्त्री किरातीका अनुसार सात दिनको म्याद दिएर सोधिएको स्पष्टीकरणको जबाफ अधिकारीले दिनुभएको छैन।

सार्वजनिक रूपमा निकै चर्चाको विषय बनेको उक्त प्रकरणमा अब मन्त्री किरातीले चाल्ने कदमप्रति धेरैको ध्यान केन्द्रित भएको पाइन्छ।

उड्डयन सुरक्षामा लापरबाही गरेको, प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा छुट्टाउने सरकारको नीतिलाई चुनौती दिएको, पोखरा विमानस्थलमा परीक्षण उडान गराएर प्रतिवेदन प्राप्त नगरी एअरबस ३२० विमानलाई उडान गर्न दिएको, त्यहाँको धावनमार्गको उचाइ कम हुँदा पूर्वतर्फको छिनेडाँडाको उचाइ १० मिटर बढी काट्नुपरेको भन्ने लगायतका विषयमा मन्त्रीको निर्णयानुसार अधिकारीसँग असार ११ गते जबाफ मागिएको थियो।

मन्त्री किराती र महानिर्देशक अधिकारीबीचको त्यो वार्तालाप

त्यसको जबाफ नदिनुभएका महानिर्देशक अधिकारी बुधवार मन्त्री किरातीलाई भेट्न जानुभएको थियो।

बीबीसीसँग कुराकानीको सुरुमा उहाँले आफूले स्पष्टीकरण नदिएको कतै नभनेको बताउँदै कसले भनेको भनी प्रतिप्रश्न गर्नुभयो।

मन्त्रीले भनेको जनाएपछि उहाँले भन्नुभयो, “तयारी गरिराुछु, मन्त्रालयले सोधेको विषयमा जबाफ नदिने भन्ने हुँदैन।”

भेटको प्रसङ्गमा मन्त्री आफ्नो बोर्डको अध्यक्ष भएको र अनेक विषयमा कुराकानी हुने गरेको बताउँदै अधिकारीले स्पष्टीकरणको प्रसङ्ग ूमिडिया खपतको विषय बनेकोू टिप्पणी गर्नुभयो ।

“स्पष्टीकरण (सोधेको विषय) बाहिर आयो, नत्र यस्तो अवस्था त आइरहेकै हुन्छ नि,” महानिर्देशक अधिकारीले भने, “यो आन्तरिक विषय हो, आन्तरिक रूपमै हल हुन्छ।”

स्पष्टीकरण सार्वजनिक गरिदिएपछि चित्त दुखेको बताउँदै महानिर्देशक अधिकारीले मन्त्री किरातीलाई बुधवारको भेटमा ूमिलेर जाऔूँ भनेको बुझिएको छ।

मन्त्रीले मिल्ने भनेको कानुनअनुसार हो तर समय गुजार्नुभयो, कसको लहलहै लाग्नुभयो। आफ्नो खुट्टामा हिँड्नुभयो कि भएन? भनी जबाफी टिप्पणी गरेको बताइएको छ।

आकाशमा जहाज उठाइरहेकै बेला पाइलटलाई कारबाही गरेको, क्यान स्वायत्त रहेको र जबाफ दिन्नँ भन्ने जस्ता कुरा मन्त्रीले उठाएको समेत बुझिएको छ।

‘बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लगिने’

मन्त्री किरातीले जबाफ नपाएपछि आफू प्रधानमन्त्रीसँग परामर्शमा रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार प्रधानमन्त्री प्रचण्डले एक(दुई दिन अध्ययन गरेर सल्लाह गरौँ भन्नुभएको छ।

मन्त्रिपरिषद्को मङ्गलवार भएको बैठकमा छलफल गर्ने बताएका प्रचण्डले व्यस्तताका कारण समय लिएको बुझाइ मन्त्री किरातीको छ।

आफूले हटाउन नभई सुधारको निम्ति आफू मातहतका विभिन्न निकायसँग जबाफ मागेको उदाहरण दिँदै क्यानका महानिर्देशकलाई पनि त्यसकै निम्ति स्पष्टीकरण सोधेको उहाँको भनाइ छ।

“जसले म कानुनभन्दा माथि, मन्त्रालय र मन्त्रीभन्दा माथि भनेर कानुनलाई बेवास्ता गर्छ भने त कानुनलाई नै जबाफ दिनुपर्छ नि,” मन्त्री किरातीले भन्नुभयो।

अर्थात् उहाँलाई हटाउने प्रस्ताव मन्त्रिपरिषद्‌मा लग्ने हो भन्ने प्रश्नको उत्तर दिँदै मन्त्री किराँतीले भन्नुभयो, “हो, लानुपर्छ नि।”

आफूलाई हटाउने मन्त्रीको सम्भावित तयारीलाई महानिर्देशक अधिकारीले कानुनसम्मत मान्नुभएको छ ? हाँस्दै महानिर्देशक अधिकारीले जबाफ दिनुभयो, “त्यो मन्त्रीज्यूको कुरा हो, मैले के भनूँ। मैले त मन्त्रीज्यूले त्यस्तो भनेको सुनेको छैन त कसरी टिप्पणी गरूँ।”

कतै मन्त्री पो हट्ने हो कि ?

यही बेला मन्त्रिपरिषद् पुनर्गठनको चर्चा पनि छ। प्रधानमन्त्री आफ्नो पार्टीका मन्त्री हटाएर जनमत पार्टीलाई सरकारलाई ल्याउन चाहेको समाचार सार्वजनिक भएको छ।

सत्ता गठबन्धनकै एउटा दल नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले मन्त्री भएका बेला अधिकारीलाई महानिर्देशक बनाइएको थियो। त्यस बेला ूवरिष्ठलाई पन्छाएर कनिष्ठलाई जिम्मेवारी दिइएकोू भन्ने टिप्पणीहरू भएका थिए।

पूर्वमन्त्री आलेले मन्त्री किरातीको प्रतिनिधिसभाकै बैठकमा आलोचना गर्नुभएको थियो।

यस्तो पृष्ठभूमिमा प्रश्न उठ्छ ( मन्त्रीले सोधेको स्पष्टीकरणको जबाफ नदिने आँट महानिर्देशकले कसरी गर्नुभएको होला ?

मन्त्री किरातीले जबाफ दिनुभयो, “मलाई थाहा छैन, शक्तिशाली त पशुपतिनाथ नै हो, हाम्रो देशमा। तर यसले लोकतन्त्रमा समेत राज्य कसरी सञ्चालन हुन्छ भन्ने प्रश्न उठाएको छ।”

उहाँको यस्तो अडानबीच प्रधानमन्त्री प्रचण्डले मन्त्री परिवर्तनको अवसरमा किरातीलाई नै पदमुक्त गर्ने अनुमानहरू पनि भइरहेको पाइन्छ।

यद्यपि त्यस्ता हल्ला नियोजित रूपमा चल्दै आएको बताउँदै मन्त्री किराती त्यस्तो नहुने विश्वास व्यक्त गर्नुभयो। उहाँले हाँस्दै भन्नुभयो, “मान्छेकै जिन्दगी अनन्त छैन, स्थायी छैन अनि अरू कुरा किन सोच्नुहुन्छ के ?

Share Now

Leave a comment.