काठमाडौँ, ३ श्रावण। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताउनुभएको छ ।
बुधबार बिहान काठमाडौँमा आयोजित नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्रीले उक्त असार विकासको प्रवृत्ति त्याग्नुपर्ने बताउनुभएको हो ।
‘बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्छ । विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजना समयमै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्ने मैले विश्वास लिएको छु,’ उहाँले भन्नुभयो ।
विकासका लागि सरकारसँग स्रोत कम भएकाले निजी क्षेत्रको लगानी आवश्यक देखिएको उहाँले बताउनुभयो। ‘पूर्वाधारको क्षेत्रमा पनि वैदेशिक लगानी आउन सकोस् । आन्तरिक लगानी पनि बढोस् र ठूला पूर्वाधारमा विदेशी लगानी पनि आओस् । विकासको गति तीव्र भएपछि नै हाम्रो आर्थिक अवस्थामा सुधार आउनेछ, देशको मुहार फेरिनेछ, सबै नागरिकको मुहारमा हाँसो आउनेछ, यसका लागि नेपाल सरकार र प्रधानमन्त्रीका रुपमा म स्वयं लागिरहेको छु,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।
राजनीतिक परिवर्तनका हिसाबले देश सही मार्गमा रहेको तर नागरिकका अपेक्षा सम्बोधन गर्ने चुनौती अझैँ हामीसामु रहेको पनि उहाँले बताउनुभयो।
सूचना र सञ्चार प्रविधिले साघुरिँदै गएको विश्वमा चाहेजस्तो सुविधा नपाउँदा बौद्धिक पलायनको खतरा हुने र देशले अहिले त्यसैको सामना गरिरहेको उहाँले बताउनुभयो। यस्तो अवस्थालाई रोकेर देशमै रोजगारी र अवसरको सिर्जना गर्नेतर्फ गम्भीरतापूर्वक पहलकदमी लिनुपर्ने बेला आएको उहाँले उल्लेख गर्नुृभयो ।
वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको पनि उहाँले बताउनुभयो। ुसुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ,ु प्रधानमन्त्री दाहालले भन्नुभयो।


















