टेसा वङ । बीबीसी न्यूज
बेइजिड.(चीन), ४ साउन । वाशिङ्टनले बेइजिङसँग सम्बन्ध सुधार्न खोजिरहँदा चिनियाँ राष्ट्रपति सी जिन्पिङ र भूतपूर्व अमेरिकी शीर्ष कूटनीतिज्ञ हेन्री किसिन्जरबीच बेइजिङमा भेट भएको छ।
शीर्ष अमेरिकी अधिकारीहरूले एकपछि अर्को गर्दै अमेरिका भ्रमण गरिरहेका बेला किसिन्जर अचानक चीनको राजधानी पुग्नुभएको हो।
एक सय वर्षीय भूतपूर्व अमेरिकी विदेशमन्त्री किसिन्जरले सन् १९७० को दशकमा कूटनीतिक रूपमा एक्लिएको चीनलाई खुला हुन सघाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
अमेरिकाले उहाँ एक नागरिकको रूपमा व्यक्तिगत भ्रमणमा रहेकोमा जोड दिएको छ।
तर विज्ञहरूले चीनमा रहेको उहाँको विशेष छविका कारण किसिन्जरले अमेरिका(चीन संवादमा अनौपचारिक माध्यमका रूपमा काम गरिरहेको हुनसक्ने ठानेका छन्।
स्वागत
चिनियाँ राष्ट्रपति सीले किसिन्जरलाई ड्यायुइटाई स्टेट गेस्ट हाउसमा स्वागत गर्नुभयो। उक्त स्थानलाई विदेशी कूटनीतिज्ञहरूसँग औपचारिक भेटघाट हुने ग्रेट हल अफ पीपलको तुलनामा एक विशेष आत्मीय स्थलका रूपमा हेरिन्छ।
एउटा सङ्क्षिप्त विज्ञप्तिमा दुई नेताहरूको बैठकका बारेमा धेरै कुरा खुलाइएको छैन। तर त्यसमा किसिन्जरलाई विशिष्ट कूटनीतिज्ञ भन्दै अमेरिकालाई चीनसँग जोड्ने उहाँको विगतको उपलब्धिको बारेमा चर्चा गरिएको छ।
सोमवार बेइजिङ अवतरण गर्नुभएका किसिन्जरले चिनियाँ शीर्ष कूटनीतिज्ञ वाङ यी र रक्षामन्त्री ली साङ्फूलाई भेट्नुभो। साङ्फू अमेरिकाले लगाएको प्रतिबन्धित व्यक्तिहरूको सूचीमा हुनुहुन्छ।
किसिन्जरका बैठकबारे चिनियाँ विज्ञप्तिहरू मैत्रीपूर्ण भावमा आएका देखिन्छन्।
वाङ यी र ली साङ्फू दुवैले दुई विश्वशक्तिबीच आपसी सम्मान, सहकार्य र ूशान्तिपूर्ण सहअस्तित्वूमा जोड दिनुभएको छ।
चीनका मित्र
ती विज्ञप्तिहरूमा किसिन्जरलाई चीनका मित्रको सङ्ज्ञा दिइएको छ र न अमेरिका न चीनले एकअर्कालाई शत्रुका रूपमा थेग्न सक्नेू जनाइएको छ।
किसिन्जरको भ्रमणका लागि अमेरिकी सरकार कुन तहसम्म संलग्न छ भन्ने थाहा हुन सकेको छैन।
विदेश मन्त्रालयका एक प्रवक्ताले यस साताको सुरुमा आफूहरू किसिन्जरको भ्रमणबारे जानकार भएको बताउनुभएको थियो। चिनियाँ अधिकारीहरूले समेत अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले जुन महिनामा बेइजिङ भ्रमण गर्दा यसबारे उहाँलाई जानकारी दिनुभएको थियो।
ब्लिङ्कनबाहेक राष्ट्रपति सीले केही समययता भेटेका सार्वजनिक अमेरिकी किसिन्जर मात्र हुनुहुन्छ। त्यसलाई यी पूर्वकूटनीतिज्ञलाई चीनमा दिइएको विशेष सम्मानको सङ्केत मानिएको छ।

किसिन्जर र वाङ यी
अमेरिकी अर्थमन्त्री जनेट यलन र जलवायु मामिलाका अमेरिकी विशेष दूत जोन केरीले समेत हालै बेइजिङ भ्रमण गर्नुभएको थियो। तर उहाँहरुले चिनियाँ राष्ट्रपतिसँग भेट्ने समय पाउनुभएन।
भियत्नाम युद्धलाई एशियाका अन्य भागमा किसिन्जरबारे विवादास्पद धारणा छ। तथापि चीनमा कूटनीतिक एक्लोपनबाट बाहिर निकालेको भनेर उहाँलाई बेइजिङमा निकै सम्मानित रूपमा हेरिन्छ।
सन् १९७१ मा अमेरिका र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध थिएन। जतिखेर किसिन्जरले गोप्य रूपमा बेइजिङ भ्रमण गर्दै तात्कालिक अमेरिकी राष्ट्रपति निक्सनको भ्रमण हुने वातावरण बनाउनुभएको थियो।
त्यसको अर्को वर्ष निक्सन चीन पुगेर त्यहाँ माओ त्सेतुङसहितका शीर्ष नेताहरूलाई भेट गर्नुभयो। त्यसले अमेरिका(चीनबीचको कूटनीतिक सम्बन्ध सामान्य बनाउन सघायो र चीन विश्वसामु खुला भयो।
त्यसयता किसिन्जरलाई चीनमा १०० पटकभन्दा धेरै स्वागत गरिसकिएको बिहीवारको एक विज्ञप्तिमा जनाइएको छ।
को हुन् हेन्री किसिन्जर ?
सन् १९६० र १९७० को दशकमा अमेरिकी विदेशनीतिमा प्रभावशाली भूमिका खेल्नुभएका किसिन्जरले सन् १९७३ मा भियत्नाममा अमेरिकी सङ्लग्नताको अन्त्यका लागि गरेका वार्ताका लागि नोबेल पुरस्कार पाउनुभएको थियो।
उहाँ सन् १९२३ मा जर्मनीमा एक यहुदी परिवारमा जन्मिनुभएको थियो। नाजीहरूबाट बच्न किसिन्जरको परिवार सन् १९३८ मा आप्रवासीका रूपमा अमेरिका पुगेको थियो। उहाँ सन् १९४३ मा अमेरिकी नागरिक बन्नुभएको थियो।
युद्धकालीन समयको कार्यकालपछि उहाँ हार्भर्ड विश्वविद्यालयमा प्राध्यापनका लागि जानुभयो। तर उहाँले बेलाबखत अमेरिकी सरकारको सल्लाहकारका रूपमा काम गर्नुभयो।
सन् १९६९ मा अमेरिकी राष्ट्र रिचर्ड निक्सनले किसिन्जरलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्नुभयो। त्यसको चार वर्षपछि उहाा विदेशमन्त्री हुनुभयो।
अमेरिकाबाहिर जन्मेर उक्त पद सम्हाल्ने उहाँ प्रथम व्यक्ति हुनुहुन्छ।
अमेरिकी विदेशनीतिका केही विवादित घटनाक्रममा संलग्न हुनुभएका किसिन्जलाई दिइएको नोबेल पुरस्कारले धेरैलाई अचम्ममा पार्यो।
क्याम्बोडियामा भएका गोप्य बम आक्रमण र दक्षिण अमेरिकामा क्रूर सैन्य शासकहरूलाई सहयोग गर्ने जस्ता घटनाक्रममा उनको संलग्नता रहेको बताइन्छ।
किसिन्जरलाई उत्तर भियत्नामी नेता ले डक थोसँगै भियतनाम युद्धमा युद्धविराम गराउन भूमिका खेलेको भनेर पुरस्कृत गरिएको थियो।
यससँगै नोबेल पुरस्कार समितिका दुई सदस्यहरूले राजीनामा दिए भने न्यूयोर्क टाइम्स पत्रिकाले त्यसलाई ुनोबेल युद्ध पुरस्कारु भनेर प्रतिक्रिया जनाएको थियो।


















