Prakash Adhikari July 21, 2023

 

काठमाडौं, ५ श्रावण। पोखरा भएर बग्ने सेती नदीबाट १३ मेगावाटको जलविद्युत उत्पादन गरिने भएको छ। श्रेष्ठ इनर्जी सोलुसन प्रालिले सो क्षमताको अप्पर सेती १ जलविद्युत आयोजना निर्माण गर्न लागेको हो।

प्रस्तावित आयोजना पोखरा महानगरपालिका(१९,२५ र माछापुच्छ्रे गाउँपालिका(२,३ र ४ भएर बग्ने सेती नदीमा निर्माण हुनेछ।

यो आयोजनाको सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय प्रभाव (आर्इर्इ) प्रतिवेदन तयार भइसकेको छ। कम्पनीले आयोजना निर्माणको अनुमति (जेनेरेस लाइसेन्स) माग गर्दै विद्युत विकास विभाग समक्ष आवेदन दिएको छ। विभागले लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

आयोजनाले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित रायरसुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ।

यो आयोजना नदी प्रवाहमा आधारित प्रकृतिको हो। जसको डिजाइन बहाव १५ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ११७.१५ मिटर रहनेछ। आयोजनाबाट वार्षिक सरदर ८२.६२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ। आयोजनाको बाँधस्थल भलायबोट नजिकै निर्माण हुनेछ। विद्युत गृह घट्टेखोला नजिकै निर्माण हुनेछ। आयोजनामा ४०५५ मिटर हेडरेस सुरुङमार्ग निर्माण गरिनेछ।

विद्युत उत्पादनपछि ९२ मिटर लम्बाइको टेलरेस क्यानलमार्फत पानीलाई पुनः सेती नदीमा छाडिनेछ।
आयोजना २०८२ सालभित्र सम्पन्न गरेर व्यवसायिक विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीको रहेको छ।

Share Now

Leave a comment.