काठमाडौं, १ साउन । पहिलो साउने सोमबार देशभरका शिवमन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
काठमाडौंको पशुपतिनाथ, भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव, म्याग्दीको गलेश्वर, तनहुँ र चितवनको देवघाट, दाड.को घोराही उपमहानगरपालिका–५ धारापानीस्थित पाण्डवेश्वर महादेव,शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधामम, मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित नागदेवी मन्दिर, पोखरा(१७ सीताघाट, पोखरा बैदामस्थित केदारेश्वर महादेव मन्दिर, जनकपुरधाम उपमहानगरपालिका(१६ मा रहेको कपिलेश्वरनाथ महादेव मन्दिर र देशभरका शिव मन्दिरमा साउनको पहिलो सोमबार पूजा गर्ने भक्तजनको घइँचो लागेको छ ।
बिहानैदेखि भक्तजनको भीड
सौरमासअनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन सुरु गरेका पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार पशुपतिनाथ मन्दिरमा विशेषगरी साउनको सोमबारको व्रत बसेका महिला भक्तजनको उपस्थिति बाक्लो छ । हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनले पशुपति क्षेत्र ढाकेका देखिन्छन् । विभिन्न धार्मिक समूहले साउने सोमबारका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क भोजन, तथा पानी वितरण गरिरहेका छन् ।
पशुपति क्षेत्रमा सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत उचित व्यवस्था गरिएको कोषले जनाएको छ । “जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् । सोही ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाएका छौँ”, पराजुलीले भन्नुभयो । उहाँका अनुसार प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद, सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिएका छन् । महाशिवरात्रि र तीज पर्वमा जस्तै दर्शन तथा सुरक्षाको व्यवस्थापन गरिएको कोषले जनाएको छ ।
“साउनको सोमबार रू सात हजार पाँच सयभन्दा कमको विशेष पूजा गराइएको छैन भने वासुकीनाथको मन्दिरमा रू तीन हजार एक सयभन्दा कमको विशेष पूजा गराइएको छैन”, पराजुलीले भन्नुभयो । दुवै मन्दिरमा एक सय ८१ देखि दुई सय ५१ जनासम्मले विशेष पूजा गर्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
साउने सोमबारका अवसरमा स्काउट र स्थानीय क्लबले पनि स्वयंसेवक खटाउने तयारी गरेका छन् । साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ । साउन महिना र सोमबार भगवान शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गरेको जनाइएको छ ।
आज पशुपतिनाथ मन्दिरमा पूर्वउपसभामुख चित्रलेखा यादव, नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष लक्ष्मी कुँवर, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उहाँकी पत्नी गायत्री नेपाललगायतले पशुपतिनाथ मन्दिरमा दर्शन गरिसक्नुभएको कोषले जनाएको छ । यसैगरी भारतका लोक सेवा मन्त्री देवेन्द्रसिंह भोलेशले पनि आज पशुपतिनाथ मन्दिरमा पूजा, आराधना गर्नुभएको छ ।
सौरमासअनुसार आजको सोमबार शुद्ध मानिने भएकाले सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथलाई अर्पण गर्ने भक्तजनको लर्को लागेको छ । भगवान् शिवले शुद्ध जल रुचाउने भएकाले वाग्मती शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको भीड लागेको हो ।
साउन २ गतेदेखि अधिकमास लाग्ने भएकाले अर्को सोमबार व्रत गर्नु हुने वा नहुनेमा धर्मशास्त्रीबीच मतान्तर देखिएको छ । कति भक्तजनले भने चान्द्रमासअनुसारको पहिलो सोमबार अर्थात् गत सोमबारदेखि नै व्रत सुरु गरेका छन् । सौरमासअनुसार यो वर्षको साउनमा पाँच वटा सोमबार परेको छ ।
यसैगरी राजधानीका गोकर्णेश्वर, वाणेश्वर, नागेश्वर, डोलेश्वरलगायत देशभरमा शिवालयमा भक्तजनको भीड लागेको छ ।
डोलेश्वरमा श्रावणी मेला
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आजदेखि ३८ दिने श्रावणी मेला सुरु भएको छ । आज साउन १ गतेदेखि भदौ ६ गतेसम्म चल्ने मेलामा आज स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट सुरु गरिएको कलश यात्रा उक्त मन्दिरमा आएर समापन गरेपछि मेला शुभारम्भ गरिएको थियो ।
कलश यात्रासँगै आज डोलेश्वर महादेव मन्दिरको मूलद्वार सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गर्दै नगरपालिका क्षेत्रको मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा डोलेश्वरको चर्चाले यहाँको पहिचान बढाएको बताउनुभयो । उक्त द्वार निर्माणका लागि नगरपालिकाले रु ६८ व्यहोरेको थियो ।
उहाँले नगरपालिकामा रहेको शिवालयलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नगरपालिकाले शिव सर्किट निर्माण गरेकोे जानकारी दिनुुभयो । नगर क्षेत्र आफैँमा एक आकर्षक पर्यटकीय क्षेत्र भएको चर्चा गर्दै नगरप्रमुख थापाले यहाँको शिवालयलाई समेटेर एकै दिनमा दसवटै वडाका शिवमन्दिर घुम्न सकिने गरी मार्ग तय गरी यसलाई शिव सर्किट नामाकरण गरिएको बताउनुभयो ।
नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले यस क्षेत्रमा डोलेश्वरलगायत आशापुरी, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, नन्दिकेश्वर, लटरम्बेश्वरजस्ता प्रसिद्ध शिवालय रहेकाले नगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको विकासका रूपमा अगाडि बढाएको बताउनुभयो ।
वडा नं ८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले श्रावणी मेलामा शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिनाका साथै दर्शनार्थीको आवतजावतका लागि यातायातको सहज व्यवस्था गरिएको बताउनुभयो ।
डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेला भर्न आएका दर्शनार्थीले आधा घण्टामै दर्शन गर्नेगरी व्यबस्था मिलाउन स्वयंसेवक परिचालन गरिएको जानकारी दिनुभयो ।
मेला अवधिभर करिब दुई लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अनुमान गरिएको जानकारी दिँदै उहाँले विगत वर्षमा धर्मावलम्बीबाट सङ्कलन भएको भेटी तथा चन्दाबाट मेला खर्च कटाएर करिब रु ५० लाख बचत गर्दै आइएकामा अहिले भारतीय पर्यटकको समेत आगमन बढेकाले यस वर्ष भेटी तथा चन्दा गरेर रु एक करोड २५ लाख सङ्कलन हुने अपेक्षा गरिएको बताउनुभयो ।
मन्दिरमा पञ्चस्नान गर्ने दर्शनार्थीको हकमा भने पञ्चस्नान सामग्रीका लागि रु एक हजार एक सयको रसिद काटेर मन्दिरको पूर्वी ढोकाबाट दर्शन गर्नसक्ने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले बताउनुभयो ।
आज दिनभरको मेलासँगै भोलि २ गतेदेखी ८ गतेसम्म पण्डित जनार्दन पौडेलबाट शिव पुराण कथा वाचन, ९ गतेदेखि १५ गतेसम्म पण्डित उद्धवनारायण बास्कोटा शास्त्रीबाट पुरुषोत्तम महात्म्य वाचन, १६ गतेदेखि २२ गतेसम्म पण्डित राघव अर्यालबाट श्रीमद् भागवत महापुराण वाचन, २३ गतेदेखि २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, २८ गतेदेखि भदौ ५ गतेसम्म विभिन्न गुरुबाट धार्मिक प्रवचनका साथै कलाकारबाट भजन कीर्तन गरिने भएको छ । विसं २०६६ भदौ ६ गते यस मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको दिनका अवसरमा त्यस दिन विशेष कार्यक्रमका साथ मेला समापन गरिनेछ ।
त्यसैगरी सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि आज बिहानैदेखि दशनार्थीको भीड लागेको छ । मनोकाङ्क्षा पूरा गर्ने मन्दिरका रुपमा लिइने यस मन्दिरमा दर्शन एवं पूजा गर्न दर्शनार्थीका भीड लागेको छ । त्यसैगरी दत्तात्रय मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका गुप्तेश्वर, सोमलिङ्गेश्वर, अनन्तलिङ्गेश्वर, नन्दीकेश्वर, लटरम्मेश्वर, सुवर्णेश्वर, कैलाशेश्वर, चरखण्डीश्वरलगायत मन्दिरमा पनि मेला लगको छ ।


















