Prakash Adhikari July 18, 2023

क्रिस्टी कूनी र ज्यारोसलभ लुकिभ(बीबीसी न्यूज)
सिउल(कोरिया), २ श्रावण । दक्षिण कोरियामा उद्धारकर्मीहरूले बाढीका कारण अवरुद्ध एक सुरुङमा हराइरहेका मानिसहरूको खोजी सोमवार समेत जारी राखेका छन्।

उनीहरूले बाँध भत्किएर पानी प्रवेश गरेको ४८ घण्टासम्म पनि हिलाम्मे अवस्थामा रहेको अन्डरपासमा खोजी जारी राखेका हुन्।

केही दिनअघि वर्षाका कारण पानीले भरिएको सुरुङमा अहिले पानीको सतह घटेर घुँडासम्म आइपुगेको छ।

अत्यधिक वर्षाले गर्दा आएको बाढीका कारण नदीको बाँध भत्किएपछि निस्किएको पानी तीव्र गतिमा दक्षिण कोरियाको मुख्य अन्डरपासमा प्रवेश गरेपछि उक्त सुरुङ भरिएको थियो।

सुरुङमा पानी प्रवेश गरेपछि त्यहाँ निजी सवारी साधन र बसमा यात्रा गरिरहेका यात्रुहरू फसेका थिए।

हराइरहेका एक जना व्यक्ति पानीमा डुब्दै गरेको कारबाट बाहिर निस्कन प्रयास गरिरहेको सीसीटीभी दृश्यका आधारमा उद्धारकर्मीहरूले उनको खोजी केन्द्रित गरेका छन्।

हालसम्म उद्धारकर्मीहरूले १३ जना मानिसको शव अन्डरपासबाट बाहिर निकालेका छन्।

बाढी प्रभावित सुरुङमा धेरै शवहरू बसभित्रबाट फेला परिएका हुन्। त्यहाँबाट शनिवार थप नौ जनाको जीवितै उद्धार गरिएको थियो।

मध्य दक्षिण कोरियाको चियोङ्जु सहरको यो सुरुङ ६८५ मिटर लामो छ।

दक्षिण कोरियामा वर्षा
गत सातादेखि परिरहेको मुसलधारे वर्षाका कारण कम्तीमा ३९ जनाले ज्यान गुमाइसकेका छन्।

अत्यधिक वर्षाका कारण बाढी, पहिरोको मारमा परेको दक्षिण कोरियामा विद्युत् कटौती भएको छ।

अधिकारीहरूका अनुसार सोमवार बिहानसम्म बाढीमा परी कम्तीमा नौ जना बेपत्ता छन्।

स्थानीय प्रशासनले समयमै प्रभावकारी कदम चालिदिएको भए क्षति रोक्न सकिन्थ्यो भन्ने बाढी पीडितका परिवारहरूको भनाइ छ।

केही स्थानीय सञ्चारमाध्यमका अनुसार बाढी नियन्त्रण कार्यालयले केही घण्टा अगाडि पानीको सतह बढेको र स्थिति जोखिमपूर्ण भएको भन्दै चेतावनी जारी गरेको थियो। त्यसैले सुरुङ क्षेत्र आसपासका यातायातको दिशा मोड्नुपर्थ्यो।

त्यहाँबाहेक अधिकांश मृत्यु उत्तरी ग्योङसाङको पहाडी क्षेत्रमा भएको जनाइएको छ, जहाँ पहिरोले घरहरू बगाएको छ।

हजारौँ मानिस प्रभावित

दक्षिण कोरियामा शनिवार करिब तीन सय मिलिमिटर वर्षा भएको जनाइएको छ।

कोरियाको मौसम सम्बन्धी निकायका अनुसार त्यहाँ सामान्यतया एक वर्षमा एक हजार मिलिमिटरदेखि १ हजार ८ सय मिलिमिटरसम्म वर्षा हुन्छ।

आकाशबाट कैद गरिएका बाढी प्रभावित क्षेत्रका तस्बिरहरूमा हिलो र बाढीको पानी उच्च तहमा पुगेको देख्न सकिन्छ जसमा घरको छानोका टुप्पोहरू मात्र बाहिर निस्किएका देखिन्छन्।

विभिन्न स्थानीय सरकारहरूले जारी गरेको स्थानान्तरणको निर्देशनका कारण हजारौँ मानिस प्रभावित भएका छन्। प्रधानमन्त्री हान डक(सूले सेनालाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन्।

स्थानीय समयअनुसार शनिवार बिहानै उत्तरी चुङच्योङमा रहेको गोसान बाँधमा पानी पस्न थालेपछि करिब ६ हजार ४ सय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।

बाँध वरपरका केही गाउँ तथा ती गाउँहरूलाई जोड्ने सडकहरू डुबानमा परेका छन्। ती गाउँका मानिस घरभित्रै फसेका छन्।

शुक्रवार राति उत्तरी चुङच्योङमा पहिरो जाँदा एउटा रेल दुर्घटना भएको थियो। रेलमा यात्रु थिएनन्, यद्यपि घटनामा एक इन्जिनियर घाइते भएका थिए।

देशको राष्ट्रिय रेल सञ्चालन गर्ने कोरेलले त्यहाँका सबै सुस्त गतिका र केही द्रुत गतिका रेल सेवा स्थगित गर्ने घोषणा गरेको छ। द कोरिया मेटेरोलजिकल एड्मिनिस्ट्रेसनले आगामी साताको बुधवारसम्म वर्षा जारी रहने अनुमान गरेको छ।

उक्त निकायले मौसमी अवस्थाले ूगम्भीरू खतरा निम्त्याएको चेतावनी दिएको छ। अत्यधिक वर्षाका कारण भारत, चीन र जापानलगायत विभिन्न देश पछिल्लो एक सातायता बाढी र पहिरोबाट आक्रान्त छन्।

बाढी आउनुका अन्य धेरै कारणहरू भए पनि वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण वायुमण्डल तात्नुले अत्यधिक वर्षाको सम्भावना बढाउँछ।

वायुमण्डल जति तात्यो त्यति नै आर्द्रता बढ्छ र फलस्वरूप अधिक भारी वर्षा हुन्छ। कहिलेकाहीँ छोटो समयको अन्तरालमा र सीमित क्षेत्रमा यसको प्रभाव रहन्छ।

Share Now

Leave a comment.