,गनी अन्सारी । बीबीसी न्यूज नेपाली
काठमाडौं,२४ आषाढ । नेपालमा गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगको महामारीका कारण सवा एक खर्ब रुपैयाँभन्दा बढीको क्षति हुने एउटा सरकारी निकायले अनुमान गरेको छ।
सतहत्तरमध्ये ७६ वटा जिल्लामा फैलिसकेको उक्त रोगको नियन्त्रण तथा रोकथामका लागि “आक्रामक कदम” चाल्न नेपाल पशु चिकित्सा परिषद्ले सम्बन्धित निकायहरूलाई सुझाव समेत दिएको छ। गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा भने अहिलेसम्म यो रोग फेला परेको पुष्टि भइसकेको छैन।
“समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेको अवस्थामा करिब २५ लाख २६ हजार पशुमा सङ्क्रमण फैलिने र एक लाख गाईभैँसी मर्ने अनि झन्डै १ खर्ब २६ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति हुने देखिन्छ,” परिषद्ले गरेको अध्ययनको निष्कर्ष छ।
यो रकम नेपालको आर्थिक वर्ष २०८०। ८१ को कुल बजेटको करिब ७.२ प्रतिशत हुन आउने परिषद्ले उल्लेख गरेको छ।
“नेपालको अहिलेको वास्तविकता र परिवेशअनुसार अध्ययन गर्दै जाँदा त्योभन्दा माथि नै क्षति भएको छ भन्ने हाम्रो अनुमान हो,” परिषद्का प्रवक्ता मनोजकुमार शाहीले बीबीसी न्यूज नेपालीसँग भन्नुभयो।
“अभिलेख राख्न थालिएयता नेपालमा गाईवस्तुमा यो तहको महामारी र त्यसले पारेको यो दोस्रो ठूलो असर हुनुपर्छ।”
शाहीका अनुसार नेपालको अवस्थासँग मिल्दोजुल्दो अवस्थाका देशमा लम्पी स्किनले पारेका असरबारे यसअघि भएका अध्ययन एवं विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूका प्रकाशित लेखहरूको समीक्षा गरी पछिल्लो निष्कर्ष निकालिएको हो।
यसअघि नेपालमा सन् १९४० को दशकमा गाईवस्तुमा फैलिएको ुरिन्डरपेस्टु अर्थात् गगौटी रोगको महामारीले ठूलो क्षति निम्त्याएको उहाँले बताउनुभयो । खुर हुने चौपायामा लाग्ने उक्त भाइरल रोग अहिले उन्मूलन भइसकेको छ।
परिषद्का सुझाव के छन् ?
कतिपय विज्ञका अनुसार सुरुमै प्रभावकारी कदम चालिएको भए त्यसले अहिलेको रूप नलिन पनि सक्थ्यो।
“सुरुतिरै सङ्क्रमित गाईभैँसीको हिँडडुल रोक्न सकेको भए अहिले महामारी नहुन पनि सक्थ्यो,” राष्ट्रिय पशुविज्ञान अनुसन्धान परिषद्का निर्देशक डा. स्वयंप्रकाश श्रेष्ठले हालै बीबीसीसँग भनेका थिए।
त्यसमा परिषद्का निमित्त रजिस्ट्रार शाही पनि सहमत देखिन्छन्।
“प्रदेश अथवा सङ्घको मन्त्रालयको तर्फबाट जसरी आक्रामक रूपमा जानुपर्थ्यो, त्यो रूपमा गइरहेको देखिँदैन,” उहाँले भन्नुभयो ।
सो पृष्ठभूमिमा अध्ययनपछि परिषद्ले सम्बन्धित निकायहरूलाई केही सुझाव समेत दिएको छ।
तत्काल चाल्नुपर्ने कदमबारे परिषद्का यस्ता सुझाव छन् :
- तत्कालका लागि लम्पी स्किन रोग नियन्त्रण आदेश जारी गरी प्रभावकारी रूपमा उपचार, रोकथाम तथा नियन्त्रण गर्न आवश्यक व्यवस्था मिलाउने
- प्रतिकार्यका क्रियाकलापलाई थप समन्वय तथा संयोजन गर्न सङ्घीय स्तरमा लम्पी स्किन कन्ट्रोल रूम स्थापना गर्ने
- सङ्क्रमण देखिएका सबै स्थानीय तहमा कम्तीमा एक पशुचिकित्सक र पशुस्वास्थ्य प्राविधिकको टोलीसहित र्यापिड रेस्पोन्स टीम अविलम्ब परिचालन गर्ने
- सङ्क्रमणदर उच्च देखिएका जिल्लाहरूमा पर्याप्त औषधि राख्ने
- रोग थप फैलिन नदिन भौगोलिक रूपमा महत्त्वपूर्ण मानिएका स्थान तथा हालसम्म पशु क्वारन्टीन चेकपोस्ट नभएका प्रदेशमा स्थापना गर्ने
क्षतिपूर्तिबारे विभाग के भन्छ ?
पशुचिकित्सा परिषद्का अनुसार लम्पी स्किन महामारीबाट अहिलेसम्म २७ अर्ब २२ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भइसकेको अनुमान छ।
ठूलो क्षति बेहोरे पनि सरकारको तर्फबाट कुनै प्रकारको सहयोग नपाएको किसानहरूले गुनासो गर्दै आएका छन्।
तर सरकारले महामारी घोषणा गरेर क्षतिपूर्ति दिने घोषणा गरिनसकेको अवस्था रहेकोले पशुबीमा गराएका किसानहरूले त्यहीँबाट रकम पाउने विभागका प्रवक्ता ढकाल बताउँनुहुन्छ।
ूपशुबीमा गराएका किसानहरूको हकमा बीमा कम्पनीहरूले रकम दिनुपर्ने हुन्छ,ू उहाँले थप्नुभयो।
लम्पी स्किन कहाँकहाँ फैलिएको छ ?
लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो।
केही समयसम्म त्यो अफ्रिकाको सब(सहारा क्षेत्रमा सीमित रह्यो भने बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलियो।
राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बाङ्ग्लादेश, चीन र भारतमा लम्पी स्किन देखा परेको थियो।
पशुसेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा विसं २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो।
आर्थिक वर्ष २०७७ । ७८ मा आठ जिल्लाका ११ वटा पालिकामा देखिएको लम्पी स्किन रोग २०७८ । ७९ मा नौ जिल्लाका १९ पालिकामा विस्तार भएको पाइयो।
त्यसपछि २०७९ । ८० मा खासै नदेखिए पनि अहिले सातवटा प्रदेशका ७६ वटा जिल्लामा लम्पी स्किन रोगको महामारी फैलिएको विभागले जनाएको छ।
सुरुतिर तराई र मध्यपहाडका जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएकोमा अहिले उच्च पहाडी तथा हिमाली क्षेत्रमा समेत फैलिसकेको छ।
“यस रोगबाट कर्णाली, सुदूरपश्चित, लुम्बिनी र कोशी प्रदेशका मध्यपहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित भएङ्का छन्,” विभागले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विभागको पछिल्लो तथ्याङ्क अनुसार लम्पी स्किन रोगबाट अहिलेसम्म ७ लाख ९ हजार २ सय ३ वटा गाईभैँसी सङ्क्रमित भएका छन्।
सङ्क्रमित गाईभैँसीमध्ये २५ हजार ७ सय ८२ वटा मरेको र ४ लाख ५३ हजार ८ य १९ वटा निको भएका तथ्याङ्क छ।
“हाल २ लाख २९ हजार ६ सय २ वटा पशु सक्रिय सङ्क्रमित छन् र सङ्क्रमणको दर क्रमशः घट्दै गएको छ,” विभागले भनेको छ।
लम्पी स्किन कस्तो रोग हो ?
गाईभैँसीलाई हुने यो एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ।
सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ।
गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ।
सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्छ।
“खासगरी ज्वरो नियन्त्रण गर्न सकिएन भने त्यस्तो अवस्थामा सङ्क्रमित गाईबस्तु मर्ने गर्छन्,” डा. ढकालले भन्नुभयो।
यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन्।
त्यस्तै सङ्क्रमित गाईभैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ।
मान्छेमा सर्छ कि सर्दैन ?
विज्ञहरूका अनुसार लम्पी स्किन ‘जूनोटिक डिजीज’ अर्थात् पशुबाट मान्छेमा सर्ने रोग होइन।
एफएओले सन् २०१७ मा आफ्नो एउटा प्रतिवेदनमा लम्पी स्किन रोगले मानिसलाई असर गर्दैन भन्ने पुष्टि गरेको थियो।
“यो रोग मान्छेमा सर्छ भन्ने कुरा कुनै पनि वैज्ञानिक अध्ययनले प्रमाणित गरेको छैन,” डा. ढकालले भन्नुभयो।
यसको उपचार के हो ?
यो रोगको प्रभावकारी उपचार छैन। त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन्।
“यो रोग लाग्न नदिन खोप लगाउँदै आइएको छ। तर रोग लाग्न नदिनका लागि भ्याक्सिनेशन हो। सङ्क्रमण भएको बेला खोप लगाउन हुँदैन,” ढकालले भन्नुभयो।
भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा यो रोग निको हुन्छ।
“एक पटक यो रोग लागेपछि एन्टिबडी बनेका कारण दोहोर्याएर गाईभैँसीलाई फेरि लाग्दैन,” उहाँले भन्नुभयो।
हालसम्म १० लाख ३७ हजार मात्रा खोप आयात गरिएकोमा १ लाख ८० हजार ९
सय २२ वटा गाईभैँसीलाई खोप लगाइएको विभागले जनाएको छ।
सङ्क्रमित गाईभैँसीको दूध खान हुन्छ ?
हालसालै भारतका केही राज्यमा लम्पी स्किन रोग फैलिएका बेला सङ्क्रमित गाईभैँसीको दूध नखान भन्दै सामाजिक सञ्जालमा अभियान नै चलाइएको थियो।
तर भारतकै पशुचिकित्सकहरूले त्यसमा कुनै सत्यता नभएको भन्दै खण्डन गरे।
पशुसेवा विभागस्थित वरिष्ठ पशुविकास अधिकृत डा। चन्द्र ढकालका अनुसार पनि त्यस्ता गाईभैँसीको दूध सेवन गर्नै नहुने भन्ने हुँदैन।
“शरीरभरि घाउ नै घाउ भएको गाईभैँसीको दूध दुहेर खान मन नलाग्नु स्वाभाविक नै हो,” उहाँले भन्नुभयो।
“तर सङ्क्रमित गाईभैँसीको दूध खानु हुँदैन भन्ने कुरा कुनै पनि अनुसन्धान अथवा वैज्ञानिक अध्ययनले भनेको छैन। मज्जाले उमालेर खान सकिन्छ।”



















