Prakash Adhikari July 12, 2023

काठमाडौं, २७ आषाढ । मनाङ एअरको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाएका पाइलट र पाँच मेक्सिकन नागरिकको शव काठमाण्डू ल्याइपुर्‍याइएको अधिकारीहरूले बताएका छन्।

पोस्टमार्टम गरी शवहरू हस्तान्तरणको प्रक्रिया अघि बढाइने अधिकारीहरूको भनाइ छ। मङ्गलवार बिहान भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेमा मेक्सिकोबाट सगरमाथा क्षेत्रको भ्रमणमा आएका एकै परिवारका पाँच सदस्य रहेका छन्।

सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

उक्त दुर्घटनालाई दुःखद भन्दै मृतकप्रति मन्त्रिपरिषद् बैठकले श्रद्धाञ्जलि व्यक्त गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो।

कसरी भयो दुर्घटना ?

सोलुखुम्बुबाट काठमाण्डूका लागि मङ्गलवार बिहान उडेको मनाङ एअरको हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार छ जनाकै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बताउनुभएको थियो।

जिल्लाको लाम्जुरा क्षेत्रस्थित दुर्घटनास्थलमा सुरक्षाकर्मीहरू पुग्दा पाँच जनाको शव भेटिएको थियो भने अर्का एक जनाको शरीरका क्षतविक्षत टुक्रा फेला परेको थियो।

दुर्घटनास्थलबाट शव सङ्कलन गरेर काठमाण्डू पठाउने प्रयासमा मौसमका कारण केही ढिलाइ भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि जनाएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुईवटा हेलिकप्टरले मृतकका शवहरू त्रिवि शिक्षण अस्पतालमा साँझमा ल्याइ पुर्‍याएको बीबीसीलाई जानकारी दिनुभयो।

उक्त हेलिकप्टरमा क्याप्टेन सीबी गुरुङसहित छ जना सवार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार दुर्घटनामा परेको हेलिकप्टर रूखमा ठोकिएको देखिएको छ।

मनाङ एअरको अभिलेखअनुसार हेलिकप्टरमा तीन महिला र दुई पुरुष यात्री चढेको विवरण सार्वजनिक भएको छ।

यसअघि सोलुखुम्बुको लिखु पिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले वडा नं ५ मा ूहेलिकप्टर क्षतविक्षत अवस्थामा देखिएको जानकारी एक होटल व्यवसायीले आफूलाई दिएकोू बीबीसीलाई बताउनुभएको थियो।

बिहान सोलुखुम्बु जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णप्रसाद निरौलाका अनुसार जिल्लाको विकट लाम्जुरा क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको भन्ने विवरण आएपछि सुरक्षाकर्मीहरू परिचालन गरिएको बताउनुभएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त हेलिकप्टर बिहान १०ः०५ बजे काठमाण्डूका लागि उडेको थियो।

तर १०ः१३ बजेपछि हेलिकप्टर सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ।

सम्पर्कविच्छेद हुँदा हेलिकप्टर १२,३०० फिटको उचाइमा रहेको अधिकारीहरूले बताएका छन्।

मौसमका कारण बाधा

खोजी तथा उद्धारका लागि नेपाली सेना, प्रहरी र काठमाडौंबाट एल्टिट्यूड एअरको हेलिकप्टर परिचालन गरिएको थियो।

तर काठमाण्डूबाट गएका दुईवटा हेलिकप्टरले दुर्घटनास्थलमा अवतरण गर्न नसकेपछि २० मिनेटको पैदल दूरीमा अवतरण गरेको जानकारी सिटौलाले दिनुभएको थियो।

सिम्रिक एअरको हेलिकप्टर पनि उद्धारकार्यमा खटिएको प्राधिकरणले जनाएको थियो।

मृतकहरूको शव सवारीसाधनमा राखेरै हेलिकप्टर अवतरण भएको स्थानमा ल्याउने प्रयास भइरहेको जानकारी प्राधिकरणले मङ्गलवार अपराह्ण दिएको थियो। पहाडको टुप्पोमा दुर्घटना भएकाले सुरक्षाकर्मीले बोकेर शवहरूलाई हेलिकोप्टर भएका स्थानसम्म पुर्‍याएका थिए।

यसअघि प्रमुख जिल्ला अधिकारी भट्टराईले दुर्घटना भएको आशङ्का गरिएको क्षेत्रमा ूबाटोमा हिँड्ने मान्छेहरूले आगो बलेको देखेको जानकारी दिएकोू बताउनुभएको थियो।

बिहान दुर्घटनास्थलमा बाक्लो कुहिरो लागेकाले काठमाडोबाट त्यस क्षेत्रमा पुगेका हेलिकप्टरहरूलाई खोजी कार्यमा बाधा पुगेको थियो।

के भन्छन् स्थानीयवासी ? 

मङ्गलवार बिहान हेलिकप्टर दुर्घटनामा पर्दा कान्छा शेर्पा लाम्जुरास्थित आफ्नो निवासमा हुनुुहुन्थ्यो।

ूहेलिकप्टरको आवाज सुनिएको थियो। बादलले गर्दा देखिएन। पछि हाम्रो घरभन्दा झन्डै एक किलोमिटर पर रूखमा ठोक्किएर दुर्घटनामा परेको रहेछ,ू शेर्पाले बीबीसी न्यूज नेपालीलाई फोनबाट बताउनुभयो।

जङ्गलमा चउरजस्तो ठाउँमा हेलिकप्टर दुर्घटनामा परेको उहाँले बताउनुभयो। ूत्यहाँ घारी र रूखहरू छन्,ू उहाँले भन्नुभयो।

ूमौसम खराब भएर होला (हेलिकप्टर) होचिएर आएको रहेछ,ू उहाँले भन्नुभयो, ूहेलिकप्टरको पुच्छर गोब्रे सल्लाको रूखमा ठोक्किएको रहेछ।ू

 

सन् २०१८ बाट सञ्चालनमा थियो हेलिकप्टर ?

मनाङ एअरका सुरक्षा प्रबन्धक राजु न्यौपानेका अनुसार कलसाइन नाइन एन–एएमभी रहेको हेलिकप्टर पाँच यात्रुसहित माउन्टेन फ्लाइटका लागि सोमवार काठमाडौंबाट लुक्ला पुगेको थियो।

ूमौसमका कारण सोमवार नै हेलिकप्टर फर्कन पाएन र मङ्गलवार फर्कने क्रममा थियो,ू न्यौपानेले भन्नुभयो।

कलसाइन नाइन एन–एएमभी रहेको नयाँ हेलिकप्टर सन् २०१८मा नेपालमा भित्र्याइएको थियो।

एच १२५ हेलिकप्टर एअरबस कम्पनीले उत्पादन गरेको कम्पनीले जनाएको छ।‍

 

नेपालमा सन् २००६ यता भएका केही घातक हेलिकप्टर दुर्घटना
एप्रिल २०१९ : सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु
फेब्रुअरी २०१९ : एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तात्कालिक संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु
सेप्टेम्बर २०१८ : गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीर रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो। एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु
मे २०१५  भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त हुँदा छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
जुन २०१५   सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
सेप्टेम्बर २००६ :  ताप्लेजुङको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा तात्कालिक वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा। हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्केसहित २४ जनाको मृत्यु
मे २०२३ : सङ्खुवासभाको सिप्रुङमा सिम्रिक एअरको एउटा हेलिकप्टर दुर्घटनामा पर्दा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु

Share Now

Leave a comment.